Logo

‘हप्तामा दुई घण्टा राष्ट्रका लागि’ नाराका साथ सफाइ



Spread the love

३२ जेठ काठमाडौं । ‘हप्तामा दुई घण्टा राष्ट्रका लागि’ भन्ने नाराका साथ उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि क्रमशः सहायक नदी र चक्रपथ सफाइ अभियान शुरु भएको हो । वाग्मती सफाइ महाअभियानको प्रेरणाबाट उपत्यका बाहिरका प्रमुख शहर तथा नदीमा पनि अभियान शुरु भएको छ ।

तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शुरु भएको अभियानले जागरण ल्याउन सहयोगी भूमिका खेलेपनि व्यक्तिले तस्वीर फेसबुकमा सार्वजनिक गर्नका लागि मात्र सहभागी हुनेको सङ्ख्या उल्लेख्य हुने गरेको आरोप लाग्दै आएको छ । सरकारले नीतिगत र कानूनी व्यवस्था गरेका विषय कार्यान्वयनमा मात्र ल्याए पनि नदी सफाइमा ठूलो योगदान पुग्ने अभियानकर्मी केशवप्रसाद पुडासैनीले बताउनुभयो ।

तेइस संस्थाको सहभागितामा वाग्मती सफाइ महाअभियानको ३१८औँ हप्तामा कोटेश्वर महादेवस्थान पुल क्षेत्रमा ५०० भन्दा बढी अभियानकर्मीको सक्रियतामा सफाइ गरिएको छ । सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

उक्त सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, आयोजना प्रमुख आशिष घिमिरे, चलचित्र विकास बोर्डका अध्यक्ष रवीन्द्र खड्कालगायत पनि सहभागी हुनुभएको थियो । आलोकनगर सफाइअभियान पनि वाग्मती सफाइ महाअभियानमै सहभागी भएको जनाइएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २८० हप्ताको कार्यक्रम गुह्येश्वरी क्षेत्रमै गरियो । आफ्नो घरको फोहर व्यवस्थापन नगर्नेलाई यस क्षेत्रको सफाइमा नआउन अनुरोध गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । रुद्रमती सफाइको २७२ हप्तामा रातोपुल–कालोपुल हुँदै शहीदमार्गसम्म सफाइ गरेर ट्रक व्यवस्थापन गरिएको थियो ।

विष्णुमती सफाइको २४५औँ हप्तामा तारकेश्र नगरपालिका–११ नेपालटार क्षेत्रमा सफाइ गरेर पाँच टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा सिर्जनशील तथा ऊर्जाशील योग केन्द्र, नेपाली सेना, नेपाल प्रहरी, सगरमाथा आरोही छ्योकी शेर्पा, पातञ्जल योग समिति नेपाल, नवीन नगर योग परिवार, नेचर स्कुल टेकु, तारकेश्वर सरसफाइ प्रालिका साथै स्थानीयवासी गरी करीब २५० जनाको उपस्थिति थियो ।

वाग्मती तिलगङ्गा क्षेत्रको २१९ हप्ताको सफाइ त्यस क्षेत्रमा गरियो । तिलगङ्गा महिला समूहको सक्रियतामा भएको सफाइमा नदी सफाइसहित घरदैलो जनचेतनामूलक कार्यक्रम गरिएको संयोजक आशा पाण्डेले बताउनुभयो । वाग्मतीको सुन्दरीघाट खण्ड सफाइको १२८औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी डेढ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

चक्रपथ सफाइको ११५औँ हप्तामा सामाखुशी टाउन प्लानिङभित्र सफा गरेर करीब छ टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी रेणुका गुरुङले जानकारी दिनुभयो । निरन्तरको सफाइपछि यो क्षेत्र पहिलेभन्दा राम्रो देखिएको छ । आलोकनगर सफाइ अभियानको ११५ हप्तामा त्यस क्षेत्रमा सफाइ गर्दै कोटेश्वर महादेव स्थानमा वाग्मती सफाइ महाअभियानमा सहभागी हुन पुगेका संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो ।

चक्रपथ वाफल खण्ड सफाइको ९६औँ हप्तामा बाफलबाट कारखाना चोकसम्म सफाइ गरी दुई ट्रक फोहर व्यवस्थापन गरिएको छ । त्रिनेत्र अध्यात्म चिन्तनले पशुपति क्षेत्रको कैलाशडाँडा र सूर्यघाटमा सफाइ गरेको संस्थापक अध्यक्ष दिवाकर भण्डारीले जानकारी दिनुभयो । यसैगरी मनोहरा नदी सफाइलाई पनि आज निरन्तरता दिइएको जनाइएको छ ।

–––रासस

प्रतिक्रिया दिनुहोस्