Logo

बुटवलमा सङ्गीत सप्ताह शुरु,शास्त्रीय गुरु शरदमणि त्रिपाठीको पनि प्रस्तुति रहने



Spread the love

१ असार, बुटवल – प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले कला, सङ्गीत र साहित्यको विकासका लागि एकेडेमी स्थापन गर्ने तयारी भइरहेको बताएका छन् । विश्व सङ्गीत दिवसको अवसर पारेर बागेश्वरी सङ्गीतालयले बुटवलमा शुरु गरेको सङ्गीत सप्ताहको शनिबार उद्घाटन गर्दै मन्त्री बरालले सङ्गीतले व्यक्तिमा सकारात्मक ऊर्जा सञ्चार गर्ने भएकाले यसको विकासका लागि प्रदेश सरकारले कला तथा साहित्य एकेडेमी स्थापना गर्ने योजना बनाएको बताए ।

कला र सङ्गीतप्रेमीका लागि विशेष बजेटको व्यवस्था गरी अगाडि बढ्ने योजना बनाएको उनको भनाइ छ । “भावना साटासाट गर्ने माध्यम सङ्गीत हो, सङ्गीतको विकासमा लाग्ने युवाका लागि सङ्गीतालयले महत्वपूर्ण भूमिका खेलेको छ”, उनले भने ।

बागेश्वरी सङ्गीतालयका प्रमुख सुरेश सेञ्चुरीले सङ्गीतले व्यक्तिमा सकारात्मक चिन्तनको विकास गर्ने भएकाले सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए । सन् १९९२ मा फ्रान्सबाट शुरुआत भएको सङ्गीत दिवस अहिले विश्वका ११० देशले मनाउने गरेको उदाहरण दिँदै उनले दिवसका लागि सरकारले उचित बजेट व्यवस्थापन गर्नुपर्ने बताए ।

भारतका शास्त्रीय गुरु शरदमणि त्रिपाठीले सङ्गीतको विषयमा सबैलाई जागरुक बनाउन सङ्गीत सप्ताहले महत्वपूर्ण भूमिका खेल्ने बताए । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालका सहनिर्देशक कमला दिदीले सङ्गीतका माध्यमबाट सबैमा सकारात्मक भावना साटासाट गर्न सकिने बताए ।

सङ्गीत सप्ताहअन्तर्गत आइतबार भारतीय शास्त्रीय गुरु शरदमणि त्रिपाठीको प्रस्तुति रहनेछ । सोमबार समाज र मानव जीवनमा सङ्गीतको प्रभाव विषयमा अन्तक्रिया कार्यक्रम, मङ्गलबारदेखि विविध सांस्कृतिक कार्यक्रमसहित विश्व सङ्गीत दिवसका दिन समापन कार्यक्रम रहेको सङ्गीतालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्