Logo

सिद्धबाबाको पोल्टामा गुल्मीमा सम्पन्न दोस्रो छात्रा फुटबलको उपाधि



Spread the love

१ असार , गुल्मी – गुल्मीको पुल्चोक स्पोर्टस क्लबको आयोजनामा सम्पन्न दोस्रो छात्रा फुटबल प्रतियोगिताको उपाधि सिद्धबाबा माध्यमिक विद्यालयको पोल्टामा परेको छ । सिद्धबाबाले फाइनल खेलमा आदर्श विद्या आश्रमलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि चुमेको हो  ।
निर्धारित ९० मिनेटको खेल ३-३ गोल बराबरीमा सकिएपछि थप १० मिनेट समय थपिएको थियो  । तर, अतिरिक्त समयमा दुबै टोलीबाट गोल हुन नसक्दा खेल पेनाल्टी सुट आउट तर्फ धकलिएको हो । जसमा सिद्धबाबा ४-५ को अन्तरले विजय भयो ।

यो जीत सँगै सिद्धबाबा स्कुलले रिर्डस कप २०७५ को फाइनल खेलमा भोगेको हारको बदला समेत लिएको छ ।

उपाधिसँगै सिद्धबाबा विद्यालयले २० हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेताले बनेको आदर्श विद्या आश्रमले १० हजार नगदका साथ मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।

जिल्ला भरका माध्यमिक तहका विद्यालयले सहभागिता जनाउन पाउने भएता पनि प्रतियोगितामा रेसुङ्गा नगरपालिका भित्रका १० वटा विद्यालयको मात्र सहभागिता रहेको थियो । गुल्मी जिल्लाबाट दक्ष तथा राम्रा छात्रा फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले पुलचोक स्पोर्टस क्लबले गत वर्षदेखी गुल्मीमा छात्रा फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

मनिषा सेनको उत्कृष्ट प्रदर्शनः

गुल्मीमामा हुने हरेक छात्रा फुटबल खेलमा सदैव उत्कृष्ट खेल प्रदर्शन गर्न सक्षम मनिषा सेनले दोस्रो छात्रा फुटबल प्रतियोगितामा पनि पुरानो लय कायम राख्दै उत्कृष्ट खेल प्रदर्शन गरिन् । ३ खेलमा ९ गोल गर्दै सर्वाधिक गोल कर्ता र प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेकी उनले ट्रफि ,मेडल , प्रमाण पत्र र नगद समेत प्राप्त गरेकी छन् ।

मनिषा सेनको विद्यालय आदर्श विद्याआश्रम उपविजेता बनेता पनि खेल अवधिभर सेनकै प्रदर्शन मनमोहक रहेको थियो । सानै उमेरमा गुल्मीको महिला फुटबल जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मनिषालाई गुल्मीकै उत्कृष्ट छात्रा फुटबलरको रूपमा हेरिन्छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्