Logo

भूकम्पबाट विस्थापित परिवारले पाए निजी आवास



Spread the love

 ५ असार , चौतारा।  भूकम्पबाट विस्थापित सिन्धुपाल्चोक सेलाङका १९ परिवार बुधबारदेखि बासँखर्कस्थित नवनिर्मित निजी आवासमा बस्न थालेका छन् ।

अक्सफाम जिवी नेपालको आर्थिक सहयोग तथा जनहित ग्रामीण सेवा समितिको साझेदारीमा निर्माण गरिएको एकीकृत बस्तीमा विगत चार वर्षदेखि विस्थापित जीवन बिताउँदै आएका उनीहरु निजी आवासमा बस्न थालेको एकीकृत आवास निर्माण समितिका अध्यक्ष सवले लामाले जानकारी दिए ।

जुगल गाउँपालिका–१ अन्तर्गत सेलाङको सेप गाउँमा पुस्तौँदेखि बसोबास गर्दै आएका ती परिवार भूकम्पले जमीन चिरा पर्नाका साथै पहिरोको उच्च जोखिममा परेपछि सेलाङकै बाँसखर्कमा विस्थापित जीवन बिताउँदै आएका थिए । विस्थापितलाई जग्गा खरीद गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपलब्ध गराएको प्रतिपरिवार रु दुई लाखका दरले रु ३८ लाखमा जग्गा खरीद गरेर उनीहरुलाई संयुक्त जगाधनी पुर्जा प्रदान गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

जग्गा उपलब्ध भएपछि सो ठाउँमा एकीकृत बस्ती निर्माण गरिएको जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले बताए । उनका अनुसार त्यहाँ अन्यत्रबाट आएर विस्थापित जीवन बिताइरहेका अन्य ३५ परिवारलाई अझै पनि व्यवस्थित रुपमा बसोबास गराउन बाँकी नै छ । त्यहाँ निर्मित एकीकृत बस्तीमा पुग्न सडक सुविधा पुगिसकेको र खानेपानी तथा बत्तीको काम हुदै गरेकाले आगामी साताभित्र पूरा गरिने निर्माण समितिका अध्यक्ष लामाले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्