Logo

विश्वकप क्रिकेट : बंगलादेशलाई हराउँदै अस्ट्रेलिया शीर्ष स्थानमा



Spread the love
६ असार, काठमाडौं । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा साविक विजेता अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
बिहीबार बंगलादेशलाई ४८ रनले पराजित गरेपछि इंग्ल्यान्ड र न्युजिल्यान्डलाई पछि पार्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो ।
३ सय ८२ रनको  विशाल लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा ३ सय ३३ रन बनाउन सक्यो ।बंगलादेशको यो योगफल हालसम्मकै उसले एकदिवसीय खेलमा बनाएको सर्वाधिक ठूलो योगफल हो। यस पारीमा बंगलादेशका लागि मुस्फिकर रहमानले नटआउट १०२ रन बनाए भने महदुल्लाहले ६९, तामिम एकवालले ६२ तथा शाकिब अल हसनले ४१ रन जोडेका थिए।
यसक्रममा अस्ट्रेलियाका लागि मिचेल स्टार्क, नाथन कलटर तथा मार्कोस स्टोइनीसले समान २-२ विकेट लिदा एडम जाम्पाले १ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गर्दै ५० ओभरमा ५ विकेटको क्षतिमा ३८१ रन बनाएको थियो । अष्ट्रेलियाको ठूलो स्कोर बनाउनमा डेभिड वार्नरले उत्कृष्ट प्रदर्शन गरे । उनले १६६ रन बनाए । १४७ बल सामना गरेका उनले १४ चौका र पाँच छक्का प्रहार गरेका थिए । जारी वर्ल्डकपमा यो उनको दोस्रो शतक हो ।

त्यस्तै उस्मान खवाजाले ८९ रन बनाउँदा कप्तान एरोन फिन्चले ५३ र ग्लेन म्याक्श्वेलले ३२ रन बनाए । कप्तान फिन्च र वार्नरले पहिलो विकेटका लागि १२१ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए । त्यसपछि दोस्रो विकेटका वार्नर र खवाजाले १९२ रनको साझेदारी गरे ।
अष्ट्रेलियाविरुद्ध सौम्या सरकारले तीन विकेट लिए ।
योसँगै अष्ट्रेलिया ६ खेलमा ५ मा जित र १ मा हारकासाथ शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलमा ४ मा जित निकालेको न्युजिल्यान्ड ९ अंकका साथ दोस्रो स्थानमा छ । ५ खेलमा ४ मा जित र १ मा हार ब्योहोरेको घरेलु टोली इंग्ल्यान्ड तेस्रो स्थानमा छ । ४ खेलमा ३ मा जित निकालेको भारत चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्