Logo

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा रक्षामन्त्री नियुक्त



Spread the love

७ असार, वासिङ्टन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क एस्परलाई शुक्रबार अमेरिकाको रक्षामन्त्रीमा नियुक्त गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले शुक्रबार सो जानकारी दिएको हो । सो जानकारीअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको विवादका समयमा शुक्रबार उहाँलाई रक्षामन्त्री नियुक्त गर्नुभएको हो ।

पछिल्लो समयमा अमेरिका र इरानबीच निकै ठूलो विवाद जारी रहेको बताइन्छ । अमेरिकाले इरानलाई आफ्ना ट्यांकरमा आक्रमण गरेको र आफ्नो ड्रोनमाथि हमला गरी खसालिदिएको बताएको छ ।

रक्षामन्त्रीमा नियुक्त एस्पर अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको कार्यबाहक प्रमुखका रुपमा नियुक्त हुनुभएको थियो ।

त्यसको केही समयपछि राष्ट्रपति ट्रम्पले उहाँलाई नै रक्षामन्त्रीमा नियुक्त गरेको ह्वाइट हाउसले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।

गत वर्षको डिसेम्बरदेखि अमेरिकामा रक्षामन्त्री थिएनन् । उक्त मन्त्रालयमा काम चलाउ मन्त्रीका रुपमा नियुक्त गरिँदै आइएको थियो ।

गत वर्षको डिसेम्बर महिनामा तत्कालीन रक्षामन्त्री जेम्स म्याटिस्ले राजिनामा दिएपछि त्यहाँ रक्षामन्त्री थिएनन् ।

गत डिसेम्बर महिनामा राष्ट्रपति ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता बोलाउने निर्णय अकस्मात गर्नुभएको बताइएको थियो ।

सो निर्णयबाट असहमत भएर तत्कालीन रक्षामन्त्री म्याटिस्ले अकस्मात पदबाट राजिनामा दिनुभएको समाचार आएको थियो ।

एस्पर गएको छ महिनायता पेन्टागनलाई नेतृत्व गर्ने तेस्रो व्यक्ति हुनुभएको छ । एस्परले प्याट्रिक सानहानलाई विस्थापित गर्नुभएको हो ।

सानहान कार्यबाहक रक्षामन्त्रीमा नियुक्त भएपछि उहाँका विषयमा पनि विभिन्न प्रश्नहरु आएका थिए । उहाँमाथि विशेषगरी घरेलु हिंसामा संलग्न भएकोजस्तो प्रश्न गरिएको थियो ।

त्यस विवादपछि उहाँपनि सो पदबाट हट्नुभएको हो । उहाँ पनि सैनिक नेतृत्वबाट आउनुभएको हो ।

रक्षामन्त्रीलाई अमेरिकी मन्त्रिपरिषदको सबैभन्दा महत्वपूर्ण मन्त्रीका रुपमा लिइन्छ । एक शक्तिशाली मन्त्रीका रुपमा रहेको सो मन्त्रीको नियुक्ति पछिल्लो यस्तो समयमा भएको छ, जुन समयमा पछिल्ला केही वर्षहरुभन्दा चर्काे रुपमा मध्यपुर्वसँग पनि अमेरिकाको विवाद चुलिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्लो समयमा इरानसँग निकै ठूलो विवाद भएको स्वीकार गर्नुभएको छ । उहाँका अभिव्यक्तिहरु सुन्दा अमेरिका इरानको आक्रमणको अवस्था देखिन्छ ।

इरानले हालैमात्र अमेरिकाको एक ड्रोनमाथि हमला गरेर इरानी भूमिमा झारिदिएको थियो । त्यसपछि अमेरिका र इरानको विवाद झन् बढेको थियो ।

इरानले सो ड्रोन आफ्नो देशको सीमानाको उल्लंघन गरी विना अनुमति आफ्नो भूमिमा प्रवेश गरेकोले हमला गरेर खसालिदिएको बताएको छ ।

तर इरानको यो भनाईको अमेरिकाले भने खण्डन गरेको छ । अमेरिकी भनाइअनुसार उसले इरानको सीमाना नाघेको थिएन ।

यो हमलापछि अमेरिकी ट्यांकरहरुमा इरानमा त्यहाँका अज्ञात समूहहरुले हमला गर्ने गरेका छन् । त्यस काममा इरानको हात रही आएको अमेरिकी दाबी छ ।

तर त्यो अमेरिकी आरोप पनि इरानले अस्वीकार गरेको छ । अमेरिकी ट्यांकरहरुमाथिको आक्रमणमा आफ्नो कुनै हात नरहेको इरानको दाबी छ ।

हाल नियुक्त भएका रक्षामन्त्री एस्परको सैनिक क्षेत्रमा लामो समयको अनुभव रहेको छ । ५५ वर्षीय एस्परको सन् १९९१ मा भएको ‘गल्फ वार’ मा समेत संलग्न भएको अनुभव छ ।

उहाँलाई सन् २०१७ मा वर्तमान राष्ट्रपति ट्रम्पले नै सैनिक सचिवमा नियुक्त गर्नुभएको थियो । उहाँले ‘राइदन डिफेन्स फर्म’ को कार्यकारीका रुपमाा रहेर काम गरिरहनुभएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्