Logo

मेक्सिको सीमामा बाबुछोरीको मृत्यु भएको घटनाबाट राष्ट्रसंघ दुःखी



Spread the love

१२ असार, जेनेभा । संयुक्तराष्ट्र संघीय शरणार्थीसम्बन्धी उच्चायोग (युएनएचसिआर) ले संयुक्तराज्य अमेरिका–मेक्सिको सीमाको एक नदीमा बाबुछोरीको डुबेर मृत्यु भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ ।

अमेरिका प्रवेश गर्न चाहने एलसाल्भाडोरका आप्रवासी बाबुछोरीको रियो ग्रान्डे नदीको किनारामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको थियो ।

युएनएचसिआरले बाबु र उनकी २३ महिनाकी छोरीको नदी किनारामा तैरिएको अवस्थामा शव भेटिएको र यो निकै हृदयविदारक रहेको जनाएको छ ।

मेक्सिको र संयुक्तराज्य अमेरिकालाई छुट्याउने रियो ग्रान्डे सीमानदी हो । राष्ट्रसंघले एलसाल्भाडोरका ओस्कार अल्बर्टो मार्टिनेज रामिरेज र उनकी छोरी भ्यालेरीको दुःखद निधन “अस्वीकार्य” रहेको जनाएको छ ।

संयुक्तराज्य अमेरिकाले राष्ट्रपति ट्रम्पको आदेशमा मेक्सिको सीमामा कडाई गरेपछि अमेरिका प्रवेश गर्न चाहने आप्रवासीले कठोर मार्ग प्रयोग गर्न थालेका छन् जसका कारण आप्रवासीहरुको मृत्यु नियमितझैं हुन गरेको छ ।

युएनएचसिआरका उच्चायुक्त फिलिप्पो ग्रान्डीले ओस्कार र भ्यालेरीको मृत्युले कतिपय मुलुकमा बढ्दो हिंसालाई रोक्नेतर्फ विश्वको ध्यान जान जरुरी रहेको बताए । मानिसहरु सुरक्षित जीवनका लागि कठोर यात्रामा निस्कन बाध्य भइरहेको देखिन्छ, ग्रान्डीले बताउनुभयो । युएनएचसिआरले सबै मुलुकलाई यस्ता दुःखद घटना हुन नदिन तत्कालै समन्वयात्मक कदम चाल्न आह्वान पनि गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्