Logo

मन्त्रीकै आगनमा यो विजोग, २१ वर्ष देखि ६ जना कर्मचारी एउटा कोठामा उपचार



Spread the love

१९ असार, गुल्मी – “भनिन्छ धेरै बिराला भए भने मुसा मार्दैनन्” परम्परागत रुपमा भनिँदै आएका नेपाली उखान टुक्का नेपालका विभिन्न परिवेशमा मिल्दो जुल्दो देखिएका छन् । जसको पछिल्लो उदाहरण हो गुल्मीको चन्द्रकोट गाउँपालिकाको एक स्वास्थ्य चौकी ।

चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ स्थित हराचौर स्वास्थ्य चौकीको विजोगको कथा सुन्ने हो भने जो कसैलाई पत्यार नलाग्न सक्छ । राष्ट्रिय ग्रामीण विकास केन्द्र नाडिकले गरेको सामाजिक परिक्षणको क्रममा स्वास्थ्य चौकीको यस्तो अवस्था फेला परेको हो । वि.स २०५६ सालदेखि उक्त स्वास्थ्य चौकीले १ कोठामा मात्र पहिलाको गाविस र अहिले वडा भरीका १७ सय  ३ जनालाई सेवा प्रदान गर्दै आएको छ । २०७२ सालको भुकम्पले केही क्षति पुर्याएको र भवन चुहिने भए पछि २ वर्ष अघि मात्र अर्को घरमा स्थानान्तरण गरियो तर अवस्था भने उस्तै नै रह्यो ।

सरकारले शिक्षा र स्वास्थ्यमा जति सुकै लगानी गरेर आदर्शको नारा दिए पनि चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ३ को हकमा हेर्ने  हो भने सरकारले लिएको नीति तथा नारा नारामै सिमित रहेको प्रष्ट हुन्छ  । अहिले पनि उक्त स्वास्थ्य चौकि एउटा कोठाको भरमा चलिरहेको छ । स्वास्थ्य चौकिमा ६ जना कर्मचारी छन् तर स्वास्थ्य चौकीले प्रदान गर्ने सेवा दिन पनि कर्मचारीलाई निकै गाह्रो परेको छ । “स्वास्थ्य चौकीमा गर्भवती महिलाहरु चेकजाँच को लागि आउछन् अनि मैले मेरो कुर्सी छोडेर बाहिर जानु पर्छ सोही बेला अरु कुनै बिरामी आए कि त बाहिर उपचार गराउनु पर्छ कि त कुराउनु पर्छ ।”  स्वास्थ्य चौकीका प्रमुख धिरोज मगरले भने ।

दैनिक १०-१२ जना सेवाग्राही आउने गर्दछन्, तर कुनै बिरामीको गोपनियता राख्न तथा ईमर्जेन्सी सेवा दिन गाह्रो परेको स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीले गुनासो पोखे ।

धेरै बिराला भए मुसा मार्दैन भन्ने उखान यस अर्थमा भनिएको हो । उक्त गाउँ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा वर्तमान् परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका चन्द्र भण्डारी, वर्तमान् सांसद मैना भण्डारी , गिता थापा, कमल श्रेष्ठको निर्वाचन क्षेत्र समेत हो । उक्त वडाकै र स्वास्थ चौकीकै नजिक प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बलालको घर रहेको ठाउँ हो ।

यतिका वर्षसम्म पनि समस्या किन भन्ने प्रश्न गाउँपालिकाका अध्यक्ष द्रोण खत्रीलाई राख्दा उनले विगतका कुनै कुरालाई नकोट्याई अहिलेको बजेटमा उक्त स्वास्थ्य चौकीको लागि बजेट छुटाईएको र अर्को वर्ष तीन कोठे भवन निर्माण गर्ने उल्लेख गरे । तर यता स्थानियले भने गाउँपालिकाले झरना तथा पार्क निर्माणका लागि बजेट विनियोजन गर्ने तर स्वास्थ्य चौकीको लागि भने केही पहल नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्