Logo

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दमौलीमा सुरु



Spread the love

२४ असार, तनहुँ – जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा ११ औं तनहुँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दमौलीमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले प्रदेशमा रहेका स्थानीय तहका नगरपालिकाहरुले आ–आफनो नगरमा रंगशाला र गाउँपालिकाले खेलकुद मैदान निर्माण गर्नु पर्नेमा जोड दिए ।

उनले भने- ‘अहिलेको युवाहरुमा लागुऔषधको दुव्र्यसन देखिएको छ, यसलाई खेलका माध्यमबाट न्युनिकरण गर्न सकिन्छ ।’ खेलकुदले युवा तथा युवतीहरुलाई अनुशासनमा राख्ने भएकाले उनीहरु अनुशासित हुने उनले बताए । प्रदेश सरकारले मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता गर्ने उनले बताए । त्यस्तै गण्डकी प्रदेशका सांसद् डोबाटे विकले अहिलेको युगमा खेलकुदको आवश्यक रहेको बताए । जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष ऋषिराम भुषालको सभापतिमा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, नेपाली कांगे्रस जिल्ला कार्यसमिति तनहुँका पार्टी प्रवक्ता महेश्वर भटराईलगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा छवटा खेलमा प्रतिस्पर्धा हुने भएको छ । भलिबल, कबड्डी, कराँते, दौड लगायत अन्य खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत सोमबार भएको एथलेटिक्समा पञ्चमुनि माविका भूवनबहादुर खत्री प्रथम, जनगणपति माविका बमबहादुर थापा दोश्रो तथा मित्रता माविका सर्जन थापा तेश्रो भएका छन् ।

यसैगरी, महिला पन्ध्र सय मिटर महिला दौडमा सत्यवती माविकी करुणा श्रेष्ठ प्रथम, राधा माविकी शान्ता थापा दोश्रो र पञ्चमुनिकी दुर्गा थापा तेश्रो भएका छन् । प्रतियोगितामा सय जना भन्दा विद्यार्थीहरुको सहभागिता रहेको छ । तनहुँका स्थानीय तहबीच भएको प्रतिष्पर्धामा राष्ट्रपति रनिङ शिल्डमा प्रथम, दोश्रो र तेश्रो टिमबीच जिल्लास्तरीय प्रतियोगिता गरिंदै आएको छ । यसअघि क्षेत्रीयस्तरमा यस्ता प्रतियोगिता हुने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्