Logo

तलब रकम सहयोग



Spread the love

२ श्रावण, तनहुँ – तनहुँको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले  एक महीनाको तलब स्वास्थ्य उपचारका लागि सहयोग गरेका छन् । पाचन नलीमा क्यान्सर लागेर भारतको राजीव गान्धी अस्पतालमा उपचार गरिरहेएका बन्दिपुर – ५ निवासी पूर्णप्रसाद रेग्मीको उपचारका लागि अध्यक्ष थापाले रु ३१ हजार सहयोग गरेका हुन् ।

अध्यक्ष थापाले रेग्मीकी पत्नी अप्सरालाई घरमै पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् । रेग्मीको उपचारका लागि अन्य क्षेत्रबाट आर्थिक सहयोग जुटाउन उत्प्रेरित गर्ने उद्देश्यले आफूले पाएको तलब रकम सहयोग गरेको अध्यक्ष थापाले बताए । श्रीमान्लाई एक वर्षअघि उक्त रोग लागेपछि उपचारका क्रममा रु ५० लाखभन्दा बढी खर्च भइसकेको अप्सराले जानकारी दिइन् ।

“उपचारको लागि भएको सम्पत्ति पनि सकियो”, उनले भनिन्, “अझै कति खर्च लाग्ने हो कसरी खर्च जुटाउने भन्ने चिन्ता थपिएको छ ।” रेग्मीको उपचारका लागि स्थानीयस्तरबाट रु तीन लाख ८४ हजार सहयोग गरिसकिएको बन्दिपुर ५ नं का वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले जानकारी दिए । “जम्मा छ चरणसम्म शल्यक्रिया गरेर ‘किमो’ चढाउनुपर्ने रहेछ”, वडाध्यक्ष लामिछानेले भने, “अहिलेसम्म तीन पटक शल्यक्रिया गरेर किमो चढाउने काम भइरहेको छ ।” एक पटकमा रु एक लाख ५० हजार खर्च हुने हुँदा अर्थ सङ्कलनका लागि स्थानीयस्तरबाट पनि सहयोग कार्य जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्