Logo

टि–ट्वान्टी विश्वकप छनोट : पहिलो खेलमै नेपालको अप्रत्याशित हार



Spread the love

७ साउन, काठमाडौं । आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएको छ । १ सय २३ रनको सामान्य लक्ष्य पछाएको कतारले १९.२ ओभरमा ६ विकेटको नोक्सानीमा पुरा गर्यो ।

पहिलो खेलमा नै कतारसँग हार ब्येहोर्दा नेपालको ग्लोबल क्वालिफायरमा पुग्ने सपनामा धक्का पुगेको छ । सिंगापुरस्थित इन्डियन एसोसिएसनको ग्राउन्डमा कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रन जोड्ने क्रममा ३२ बलको सामना गर्दै ६ चौका प्रहार गरे ।२२ रन बनाएका कमरन खान आउट भए ।

त्यस्तै , जहिरले १२ रनको योगदान दिए । मुहम्मद तनविरले ११ रन बनाउँद कप्तान तमोर सज्जाद ९ रनमा पवेलियन फर्किए । ओपनर फैसल खान १ रन , मोहम्मद रिजन ९ र नौमन सरवारले अविजित १५ रन जोडे । नेपालका सन्दीप लामिछानेको नाममा ३ विकेट र करण केसीका नाममा १ विकेट रह्यो ।

यसअघि पहिला टस जितेर ब्याटिङ थालेको नेपाल निर्धारित २० ओभरमा १ सय २२ रनमा अलआउट भयो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३४ रन जोडे ।

कप्तान पारस खड्काले २८ रन जोड्ने क्रममा १७ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरे भने ज्ञानेन्द्र मल्लले २३ रन बटुले । ज्ञानेन्द्र र खड्काले ४९ रनको कीर्तिमानी साझेदारी गरेता पनि मध्यक्रममा ब्याटसम्यान चल्न नसक्दा नेपाल सस्तैमा समेटियो ।

तेस्रो नम्बरमा आएका शरद भेषावकर १३ बलमा ७ रन बनाएर आउट भए भने सोमपाल कामी ११, बिनोद भण्डारी ३, करण केसी ४, सन्दिप लामिछाने ९ र अविनाश बोहरा शून्य रनमा आउट भएका थिए ।

नेपाललाई सस्तैमा समेट्न कतारका इकबल हुसेनले ३ विकेट लिए । तोमर सज्जाद र नौमन सरवारको नाममा २–२ विकेट रहँदा इनाम उल हकले १ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्