Logo

शोकमा डुबेको सत्यवतीलाई राहत प्रदान



Spread the love

 

९ साउन, गुल्मी- अविरल वर्षाका कारण ठुलो धनजनको क्षति भइ शोकमा डुबेको गुल्मीको सत्यवती गाउँपालिकालाई राहत स्वरुप विभिन्न संघसंस्था तथा स्थानीय तहहरुले सहयोग प्रदान गरेका छन । छिमेकी गाउँपालिका, रुरु गाउँपालिकाले दुई लाख रकम सहयोग गरेको डा. शिला ढकालले जानकारी दिएकी छन् । त्यस्तै कुमारी बैंक रिडी शाखाले पनि ८० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रिप्रसाद भलामीले उद्योग वाणिज्य संघ, गुल्मीले बुधवार नै विपद् व्यवस्थापन केन्द्र गुल्मीसंग सहकार्य गरी एक लाख बराबरको खाद्य सामाग्री उपलव्ध गराएको जानकारी दिएका छन् ।

सत्यवती गाउँपालिकाले मृतकको दाहसंस्कार खर्च र मृतकका परिवारलाई दश/दश हजार आर्थीक साहयता उपलव्ध गराउने प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिएका छन् । बिहिवार सल्लेरी खबरसंग कुराकानी गर्दै जोहाङ प्राथमीक स्वास्थ्य केन्द्र सत्यवतीमा कार्यरत डाक्टर शिला ढकालले भनिन्,”छिमेकी गाउँपालिकाले विपद्को बेला आर्थिक सहयोग प्रदान गरेर छिमेकीको भुमिका निवार्ह गरेको छ ।” साथै, पहिरोमा परी धेरै पशुचौपाया मरेकाले माहमारी फैलिन सक्ने सम्भावना रहेको भन्दै सवैलाई सचेत रहनुका साथै सफा पानी पिउन डाक्टर ढकालले आग्रह गरेकी छन् ।

सोमवार देखी परेको अविरल वर्षाका कारण सत्यवती गाउँपालिका वडा नम्वर ३ र ४ का तीन घर पहिरोमा पुरीदा १३ जनाको ज्यान गएको थियो । मृत्यु हुनेमा वडा नम्वर ४, लिम्घांका ६५ वर्षीया छल्ली बिक, २८ वर्षीया कम्बु बिक, २५ वर्षीय निर्मला बिक, १२ वर्षीया अञ्जली बिक, १० वर्षीय हेमन्त बिक, ७ वर्षीया शिवानी बिक, डेढ वर्षीय सुमन विक र ७ वर्षीया तारा विक रहेको गाउँपालिका अध्यक्ष पारीश्वर ढकालले बताएका छन् । त्यस्तै यता वडा नम्वर चारको ठुलो लुम्पेकमा पनि ४ जनाको ज्यान गएको थियो । ज्यान जानेमा ३२ वर्षीया तिल कुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु र ६३ वर्षीय रहेका थिए । दुर्गा बहादुर सिञ्जालीको भने पहिरोबाट बच्न भाग्ने क्रममा मृत्यु भएको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताएका छन् ।

ठूलो लुम्पेमै रुद्र बिकको घर पनि पहिरोले पुरिएको छ । पहिरोमा परी ४० वर्षीया माया बिक, उनका छोरा र १६ वर्षीय गबि बिकको मृत्यु भएको छ ।
आज बिहान भेटिएका शवको पोस्र्टमाटमको प्रकृया अघि बढाईएको डा. शिला ढकालले  बताईन ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्