Logo

शोकमा डुबेको सत्यवतीलाई नेपाली काङ्ग्रेसद्वारा ३ लाख सहयोग प्रदान



Spread the love

११ साउन, गुल्मी – अविरल वर्षका कारण ठुलो जनधनको क्षति भई शोकमा डुबेको गुल्मीको सत्यवती गाउँपालिकालाई राहत स्वरूप विभिन्न सङ्घसंस्था ,पार्टी तथा स्थानीय तहहरूले सहयोग प्रदान गरेका छन् । यसै बिच शनिबार नेपाली काङग्रेस केन्द्रीय पार्टी कार्यालय र जिल्ला कार्यसमिति गुल्मीले ३ लाख आर्थिक सहयोग रकम प्रदान गरेको छ ।

नेपाली काङग्रेसका केन्द्रीय सदस्य तथा पूर्व संसद् चन्द्र भण्डारी, नेपाली काङग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ , सचिव खिलध्वज पन्थी लगायतले बाढी प्रभावित क्षेत्र ठुलोलुम्पेक मै पुगेर आर्थिक सहयोग प्रदान गरेको सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिएका छन् । बाढीले निकै ठुलो जनधनको क्षती भएको उल्लेख गर्दै नेता भण्डारीले दुःख व्यक्त गरेका छन् ।

यस्तै शनिबार जिल्लाको छत्रकोट गाउँपालिकाले पनि सत्यवती गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेको छ । छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त उपाध्यक्ष नर्मदा भण्डारी सहितको टोलीले आज १ लाख ५१ हजार आर्थिक सहायता रकम उपलब्ध गराएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले बताएका छन् ।

त्यसैगरी शुक्रबार जिल्लाको गुल्मी दरबार गाउँपालिकाले पनि ६१ हजार आर्थिक सहयोग प्रदान गरेको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापाले जानकारी दिएका छन् । यस अघि नै छिमेकी गाउँपालिका, रुरु गाउँपालिकाले २ लाख र कुमारी बैङ्क रिडी शाखाले ८० हजार आर्थिक सहयोग प्रदान गरेको डा. शिला ढकालले जानकारी दिएकी छन् ।

सत्यवती गाउँपालिकाले मृतकको दाहसंस्कार खर्च र मृतकका परिवारलाई १०/१०  हजार आर्थिक सहायता उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिएका छन् । सोमबारदेखी परेको अविरल वर्षाका कारण पहिरेमा पुरिएर सत्यवती गाउँपालिका वडा नम्बर ३ र ४ का गरी १३ जनाको ज्यान गएको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्