Logo

स्थायी शिक्षकलाई स्वेच्छिक अवकासको ‘अफर’



Spread the love

भक्तपुर ।

फ्रेस शिक्षकलाई कक्षा कोठामा भित्र्याएर सार्वजनिक शिक्षा सुधार गर्ने उद्धेश्य सहित चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्र भित्र कार्यरत स्थायी शिक्षकलाई स्वेच्छिक अवकासको ‘अफर’ ल्याएको छ । २५ बर्षे सेवा अवधि पुरा गरेका र ५० बर्ष उमेर पुगेका शिक्षकहरुले स्वेच्छिक अवकास रोजेमा नगरपालिकाले एक लाख रुपैंया थप उपदान रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

पाँचौ नगर सभाबाट स्विकृत चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार उक्त योजना सार्वजनिक गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । योजनामा सहभागी हुन चाहने शिक्षकले साउन मसान्त भित्र स्वेच्छिक अवकासको आवेदन दिन सक्ने छन् ।

बढ्दो प्रविधिको प्रयोगले ल्याएको अवसर र चुनौतीलाई कक्षा कोठामा रुपान्तर गर्ने शिक्षकहरु नभए सम्म समय सुहाउँदो शिक्षाको कल्पना गर्न नसकिने भएकाले २५ बर्षे सेवा अवधि पुरा गरेका र ५० बर्ष उमेर पुगेका शिक्षकहरुलाई धन्यवाद सहित विदाई गर्ने योजना सार्वजनिक गरिएको मिश्रले बताए ।

‘शिक्षक भनेको टाईम पास गर्ने पेशा हैन, यो योजनामा संलग्न हुन आवश्यक मापदण्डमा परेका शिक्षकहरुले आफ्नो जीवनको उर्जावान समय शिक्षा सुधारमा व्यतित गरिसक्नु भयो, उहाँहरुलाई धन्यवाद छ ‘ उनले भने ‘अबको समय भनेको प्रविधिको प्रयोग सहित समय सुहाउँदो शिक्षा दिनु पर्ने समय हो, उहाँहरु भन्दा फ्रेस शिक्षक कक्षा कोठामा जाने वातावरण निर्माण गरियो भने सार्वजनिक शिक्षा सुधारमा सहयोग पुग्छ, त्यसैले उहाँहरुलाई सम्मान स्वरुप विदाई गर्ने पालिकाको योजना हो ।’

संविधानले विद्यालय शिक्षा सञ्चालनको जिम्मा स्थानीय सरकार मातहत गरेसँगै पालिकाले सार्वजनिक शिक्षा सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही अभियान अन्र्तगत यो पनि एउटा कार्यक्रम रहेको मिश्रले बताए ।

पालिका भित्र रहेका ३५ सामुदायिक विद्यालयमा कार्यरत ३ सय ५६ मध्ये २ सय ५८ स्थायी शिक्षक छन् । स्थायी मध्ये कति जनाले योजना रोज्छन् भन्ने कुरा अहिल्यै यकिन गर्न नसकिए पनि लगभग २२ –२५ जना सँलग्न हुन सक्ने नगरपालिकाले अनुमान गरेको खबर मेरो स्टडीले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्