Logo

अष्टधातुको बाघको मूर्ति शिलान्यास



Spread the love

१३ साउन, काठमाडाैँ – शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जस्थित गोकर्णेश्वर नगरपालिका–१ देउरालीमा बाघको अष्टधातुको मूर्तिसहित उद्यान निर्माण गरिने भएको छ ।

प्रदेश नं ३ सरकारको रु १० लाखको लागतमा मूर्तिसहित उद्यान निर्माण गर्न लागिएको प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले जानकारी दिए । उद्यानमा स्थानीय जातका वनस्पति, फलफूललगायत बिरुवा लगाइने छ । अष्टधातुको मूर्ति शिलान्यास कार्यक्रममा फुयाँलले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्ष्य गरी मूर्ति एवम उद्यान निर्माण गर्न लागिएको बताए । सुन्दरीजलबाट मूलखर्क–धाप–चिसापानी–कुटुम्साङ हुँदै गोसाइँकुण्ड जाने सडक निर्माण गरे यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने उनको भनाइ थियो ।

सो क्षेत्रमा पर्यटकलाई राख्न सुन्दरीजल क्षेत्रमा घरवास (होमस्टे) समेत सञ्चालन गरिने भएको छ । कार्यक्रममा शिवपुरी बाघ उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष ऋषिराम खत्री, सचिव कृष्ण तामाङ, स्थानीयवासी दावा तामाङ, तीर्थ तामाङ, केशव सिम्खडा, टिआर नेपाललगायतले उक्त क्षेत्रको पर्यटन विकासमा मूर्ति स्थापना र उद्यान निर्माणपछि सहयोग पुग्ने बताए । हाल विश्वमा बाघको सङ्ख्या तीन हजार २०० रहेको छ । नेपालमा बाघको सङ्ख्या २३५ छ । सन् २०१० मा रुसमा सम्पन्न १३ देशको सम्मेलनले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर पुर्याउने लक्ष्य तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्