Logo

श्रेष्ठको मृत्युको घटनाबारे छानबिन गर्न माग



Spread the love

१४ साउन, काठमाडाैँ – नेपाली काङ्ग्रेसले जिल्ला कार्यसमिति पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठको आइतबार काठमाडौँको माछापोखरीस्थित हिमालय सिटी सेन्टरमा रहस्यमय ढङ्गले मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

श्रेष्ठको मृत्यु हुनासाथ अनुसन्धान नै नगरिकन र शव परीक्षणसमेत नभएको अवस्थामा प्रहरीको हवला दिँदै आत्महत्या हो भनेर सञ्चार माध्यमहरुमा सम्प्रेषित समाचारप्रति काङ्ग्रेसले आपत्ति प्रकट गरेको छ । काङ्ग्रेसले आज एक विज्ञप्तिमार्फत घटनास्थलको प्रकृति हेर्दा ८ तलाबाट खसेको भनिएको घटनाको प्रत्यक्षदर्शी कोही पनि नहुनु र घटनास्थलमा रगतसमेत नदेखिनु, शरीरको कुनै पनि भागमा चोटपटक र अङ्गभङ्ग नहुनु जस्ता कुराले घटनालाई रहस्यमय र शंकास्पद बनाएको उल्लेख गरेको छ ।

पार्टीले घटनाको संवेदनशीलताका साथ यथार्थ छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । श्रेष्ठको सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रियता रहेको काङ्ग्रेसले जनाएको छ । सन्ताउन्न वर्षीय श्रेष्ठका श्रीमती, एक छोरा र दुई छोरी छन् । सचिव श्रेष्ठको सोमबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । पार्टीका तर्फबाट काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

श्रद्धाञ्जलिका लागि पशुपति आर्यघाटमा काङ्ग्रेसका केन्द्रीय पदाधिकारी एवम सदस्यहरु, जिल्लाका नेताहरु, पार्टीका सदस्यहरु तथा श्रेष्ठका आफन्तजन उपस्थित थिए । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा उनले पुर्याएको सक्रिय योगदान पार्टीमा सदैव स्मरणीय रहिरहने उल्लेख छ । “उहाँको निधनबाट पार्टीले एक कुशल सङ्गठनकर्तालाई गुमाएको छ । श्रेष्ठको निधनप्रति काङ्ग्रेस गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्दछ । साथै उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा काङ्ग्रेस गहिरो समवेदना प्रकट गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्