Logo

प्लस टु पछिका बाटाहरू…



Spread the love

१४ साउन, काठमाडाैँ – भर्खर मात्रै राष्ट्रिय परीक्षा बोर्डले उच्च माध्यमिक तहको परीक्षाफल प्रकाशित गर्यो । ग्रेडिङ वा जिपिएमा आधारित परीक्षाफल अनुसार नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएका मध्ये ३.६१ देखि ४ सम्म जिपिए १ हजार १६९  जनाले ल्याए । त्यसैगरी  ३.२१ देखि ३.६० ल्याउनेको संख्या  ११ हजार २२१ रहँदा २७ हजार ६४३ परीक्षार्थीले २.८१ देखि ३.२० ल्याउन सफल भए ।

त्यसैगरी ५८ हजार ३४५ विद्यार्थीले २.४१ देखि २.८० ल्याउँदा, २.१ देखि २.४० ल्याउने  विद्यार्थीको संख्या ९० हजार २९९ रह्यो। ६६ हजार ४३८ले  १.६१ देखि २ तथा २२ हजार ७३४ ले  १.२१ देखि १.६०, ४ हजार ४८७ ले ०.८१ देखि १.२० ग्रेड ल्याउँदा  ०.०० देखि ०.८० ल्याउनेको संख्या १९९ रह्यो ।

बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए अनुसार परीक्षामा कुनै एक विषयमा अनुपस्थित रहेका विद्यार्थीको संख्या १७ हजार ४०  रहेको छ। त्यसैगरी आंशिकतर्फ १ लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको परीक्षाफल अनुसार अब स्नातक तहमा पढ्न योग्यता पुगेका विद्यार्थीहरूका लागि पढाईका थुप्रै अवसरहरू खुलेका छन् । त्यसै गरी परीक्षाफलमा अयोग्य ठहरीएकाहरू पुनः मेहनत गर्दै अर्को वर्ष हुने परीक्षाका लागि कुर्नु पर्नेछ ।

अहिले मानिसको सफलतासँगै शैक्षिक स्थितिलाई पनि बडो महत्वका साथ हेरिन्छ । विभिन्न प्रकारका व्यापार तथा व्यवसायमा सफल भएता पनि मानिसको अन्तिम इच्छा भने शिक्षा रहेको देख्न सकिने धेरै उदाहरणहरू हामी माझ छन् । गतिलो उदाहरण नायिका करिश्मा मानन्धरले गत वर्ष दिएको एसईईलाई लिन सकिन्छ । तर यसको मतलब जे जसरी भए पनि पढ्नै पर्छ, पढाई मात्र ठुलो हो भन्ने होइन ।

प्लस टु पास गरिसकेकाहरूले जीवनको एउटा महत्वपूर्ण खुड्किलो पार गरिसकेका छन् । पढाईका हिसाबले भन्दा प्लस टु सक्नु एक समझदार व्यक्ति हुनु हो । तर, समझदारका लागि प्लस टु पासको सर्टि्फिकेट चाहिन्छ भन्ने होइन । मानिसहरू पढेर र परेर जान्दछन् । परेर मानिसहरू प्लस टु सक्ने भन्दा सानै उमेरमा पनि धेरै समझदार भइसकेका हुन्छन् ।

विशेषतः प्लस टु सकेपछि मानिसहरूले धेरै अवसररू पाउँछन् । जसले उनीहरूको भविष्य निर्धारणको समेत हैसियत राखेका हुन्छन् । कुन बाटोमा हिड्ने भन्ने प्लस टु सकेकाहरूमै भर पर्छ ।  अहिलेको सन्दर्भमा भर्खरै प्लस टु सकेकाहरूका लागि निम्न खालका अवसरहरू प्राप्त हुन्छन् ।

माथिल्लो तहको अध्ययन

उच्च माध्यमिक तहमा उत्तिर्ण हुनु भनेको पढाई सक्नु पक्कै होइन । यसभन्दा माथि पनि धेरै अध्ययन गर्नु आवश्यक छ । पढाईमा रूचि लाग्ने र पढाई राम्रो हुनेका लागि यो नै सबैभन्दा उत्तम विकल्प हुन्छ । आँफुलाई मन लागेको विषयमा स्नातक गर्दै स्नातकोत्ततर र त्यो भन्दा माथिसम्म अध्ययन गर्न सकिन्छ ।

व्यवसाय

अहिलेको समयमा व्यापार तथा व्यवसाय निकै फस्टाएको छ । सानो लागानीमा ठूलो फाइदा कमाउन सकिने प्रशस्त क्षेत्रहरू छन् । प्लस टु उत्तिर्ण भएपछि पढाईको सोँच नराख्नेका लागि यो नै सबैभन्दा उत्तम विकल्प हुन सक्छ । आँफुलाई इच्छा लागेको व्यवसाय गर्नका लागि सबैसँग प्रशस्त पूँजी नहुन सक्छ । यस्तो अवस्थामा विभिन्न वित्तीय संस्थाबाट कर्जा लिइ व्यवसाय गर्दै सोही क्षेत्रमा स्थापित हुन सक्ने प्रबल सम्भावना रहन्छ ।

वैदेशिक अध्ययन

नेपालमा चलेको कुरा गर्ने हो भने वैदेशिक अध्ययन तथा रोजगारी ट्रेन्डिङमा परेको विषयवस्तु मध्येको पहिलोमा पर्छ । विदेशमा अध्ययन जानका लागि प्लस टु पास अनिवार्य शर्त हो । अब भर्खरै प्लस टु पास गर्नेका लागि यो पनि उपयुक्त विकल्प मध्येको १ हो । आँफुलाई जान मन लागेको देशमा जानका लागि त्यस देशको भाषा तथा संस्कृति सिक्ने र त्यही गएर अध्ययन गर्नु पनि प्लस टु पास गरेका लागि उपयुक्त हुन सक्छ । तर, आफु जाने देश तथा आँफु पढ्ने कलेज र विषयको बारेमा यथेष्ट जानकारी लिएर मात्र यो निर्णय लिनुपर्ने हुन्छ ।

काम सिक्ने मौका

प्लस टु उत्तिर्ण भएपछि हामी रोजगारका लागि पनि आंशिक रूपमा योग्य भइसकेका छौँ । कक्षा ११ र १२ मा पढेका सैद्धान्तिक कुरालाई हामीले अब व्यवहारिक पनि बनाउँदै लानु पर्ने हुन्छ । प्लस टु सक्दैमा काम नजानीकन हामीलाई रोजगार प्राप्त गर्न अप्ठ्यारो हुन्छ । यस्तो अवस्थाबाट बच्न हामी अहिले देखि नै काम सिक्न थाले हुन्छ । आँफुले पढेको विषयसँग मिल्दो काम गर्ने संस्थामा इन्टर्न्सिपमा गई काम सिक्ने थुप्रै अवसरहरू हामीमाझ नै छन् । युनिसेफ र यो जस्तै थुप्रै विदेशी संस्थाहरूले स्वयंसेवकहरूको माग गरिरहेका हुन्छन् । यदि आँफुलाई इच्छा भएमा यस्ता संस्थामा गई काम गर्दा धेरै कुरा सिक्ने अवसर मिल्दछ ।

प्रतिक्रिया दिनुहोस्