Logo

सुरज रानाका तीन कविता



वि.सं. २०४९ साल कार्तिक १५ गते पिता लाल बहादुर राना मगर र माता सुनिता राना मगरको सुपुत्रको रूपमा थेचम्बु, ताप्लेजुङमा जन्मिएका सुरज राना हाल युएई, दुबईमा कार्यरत छन् । बि.बि.एस सम्मको अध्ययन सकेका रानाको ‘कल्चर अफ लभ’ – गजल सङ्ग्रह – २०७० प्रकाशित छ । हालै उनको ‘अनुहारको भिड’ -संयुक्त कविता सङ्ग्रह-२०७५ पनि प्रकाशित भएको छ ।

प्रस्तुत छ, सल्लेरी कोलाजका लागि कवि सुरज रानासँग सल्लेरी खबरका राजु झल्लु प्रसादले गरेको साहित्यिक चर्चाको संक्षिप्त अंश:

राजु- कविताले तपाईंको बाटो काट्छ कि तपाईं कविता बाटोमा हिँड्नुहुन्छ  ? कविता  ‘क्लिक’ कसरी हुन्छ  ? कविता सिर्जना गरिरहँदा के कस्ता अनुशासन हुन्छन् तपाइको ?

राना- कतै सुनेको थिए- जब माटोले आफ्नो कुरा बोलेर बुझाउन सक्दैन, उसले बिरुवा उमार्छ, जब बिरुवा पनि बोल्न सक्दैन तब उसले फुल फूलाउँछ, जब फुलले पनि बोल्न सक्दैन तब कविको जन्म हुन्छ । स्वभावले मानिस क्रियाशील, स्वप्नशील एवम् सृजनशील प्राणी हो र म यसै वर्गमा पर्छु । मानिसको चेतना जब ओठले बोलेर मात्र पूर्ण रूपमा अभिव्यक्त हुन सक्दैन तब विकल्पमा उसले माध्यम खोज्छ ।

मलाइ कविताको माध्यमबाट प्रस्तुत हुन आनन्द लाग्छ । यसमा मेरो कृत्रिम अनुशासनको दायरा छैन तथापि मैले लेखेको कविताले मलाइ आत्मसन्तुष्टि दिनु पर्छ भन्ने नितान्त व्यक्तिगत सर्त भने छ । त्यसो त मैले लेखेको सबै कविताले मलाइ ख़ुशी बनाउन सक्दैन । जब म ख़ुशी हुन्न तब मेरो डस्टबीन ख़ुशी हुन्छ ।

राजु- भनिन्छ-“स्रष्टा/कवि साहित्य मार्फत मानवीय संवेदना तथा भावानूभूतिहरुलाई समाज अगाडि राख्दछन् ।” एक स्वतन्त्र (विचारधाराको) कवि/स्रष्टाको हकमा यो लागू हुँदो हो । यस समय र परिस्थितिमा तपाईं स्वतन्त्रता उपयोग गरिरहनु भएको छ ? यस अभ्यास कत्तिको सहजपूर्ण छ ?

राना- समाजमा विचारलाई स्थापित गरेर संस्थागत गर्ने काम राजनीतिले गर्छ । राज्यभित्र राजनीतिमै सम्पूर्ण शक्ति केन्द्रित भएको हुँदा यसले साहित्यको वैचारिक मूलधारलाई पनि नियन्त्रण गरेको हुन्छ तर म कवितालाई यसको लेभल भन्दा अग्लो बिन्दुबाट हेर्छु । सिधै यसो भनौ, मेरो लागी कवितामा विचार हुनु आवश्यक छ तर प्रधान नै हुनु जरुरी छैन । फरि यसको अर्थ म स्वतन्त्र छु भन्ने पनि लाग्दैन । मर्यादा पालन नगर्ने, प्रतिगमन वाक्ने, दु:खिहरुको सेन्टिमेन्टसँग खेलबाड गरेर चर्चा कमाउने गरिब मानसिकताको म घोर निन्दक पनि हुँ । सायद म डोरी जस्तो बाटोमा सन्तुलन मिलाएर हिँड्ने अभ्यास गरी रहेको छु ।

राजु- ‘कवि भएर धेरै मान्छेले दुःख पाइराख्या छन्’, भनिन्छ । तपाईँलाई यस समाजले के कस्ता मानसिक जटिलता दियो/दिइरहेछ ? तपाइको अनुभवले के भन्छ- कविता लेख्नु र कविता पढ्नुमा के भिन्नता हुँदो रहेछ ?

राना- एउटा समारोहमा कवि मनु मन्जिलले भन्नु भएको कुरा उद्धृत गर्न चाहन्छु-“जब मानिस सृजनशील साधनामा ध्यानमग्न हुन्छ तब ऊ साथीभाइ, परिवार, समाज र सबै कुराबाट विच्छिन्न भएर एक्लो बन्छ । एक्लोपनको बर्षौ लामो सफर तय गरेपछि उसले आफू जस्तै अर्को एक्लो यात्रीलाई भेट्टाउँछ । एवम् रीतले एक्लै एक्लै हिँडिरहेका मानिसहरूको भेट पछि पुन: एउटा नयाँ समाजको निर्माण हुन्छ । त्यो समाज नै सबै भन्दा सुन्दर र अनुपम समाज हो ।” यसर्थ हामीले कस्तो समाज बनायौ भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ । हामी कुन समाजमा बस्ने भन्ने निर्णय हाम्रै हातमा छ ।

बाक़ी कुरामा आउँछु अब । कविता गर्भधारणको प्रक्रियामा कवि जुन उच्च स्तरीय मानसिक चरणहरूबाट गुज्रन्छ त्यो सुखानुभुति सायदै कुनै पनि अर्को भाग्यमानीले अनुभव गर्न पाउला । तर भौतिकवादी दृष्टिकोणबाट कविहरू सतहिरुपमा अव्यावहारिक भएको प्रतीत हुनु पूर्ण असत्य होइन । मलाइ लाग्छ कविहरूले कविता जस्तै जिन्दगी व्यवस्थापनको कला पनि सिक्न आवश्यक छ । दाबी त गर्दिन तर मेरो साधक प्रवृत्तिले मलाइ सधैँ कविता लेख्न घचेटी रहन्छ भन्ने भित्री महसुस गर्छु । यसो हुनाले कविता लेख्नु या सुन्दर कविता पढ्नु दुवै कृयाहरु साधनाकै फरक फरक प्रक्रिया हुन भन्ने विश्वास राख्छु ।

प्रस्तुत छ, उनका तीन कविता:

पहिलो कविता

बोझिल सम्झनाको धुवा

अझै पनि ढकढकाउदो हो सबेरै
घामको चुलबुले औलाले मेरो झ्याल
अझै पनि चिरबिराउदा हुन आल्राम
त्यही धुरीमाथि बसेर
अझै पनि ओसरामा आइ पर्खी बस्दो हो
अँजुलीमा शितको कलश बोकेर बतास
सायद तिनीहरूलाई खबर छैन
मैले त्यो घर छोडेर हिँडेको वर्षौ भइसक्यो

गुम्बाको मानेंमा परिक्रमारत होला प्राचीन दर्शन
लुंदरको फर्फराहटबाट मन्त्र गुन्जदै होला
न्यानो खोज्दै हिउँद आएको होला चियाको कित्ली नजिक
साँझको पथांग च्यातेर जुनेली वर्सातमा नुहाउँदै होला पहाड
गहुँको खेतमा हावाले गीतको बाला टिप्दै होला
तिनीहरू पनि छन् अनविज्ञ
मैले त्यो भूगोल छोडेर हिँडेको वर्षौ भइसक्यो

उडेर जान्छ जसरी काँसको भुवा जङ्गल छोडेर
या हराउँछ बुढो खलङ्गाबाट पुरातात्त्विक सम्पदा
उसरी छुटेर गएछु म आफ्नो माटोसँग
उसरी छुटि गए पनि तर
वर्षौ पछि आज भेट्टाएको छु आफूलाई
संवेदनाहरूलाई सास फेर्न वर्जित गरिएको रद्दिखानामा
र जसो -तसो ,मरी-तरी
डढेका सपनाहरूको अस्तु गन्हाउने घाट माथि उभिएर
बोझिल सम्झनाको धुवा टकटकाइरहेकोछु

थाहा छ सम्झेर मात्रै केही हुँदैन
तर पनि सम्झिरहेकोछु
कति बद्लियो या उस्तै होला देश?
अझै धुलामा कुद्छन् कि नाङ्गा सडकहरू?
ती हिमश्रिंखलामा तुवाँलोको निरंकुशता चल्छ कि अझै?
यथावत् छ कि मन्दिर बाहिरै प्रार्थना गर्ने सुचीकारहरूको प्रचलन?
के बेकसुरको छाती भएर गुज्रन्छ युद्ध अहिले पनि?
के अझै मित लगाउने गर्छन् राजनीतिक दुश्मनहरु?
अहो ! म सम्झेर टुक्रा टुक्रा हुने गर्छु
ती स्कुले नानीहरूको भविष्य के भयो ?
जस्लाइ ढुङ्गा हान्न सिकाएर सडकमा छोडिइएको थियो ।

दोस्रो कविता

हार

सत्ताधारीहरूसँग फौज छ
बन्दुक,कानुन र अदालत छ
युद्ध कला,वैभव र शक्ति छ
सत्ताधारीहरूसँग सबैथोक छ

तर इतिहास साक्षी छ
यिनीहरू सधैँ हार्दछन्।

तेस्रो कविता

अनुभूति

चुँडिएर सिमालाबाट दानाहरू खसि रहेका छन्
र सृजना भइरहेको छ जादुमय सङ्गीत
यस्तो लाग्छ

कसैले छेडेको छ साँझको तार
र गुन्जिरहेको छ चराहरूको चिरविराहट
यस्तो लाग्छ

कुशल नृत्यांगनाको पैजनीबाट
झंकृत भई उठि रहेको छ मधुरतम ध्वनि
यस्तो पनि लाग्छ

जङ्गलबाट काँचो रुखको वास्ना आइ रहे जस्तो
भिक्षुले जीवन दर्शनको मन्त्र पढि रहे जस्तो
नदिले सभ्यताको धुन गुनगुनाइ रहे जस्तो
पुष्पपत्रमाथि शीतले लेखेको कविता पढि रहे जस्तो
यस्तै -यस्तै
केही मिठो अनुभूति भई रहन्छ
जब तिमीसँग कुरा हुन थाल्छ

०००

०००

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्