Logo

‘एक हारले जीवन सकिन्न, हामी बलियो भएर आउनेछौं’ – उपकप्तान मल्ल



Spread the love

१५ साउन, काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया छनोटको निर्णायक खेलमा सिंगापुरसँग नेपाल ८२ रनले पराजित भयो।प्रतियोगिताको दाबेदार मानिएको नेपाल भाग लिएका देशमध्ये एक्लो एकदिवसीय टोलि हो ।

हारको अप्रत्यासित नतिजा आएपछि नेपाली ‘ड्रेसिङ’ रूपमा धेरैबेर सान्नाटा छाएको थियो । कोही कसैसँग बोल्ने अवस्थामा थिएन। सबै खेलाडीको मुहार पीडाले भरिएको थियो । एसिया छनोटको च्याम्पियन बनेर विश्वकप छनोट खेल्ने अनि आगामी वर्ष विश्वकपमा भाग लिने खेलाडीको सपना क्षणभरमैं चकनाचुर भयो।

‘सबै खेलाडीहरू दुखी थिए। सबै जना राम्रो खेल्न नसकेकोमा पछुताइरहेका थिए,’ उपकप्तान ज्ञानेन्द्र मल्लले गत आइतबारको माहोल सम्झिए। आठ वर्षपछि विश्वकप छनोटमा पुग्न नसक्दा नेपाली खेलाडी बढी नै दुखी भएको ज्ञानेन्द्रले महशुस गरे।

‘जितेर बैठक गर्ने सोचेका थियौं, तर हारेर बस्नु पर्‍यो,’ प्रशिक्षक उमेश पटवालको भनाइ ज्ञानेन्द्र सम्झिन्छन् ,’अब हामी यस्तो प्रदर्शनले धेरै अघि बढ्न सक्दैनौं।’

नेपालको विश्वकप यात्रा यति चाँडै समाप्त होला भनेर उनले कल्पना समेत गरेका थिएनन्। त्यसैले आइतबारको सो खेल सम्झिएर उनलाई अहिले पनि नरमाइलो लागिरहेको छ।

‘विश्वकप खेल्ने सपना यति छिटै सकिन्छ भन्ने सोचेको पनि थिइनँ,’ उनले भने, ‘६ दिन हामीले जसरी खेल्यौं, डिजर्भ गर्ने प्रदर्शन थिएन।’

टी–२० विश्वकप खेल्ने सपना सकिए पनि नेपालले आगामी प्रतियोगिताका लागि राम्रो तयारी गर्नुपर्ने उनको तर्क छ।

‘एक हारले जीवन सकिँदैन। हामीले अझ धेरै सफलता पाउन मिहिनेत गर्नुपर्छ,’ ज्ञानेन्द्रको अठोट छ।’

अब नेपाली सिनियर टिमले तत्काल खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता विश्वकप लिग–२ हो। सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप छनोटको रुपमा रहेको विश्वकप लिग–२ मा नेपालसहित ७ देशले त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्