Logo

किशोरीको क्षमता अभिवृद्धिका लागि सम्झौता



Spread the love

१७ साउन, कैलाली – कैलालीको टीकापुरका दुई पुस्तकालयमार्फत टीकापुर नगरपालिकामा सञ्चालित १० विद्यालयका ९० किशोरीको क्षमता विकास गर्न बिहिबार सम्झौता भएको छ ।

सामुदायिक पुस्तकालय टीकापुरमार्फत ४५ जना, टीकापुर–१ का चार विद्यालयबाट र भानु पुस्तकालयमार्फत ४५ जना तथा नारायणपुर क्षेत्रका ६ विद्यालयमा अध्ययनरत् किशोरीका लागि क्षमता अभिवृद्धि गर्नेबारे सम्झौता गरिएको हो । सामुदायिक पुस्तकालय टीकापुरका अध्यक्ष लोकबहादुर खड्का, रिड नेपालका कार्यक्रम अधिकृत साजन थापा र भानु पुस्तकालयका अध्यक्ष देवेन्द्रप्रसाद जैशीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

कार्यक्रम १८ महीनाको हुनेछ । चौधदेखि १८ वर्षीया किशोरीलाई विद्यालय समयभन्दा फरक समयमा शिक्षा र सूचनाका साथै प्रस्ताव लेखनसम्बन्धी क्षमता अभिवृद्धि प्रशिक्षण दिइने छ । यसरी छ महीनाको प्रशिक्षणपछि उनीहरुमध्ये ४८ जनालाई थप एक वर्ष र ती मध्येबाट उत्कृष्ट छ जनालाई राजधानीमा प्रशिक्षण दिएर प्रतिस्पर्धी बनाइने लक्ष्य रिड नेपालको रहेको छ । टीकापुर सामुदायिक पुस्तकालयमा भएको हस्ताक्षर कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत टोपेन्द्रबहादुर केसीले सामुदायिक पुस्तकालयको भवन र प्रशासनिक खर्चका बारेमा नगरपालिका सचेत भएको बताए ।

“विद्यालय विकास कार्यक्रमलाई सहयोग पुर्याउन रिड नेपालले किशोरीका लागि ल्याएको कार्यक्रम प्रभावकारी हुने विश्वास लिएको छु”, केसीले भने “प्रक्रियामुखी हुँदा समस्या भयो नतिजामुखी कार्यक्रम आउनुपर्छ ।” उनले किशोरीसम्बन्धी १८ महीनाको कार्यक्रमपछि परियोजनामा छानिएका किशोरीले नेतृत्व गरेको देख्ने इच्छा रहेको बताए । सहयोगी संस्था रिड नेपालका कार्यक्रम संयोजक थापाले यो कार्यक्रम अवसर र चुनौती भएको बताउँदै भने, “यसलाई जतिसक्यो राम्रो गरी प्रयोग गर्न आवश्यक छ ।” उद्देश्य अनुरुप काम भए कार्यक्रम लागू भएका विद्यालयमा थप हुनेछ भने अन्य विद्यालयमा पनि कार्यक्रम लागू गर्ने सोच बनाएको थापाले बताए । ‘अहिले देशभरका ३८ विद्यायलमा किशोरीसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना रिड नेपालको छ ।

प्रतिक्रिया दिनुहोस्