Logo

‘प्रविधिमैत्री विद्यालय बनाउन सरकार लागिपरेको छ’ : सञ्चारमन्त्री



Spread the love

२१ साउन, जनकपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकास जनसङ्ख्याका आधारमा नभएर आवश्यकताका आधारमा हुनुपर्ने बताएका छन् ।

प्रदेश नं २ मा सूचना प्रविधिमैत्री विद्यालयको रूपमा विकास गरिएको जनकपुरस्थित सङ्कट मोचन देवशरण रामरती माविको समुद्घाटन कार्यक्रममा मन्त्री बाँस्कोटाले प्रविधियुक्त समाजले मात्रै प्रगति गर्ने भएको हुँदा यसतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

उनले अहिलेको आवश्यकता एक अर्कामाथि आरोप लगाउनुको साटो सहकार्यमार्फत विकासलाई अगाडि बढाउनुपर्ने रहेको उल्लेख गरे । मन्त्री बाँस्कोटाले भने, ‘‘सामाजिक न्याय र गरिबी हटाउनका लागि सबैले आ–आफ्नो तहबाट विकास निर्माणमा लाग्नुपर्ने समय आएको छ ।’’

मन्त्री बाँस्कोटाले सङ्कट मोचन देवशरण रामरती विद्यालयलाई स्मार्ट विद्यालय घोषणा गरे जस्तै सातवटै प्रदेश र देशभरका एक हजार ३० विद्यालयलाई सूचना प्रविधिमैत्री विद्यालय (स्मार्ट स्कुल)का रूपमा विकास गर्न सरकार लागेको बताए । उनले विकासमा हुने गरेको राजनीतिको कारणले राजमार्गभन्दा दक्षिणतिरको विकासमा कमी आएको बताउँदै समस्यालाई पहिचान गरेर समाधान गर्नुपर्ने अहिलेको आवश्यकता हो भने ।

मन्त्री बाँस्कोटाले विकासका लागि आउने गरेको बजेट कुनै व्यक्तिको नभएर जनताको पैसा रहेको र जनताको हितमा खर्चिनु पर्दछ भने । उनले विगतमा कुन सरकारले के गरे, के गरेनन् भन्नुको सट्टा गणतन्त्र जनताको व्यवस्था भएकाले सोही अनुसार सबैले काम गर्नुपर्ने बताए ।

मिथिलाको सभ्यता निकै पुरानो सभ्यता रहेको बताउँदै मन्त्री बाँस्कोटाले यसको विकास गरेर सामाजिक सद्भावका रूपमा अगाडि बढ्नुपर्दछ भने । मिथिला सभ्यताको केन्द्र जनकपुरधामको आफ्नै मैथिली संस्कृति रहेको बताए । उनले भने, “अब तिनै तहको सरकारको दायित्व भनेको शिक्षा स्तर कसरी राम्रो बनाउने हो त्यसतर्फ योजना बनाउनु पर्दछ ।”

कुनै बेला ज्ञान भूमिका रूपमा परिचित यस मिथिलाको केन्द्र जनकपुरमा संस्कृत भाषा पढ्न आफ्नो गाउँबाट पनि मान्छेहरू आउने गरेको स्मरण गरे । पछिल्लो समय यस स्थानमा शिक्षाको स्तर खराब हुनुमा कस्को दोष छ ? प्रश्न गर्दै उनले अब सबै मिलेर शिक्षा अवस्था राम्रो बनाउनेतर्फ लाग्नुपर्ने बताए ।

तराई÷मधेशमा दाइजो र बोक्सीको समस्या पनि धेरै सुनिँदै आएको बताउँदै मन्त्री बाँस्कोटाले भए, “मैथिली संस्कृतिमा दाइजोको समस्या हुनु राम्रो सङ्केत होइन ।” स्थानीय, प्रदेश र सङ्घको चुनावको बेला गरिएका वाचा पूरा गरे धेरै समस्याको समाधान हुन सक्ने उनको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बजरङ्ग साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । यसअघि मन्त्री बाँस्कोटाले सोमबार जनकपुरबाट सञ्चालन भएको कलर्स एफएमको समेत उद्घाटन गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्