Logo

अनुवाद कथाः एक कल फोन



डोरोथी पार्कर (१८९३-१९६७) एक अमेरिकी कवि, लेखक, समालोचक तथा व्यङ्ग्यकार हुन् । उनी उनको रोचक तथा व्यङ्ग्यात्मक लेखनलाई लिएर विश्वभरि प्रसिद्ध छिन् । निकै दु:खदायी बाल्यकाल गुजारेकी उनका लेखहरू न्युयोर्कर पत्रिकामा प्रकाशित हुन थालेपछि साहित्यिक वृत्तमा उनी चर्चाको विषय बनिन् । उनी पछि हलिउडमा गएर हलिउड चलचित्रका लागि स्क्रिप्ट लेख्न थालिन् । ‘अ स्टार इज बर्न’ (१९३७) र ‘स्म्यास अप, द स्टोरी अफ अ वुमन’ (१९४७) चलचित्रबाट उनी ओस्कार अवार्डमा मनोनयनमा समेत परेकी थिइन् । तर पछि शीत युद्धताका कम्युनिस्ट विचारधारा राखेको भन्दै सन् १९५० मा प्रकाशित ‘रेड च्यानल्स’ मार्फत उनलाई हलिउडबाट कालोसूचीमा राखिएको थियो । त्यससँगै उनको हलिउड करियर अन्त्य भएको थियो । उनका कथा, कविता र नाटकहरू विश्वका विभिन्न विश्वविद्यालयको पाठ्यक्रममा समाविष्ट छन् । यहाँ अनुप जोशीले अंग्रेजीबाट अनुवाद गरेको उनको चर्चित कथा ‘अ टेलिफोन कल’ प्रस्तुत गरिएको छ :

बिन्ती छ परमेश्वर, उसलाई अहिले नै मलाई फोन गर्न लगाइदेऊ । प्रिय भगवान्, उसलाई अहिले नै मलाई फोन गर्न भनिदेऊ । म तिमीसँग अरू केही माग्दिनँ । साँच्चै अरू केही पनि माग्दिनँ । मैले तिमीसँग आजसम्म कुनै ठुलो कुरा मागेकी पनि छैन । यो त तिम्रा लागि एउटा सानो कुरा मात्रै त हो नि । उसले मलाई अहिले नै फोन गरिहालोस् । बिन्ती परमेश्वर । बिन्ती. बिन्ती, बिन्ती…

यदि मैले यसबारे मनमा कुरा नखेलाइकन बसेँ भने टेलिफोनको घण्टी बज्छ होला । कहिलेकाहीँ त्यस्तो पनि हुन्छ । यदि मैले अरू नै केही कुरा सोच्न सकेँ भने ? के कुरा सोच्ने होला त खै ? बरु मैले ५ पल्ट १ देखि ५०० सयसम्म गनेर बसेँ भने त्यतिबेलासम्म त पक्कै उसको फोन आउँछ होला । अब म कत्ति पनि झेली नगरिकन बिस्तारै गिन्ती गर्न थाल्छु । र यदि मैले ३०० सम्म गिन्ती गरेर पुर्याउँदा फोनको घण्टी बज्यो भने पनि म रोकिनेछैन । म ५०० नै नपुर्याइन्जेलसम्म रोकिनेछैन । म ५ सय पुर्याएर मात्र उसको फोन उठाउँछु । ५, १०,१५ ,२०,२५,३०, ३५,४०, ४५, ५०…हे परमेश्वर ! बिन्ती फोन आइदेऊ । बिन्ती !!

अब म एकपल्ट अन्तिम चोटि घडी हेर्छु । यसपछि कुनै पनि हालतमा फेरि अर्कोपल्ट घडी हेर्दिनँ ।

लौ, सात बज्न १० मिनेट बाँकी रहेछ ।

उसले त ५ बजे नै मलाई फोन गर्छु भनेको थियो ।

“प्रियतमा, म तिमीलाई ५ बजे फोन गर्नेछु ।”

मलाई लाग्छ उसले मलाई त्यही बेला नै हो ‘प्रियतमा’ भनेको । पक्का त्यही बेला नै हो भन्नेमा म ढुक्क छु । मलाई याद छ उसले मलाई दुईपल्टसम्म ‘प्रियतमा’ भनेर सम्बोधन गरेको थियो । अर्को चोटि उसले मलाई फोन राख्ने बेलामा प्रियतमा भनेको थियो ।

“प्रियतमा, गुड बाइ ।”

यति त मलाई पनि ज्ञान छ कि केटाहरूलाई फोन गरिरहनु हुँदैन ।

मलाई थाहा छ उनीहरूलाई त्यो मन पर्दैन ।

जब हामी उनीहरूलाई फोन गर्छौँ तब उनीहरूले भेउ पाउँछन् कि हामी उनीहरूको बारेमा सोचिरहेका छौँ र उनीहरूलाई चाहन्छौँ ।

स्तो थाहा पाउँदा उनीहरूले घृणा गर्न थाल्छन् ।

ऊ व्यस्त थियो र उसले अफिसमा हुँदा धेरै कुरा गर्न पनि त मिल्दैन । तर यसको बाबजुद पनि उसले मलाई दुईपटकसम्म ‘प्रियतमा’ भनेको थियो । यदि मैले नै उसलाई फोन गरेँ भने पनि मलाई थाहा छ उसले झन्झट मान्ने छैन । यति त मलाई पनि ज्ञान छ कि केटाहरूलाई फोन गरिरहनु हुँदैन । मलाई थाहा छ उनीहरूलाई त्यो मन पर्दैन । जब हामी उनीहरूलाई फोन गर्छौँ तब उनीहरूले भेउ पाउँछन् कि हामी उनीहरूको बारेमा सोचिरहेका छौँ र उनीहरूलाई चाहन्छौँ । यस्तो थाहा पाउँदा उनीहरूले घृणा गर्न थाल्छन् ।

तर मैले त उसलाई फोन नगरेको तीन दिन बितिसकेको छ । र मैले फोन गर्दा पनि केवल कस्तो छौ भनेर मात्र सोधेकी थिएँ । त्यति त अरू जोकोहीले पनि त सोध्न सक्थ्यो नि ! त्यति सोध्दा उसले गुनासो गर्नुपर्ने कुनै कारण छैन । उसले यो सोच्नुपर्ने कुनै पनि कारण थिएन कि मैले उसको समय बर्बाद गरिरहेकी छु ।

‘अहँ, छैनौ छैनौ’, उसले भनेको थियो । र उसले मलाई फोन गर्छु भनेको थियो । उसले त्यसो भन्नुपर्ने कुनै आवश्यकता पनि त थिएन नि ! मैले उसलाई फोन गर भनेर कहाँ भनेकी थिएँ र ? अहँ, किमार्थ भनेकी थिइनँ । मलाई याद छ मैले त्यस्तो भनेकी थिइनँ । मलाई लाग्दैन कि ऊ मलाई फोन गर्छु भनिसकेपछि आफ्नो वाचा तोडेर कहिल्यै फोन नगर्ने खालको मान्छे हो ।

हे परमेश्वर, बिन्ती छ, उसलाई उसको वचन तोड्ने बुद्धि नहालिदेऊ । बिन्ती, परमेश्वर !

‘प्रियतमा, म तिमीलाई ५ बजे फोन गर्नेछु’ । ‘गुड बाइ, प्रियतमा’ ।

ऊ व्यस्त थियो, ऊ हतारमा थियो र उसको वरिपरि अरू मान्छे पनि थिए । तर त्यस्तो अवस्थामा पनि उसले मलाई दुईपटकसम्म ‘प्रियतमा’ भनेर सम्बोधन गरेको थियो । ऊ मेरो हो, ऊ मेरो नै हो । उसले अब मलाई कहिले भेटेन भने पनि मलाई त्यतिचाहिँ थाहा छ । तर त्यो त निकै थोरै हो नि । त्यतिले मलाई पुग्दैन । मैले उसलाईफेरिफेरि भेट्न पाइनँ भने संसारका कुनै कुनै कुरा पनि मेरा लागि पर्याप्त छैन । परमेश्वर, बिन्ती छ ! मलाई उसँग फेरि भेटाइदेऊ । म उसलाई अति नै चाहन्छु । म उसलाई आफैँ भन्दा धेरै चाहन्छु । म एक असल व्यक्ति बन्नेछु परमेश्वर ! यदि तिमीले मलाई फेरि उ सँग भेटाइदियौ भने म अझ धेरै असल व्यक्ति बन्ने प्रयास गर्नेछु । यदि उसलाई फोन गर्न मात्र लगाइदियौ भने पनि । हे परमेश्वर ! जसरी पनि उसलाई अहिले नै फोन गर्न लगाइदेऊ ।

परमेश्वर ! बिन्ती छ- मेरा प्रार्थनाहरूलाई निरर्थक सम्झेर नजरअन्दाज नगरिदेऊ । तिमी त परीहरू र ताराहरूको वरिपरि माथि आकाशमा बस्छौ । म भने तिमीसँग जाबो एउटा टेलिफोनको विषयमा प्रार्थना गर्न आएकी छु । मलाई देखेर नहाँस परमेश्वर । मलाई अहिले कस्तो बेचैनी भइरहेछ भनेर तिमीलाई के थाहा ? आफ्नो बहुमूल्य गद्दीमा विराजमान तिमी सुरक्षित छौ । कसैले पनि तिमीलाई केही गर्न सक्दैन । कसैले पनि तिम्रो मनमा हलचल मच्चाउन सक्दैन । म भने यहाँ तड्पिरहेकी छु परमेश्वर । यो निकै दर्दनाक तड्पाई हो । के तिमी मलाई मद्दत गर्दैनौ ? तिमीलाई तिम्रो छोराको कसम ! मलाई मद्दत गर । तिमीले नै भनेका छौ कि तिम्रो छोराको नाममा जे-जे मागे पनि तिमी पूरा गरिदिन्छौ । हे परमेश्वर ! तिम्रो एक मात्र प्रिय पुत्र, हाम्रो भगवान् जिजस ख्राईस्टका नाममा उसलाई अहिले नै मलाई फोन गर्न लगाइदेऊ ।

मैले अब यसरी तड्पिन बन्द गर्नुपर्छ । म यस्तो लाचार हुनुहुन्न । यसलाई यसरी हेरौं । एउटा जवान युवकले एउटी युवतीलाई फोन गर्छु भन्ने वचन दियो र ऊ अन्य केही कुरामा अल्झियो र फोन गर्न सकेन । यो खासै ठूलो कुरा त होइन नि ? हैन र ? अहिले यतिखेर विश्वमा कस्ता घटनाहरू घटिरहेका होलान् । मलाई किन अरु केही कुराको मतलब नै लागिरहेको छैन ? यो टेलिफोन किन बज्दैन ? किन बज्दैन ? किन बज्दैन ? तँ किन बज्दैनस्, हँ ? विन्ती छ बज्दे न ! तँ मर्न नसकेकोकुरूप, टल्किने वस्तु ! एकछिन घन्टी बज्दैमा तँ मर्ने होस् र ? पख्, म भित्ताबाट तेरा सबै जराहरू उखेलिदिन्छु । म तेरो कालो अनुहारलाई टुक्राटुक्रा पारेर फुटाइदिन्छु । नर्कमै वास होस् तेरो त !

ओहो, म यो के गरिरहेकी छु? अब म चुप लाग्नुपर्छ । अरु नै केही कुरा सोच्नु पर्छ । अब म अरु नै केही कुरा सोच्छु । बरुम अब यो घडीलाई नै अर्को कोठामा लगेर झुण्ड्याउँछु । त्यसपछि त मैले कति बज्यो भनेर हेर्नसक्ने छैन । घडी हेर्न मन लाग्यो भने मैलेशयनकोठासम्म पुग्ने पाउकष्ट गर्नुपर्नेछ । कतै उसले मैले फेरि घडी हेर्नुभन्दा अगाडि नै पो फोन गरिहाल्छ कि ! उसले फोन गर्यो भने म उसँग अत्यन्तै राम्रोसँग मायालु तरिकाले बोल्छु । यदि उसले भरे राति मसँग भेट्न मिलेन भन्यो भने म भन्नेछु, ‘ए, ठीकै छ नि त प्रियतम । अर्को कुनै बेला भेटौंला’। म उसँग पहिलोपटक भेट्दा जस्ती थिएँ त्यस्तै बन्ने छु । सायद त्यसपछि उसले मलाई फेरि मन पराउन थाल्छ कि ! म सुरुसुरुमा सधैं मायालु थिएँ । कसैसँग प्रेममा पर्नुभन्दा अगाडि उनीहरूसँग मायालु हुन वास्तवमै कति सजिलो छ है !

मलाई लाग्छ कि उसले मलाई अलिअलि भए पनि मन त पक्कै पराउँछ । नभए उसले मलाई यत्तिकै दुई-दुईपल्टसम्म ‘प्रियतमा’ भनेर सम्बोधन गर्ने थिएन । उसले मलाई मन पराउँछ भने, अलिकति मात्रै पनि मन पराउँछ भने अझै पनि आश बाँकी छ । बुझ्यौ परमेश्वर, तिमीले उसलाई फोन मात्र गर्ने बनाइदियौ भने मैले तिमीसँग अरु केही माग्नुपर्ने छैन । म उसलाई संधैं माया गर्नेछु, म धेरै खुसी हुनेछु, म पहिले जस्ती थिएँ त्यस्तै हुनेछु र उसले मलाई फेरि माया गर्न थाल्नेछ । र त्यसपछि त मैले तिमीसँग कहिल्यै केही माग्न पर्ने छैन । यति कुरा बुझ्न सक्दैनौ तिमी भगवान ? जसरी पनि उसलाई फोन गर्न लगाइदेऊ न ! विन्ती छ ! विन्ती, मेरो लागि त्यति एउटा कुरा गरिदिदैनौ ?

हे परमेश्वर ! के म खराब भएँ भनेर तिमीले मलाई सजाय दिइरहेका हौ ? मैले केही नराम्रो गरें भनेर तिमी मसँग रिसाएका हौ? तर संसारमा त कति धेरै पापी मान्छेहरू छन् – तिमीले मसँग मात्रै यस्तो कठोर बन्न मिल्दैन नि ! र मैले त्यस्तो खराब काम पनि के गरेको छु र ? हामीले कसैलाई केही हानी पुर्याएका छैनौ भगवान । अरुलाई पीडा दिने काम गर्दा मात्रै नराम्रो हुने हो । हामीले त कसैलाई दु:ख दिएका छैनौ । तिमीलाई त्यो राम्रोसँग थाहा छ । तिमीलाई थाहा छ हामीले कुनै नराम्रो काम गरेका छैनौ, होइन त परमेश्वर ? यति भइसकेपछि अब तिमी उसलाई फोन गर्न लगाइदिदैनौ ?

यदि उसले मलाई फोन गरेन भने मैले बुझ्नेछु कि भगवान मसँग रिसाएका छन् । म ५ पल्टसम्म सुरुदेखि ५०० सम्म गिन्ती गर्नेछु र यदि त्यतिबेलासम्म पनि उसले मलाई फोन गरेन भने मैले बुझ्नेछु कि इश्वरले मलाई अब कहिले पनि मद्दत गर्ने छैनन् । त्यसलाई म संकेतको रुपमा लिनेछु । ५, १०, १५,२०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५…पक्कै पनि मैले केही गलत गरेकी हुनुपर्छ । मलाई थाहा छ मैले त्यो गर्न नहुने थियो । ठीक छ भगवान त्यसोभए मलाई नर्कमा पठाइदेऊ । तिमीलाई लागिरहेको होला कि नर्क भनेर तिमी मलाई तर्साइरहेका छौ, हैन त ? तिमीलाई के लाग्छ तिम्रो नर्क मेरो यस्तो जीवन भन्दा बत्तर छ?

अहँ, हुँदैन । मैले यस्तो गर्नु हुँदैन । उसले मलाई आज अलिकति ढिला फोन गर्न लागेको पनि त हुनसक्छ । यत्ति कुरालाई लिएर यसरी बहुलाउनुपर्ने कुनै कारण छैन । हुनसक्छ उसले फोन नै गर्नेछैन — हुनसक्छ कि ऊ फोन नै नगरी सीधै यहीं मलाई भेट्न आउँछ । म यसरी रोइरहेको देख्यो भने उसले के सोच्ला? केटाहरूलाई यसरी रोएको मन पर्दैन । ऊ कहिल्यै रुँदैन । हे भगवान! यदि मैले उसलाई रुवाउन पाए ! म कामना गर्छु कि मैले उसलाई रुवाउन सकूँ र उसलाई भुइँमा सुताएर उसको मुटु भारी र विशाल भएको महसुस गर्न सकूँ । म कामना गर्छु कि म उसलाई नर्कभन्दा बत्तर पीडा दिन सकूँ ।

उसले भने मेरो बारेमा त्यस्तो कामना गर्दैन । मलाई लाग्दैन कि उसलाई थाहा छ उसले मलाई कस्तो महसुस गराउँछ । म कामना गर्छु कि उसलाई मैले नभनिकनै पनि मलाई कस्तो अनुभूति हुँदैछ भन्ने ज्ञानहोस् । केटाहरू यो सुन्न चाहदैनन् कि उनीहरूको कारणले हामी रुँदैछौं । उनीहरूले गर्दा हामी दु:खी छौं भनेर सुनाएको उनीहरू मन पराउँदैनन् । यदि हामीले त्यस्तो गर्यौं भने उनीहरूलाई लाग्नेछ कि हामी उनीहरूलाई नियन्त्रण गर्न खोजिरहेका छौं र उनीहरूमाथि हावी हुँदैछौं । र त्यसपछि उनीहरूले घृणा गर्न थाल्नेछन् । हामीले जे-जे सोचेका छौं, त्यो सबै कुरा उनीहरूलाई सुनाउन थाल्यौ भने उनीहरूले घृणा गर्नेछन् । त्यसैले सधैं हामीले ससाना खेल खेलिरहनु पर्छ उनीहरूसित । ओहो, मलाई त लागेको थियो कि मैले जे सोचेकी छु त्यो सबै भन्दा हुन्छ । तर त्यस्तो कहिले गर्नुहुँदो रहेनछ । उसले अहिले मलाई फोन गरिहाल्यो भने म भन्दिनँ कि म उसलाई सम्झेर निकै दु:खी थिएँ । उनीहरू दु:खी आत्मालाई घृणा गर्छन् । म त बरु निकै ज्ञानी र खुसी हुनेथिएँ ताकि ऊ मलाई माया गर्न बाध्य होस् । पहिलेउसले मलाई फोन त गरोस् । उसले मलाई फोन त गरोस् ।

सायद अहिले ऊ मलाई फोन नै पो गर्न लागेको छ कि ! हुनसक्छ ऊ मलाई फोन नगरिकनै सीधै यहीं भेट्न आउँदै छ । सायद ऊ बाटोमा छ होला । आउँदै गर्दा उसलाई केही भएको पनि त हुनसक्छ । अहँ, उसलाई केही पनि हुनसक्दैन । म उसलाई केही भएको कल्पना पनि गर्न सक्दिन । म उसलाई गाडीले किचेको कहिले पनि कल्पना गर्दिन । ऊ मरेर अचल र निर्जीव भएर सुतिरहेको मैले कहिले कल्पना गरेकी छैन । बरु ऊ मरे पनि हुन्थ्यो । ओहो, यो त निकैभयानक कामना हो । र निकै प्रेमिल कामना पनि । यदि ऊ मर्यो भने ऊ सधैंको लागि मेरो हुनेछ । यदि ऊ मर्यो भने, म अहिलेको र विगत केही हप्ताका कुराहरूलाई कहिल्यै पनि सम्झने छैन । म हामीले विताएका रमाइला क्षणहरूलाई मात्र सम्झनेछु । त्यो सबै कति सुन्दर हुनेछ । म कामना गर्छु कि ऊ मरोस्, मरोस्, मरिहालोस् ।

यो मुर्खता हो । कसैले जतिबेला फोन गर्छु भनेको थियो ठीक त्यतिबेला फोन गरेन भन्दैमा ऊ मरोस् भनेर कामना गर्नु मुर्खता बाहेक केही होइन । योघडी छिटो भएको पनि त हुनसक्छ । यसले सही समय देखाइरहेको छ कि छैन मलाई कहाँ यकिनका साथ थाहा छ र? उसले फोन गर्ने बेला नै पो भएको छैन कि ? कुनै सानो कारणले पनि उसलाई अलिकति ढिला गरिदिएको हुनसक्छ । उसलाई अबेरसम्म अफिसमै बस्नुपर्यो कि ? मलाई नै फोन गर्छु भनेर कल्पदै ऊ घर पुग्दा कोही पाहुना आएकाले उसले फोन गर्न पाएन कि ? उसलाई फेरि अरुको अगाडि मसँग फोनमा बोल्न मन पर्दैन । ऊ अलिअलि, थोरै मात्रै भए पनि मलाई यसरी पर्खाउनु परेकोमा चिन्तित छ होला । उसले मैले नै फोन गर्छु कि भनेर आश गरेर बसिरहेको पनि त हुनसक्छ । त्यति त मैले गर्न सक्छु नि ! म आफैंले उसलाई फोन गर्न सक्छु ।

अहँ, गर्नु हुँदैन । हुँदैन । किमार्थ मैले आफैं फोन गर्नु हुँदैन । हे परमेश्वर, विन्ती छ मलाई फोन गर्नबाट रोक । तिमीलाई जस्तै मलाई पनि थाहा छ कि यदि ऊ मेरो बारेमा चिन्तित छ भने ऊ जहाँ भए पनि, जस्तोसुकै अवस्थामा भए पनि र उसँग जतिसुकै मान्छेहरू भए पनि उसले मलाई फोन गरेरै छाड्छ । मलाई कमसेकम यति कुराको त ज्ञान देऊ । म तिमीसँग मलाई मेरो सबै कुरा पूरा गरिदेऊ भन्दिनँ – तिमी सबै कुरा पूरा गरिदिन पनि सक्दैनौ । त्यतिबेलासम्म त तिमीले एउटा नयाँ संसार नै निर्माण गर्न सक्छौ । बस्,मलाई सबै कुरा खुलस्त बताइदेऊ । यसरी आश गरेर म कहिलेसम्म बसूँ ? तिमी नै भन न ! म आफैंले आफैंलाई मिठा मिठा कुराहरू गरेर आश्वासनहरू दिईरहेकी छु । विन्ती छ मलाई आश गर्ने नबनाइदेऊ । विन्ती परमेश्वर !

म उसलाई फोन गर्दिनँ । म बाचुन्जेलसम्म कहिले पनि उसलाई फोन गर्दिनँ । मैले उसलाई फोन गर्नुपूर्व नै ऊ नर्कमा कुहिनेछ । तिमीले मलाई कुनै शक्ति पनि दिनु पर्दैन परमेश्वर ! म आफैंसँग छ त्यति शक्ति त । यदि उसले मलाई चाहन्छ भने उसले मलाई पाउन सक्छ । उसलाई थाहा छ म कहाँ छु भनेर । म उसलाई पर्खेर बसिरहेकी छु भन्ने पनि उसलाई थाहा छ । ऊ मेरो बारेमा ढुक्क छ, पूरै ढुक्क छ । मलाई अचम्म लाग्छ कि हामीले उनीहरूलाई प्रेम गर्छौ र उनीहरू विना बाच्न सक्दैनौं भन्ने ढुक्क भएपछि उनीहरू किन हामीलाई घृणा गर्न थालिहाल्छन् ? झन् ढुक्क भएपछि त खुसी लाग्नुपर्ने होइन र?

उसलाई फोन गर्नु निकै सजिलो छ । फोन गरेपछि मैले सबै कुरा थाहा पाउँछु नि ! यो कुनै मुर्खता हुँदैन होला । उसले नराम्रो सोच्दैन होला । के थाहा मैले फोन गरेको उसलाई मन पो पर्छ कि ! उसले अहिले मसँग सम्पर्क गर्न प्रयास गरिरहेको पनि त हुनसक्छ । कतिपय अवस्थामा मानिसहरूले हजारपल्ट फोन गर्ने प्रयास गर्छन् र फोन नै लाग्दैन । मैले यो आफैंलाई सान्त्वना दिनलाई कल्पना गरेको कुरा पनि त होइन । त्यस्तो वास्तवमै हुन सक्छ । हे परमेश्वर, तिमीलाई पनि थाहा छ नि फोन नलाग्न सक्छ भनेर । हे परमेश्वर, मलाई यो टेलिफोनबाट टाढा लैजाऊ । मलाई कतै दूर लैजाऊ । अलिकति भएपनि मभित्रको स्वाभिमानलाई जोगाइराख । भगवान, मलाई लाग्छ कि मलाई भविष्यमा त्यसको खाँचो पर्नेछ । सायद मसँग त्यही स्वाभिमान मात्र बाँकी रहनेछ ।

उसँग बोल्न नपाउँदा एकछिन अडिन नसकिरहेको मलाई जाबो स्वाभिमानले के नै महत्व राख्छ र ? यस्तो खालको स्वाभिमान एकदमै मूर्खतापूर्ण र बहुलापन मात्र हो । साँचो स्वाभिमान, महान् स्वाभिमान त स्वाभिमान नै नहुनु हो । मैले यो यसकारण मात्र भनेको हैन कि म उसलाई फोन गर्न चाहन्छु । किमार्थ होइन । यही सत्य हो। मलाई थाहा छ यही नै सत्य हो । म यस्ता ससाना स्वाभिमानहरूबाट माथि उठ्नेछु ।

विन्ती परमेश्वर, उसलाई फोन गर्नबाट मलाई रोक । विन्ती, परमेश्वर !

मलाई थाहा छैन यसमा स्वाभिमानको के सम्बन्ध छ । यो त एउटा सानो कुरा न हो । यसमा स्वाभिमानको कुरा ल्याउनुपर्ने र यत्रो कोकोहोलो मच्चाउनुपर्ने के नै जरुरत छ र ? कतै मैले नै उसलाई बुझ्नमा गल्ति गरें कि? सायद उसले मलाई नै पो ५ बजे फोन गर्न भनेको थियो कि?‘प्रियतमा, मलाई ५ बजे फोन गर”। उसले यो भनेको पनि त हुनसक्छ नि । मैले उसले भनेको राम्ररी नसुनेको हुनसक्ने पनि उत्तिकै प्रबल सम्भावना छ । ‘प्रियतमा, मलाई ५ बजे फोन गर’, म अब पूरै विश्वस्थ छु कि उसले यही नै भनेको थियो । हे परमेश्वर, मलाई यसरी एक्लै आफैंसँग बोल्ने नबनाऊ । सत्य कुरा के हो मलाई अवगत गराऊ । विन्ती ! मलाई सही बाटो देखाऊ ।

अब म अरु नै केही कुरा सोच्छु । बरु म चुपचाप बस्छु । यदि म स्थिर भएर बस्न सकेकी भए पक्कै पनि बस्थें । बरु म केही पढ्छु । तर संसारका सबै किताबहरू यस्ता मान्छेहरूको बारेमा लेखिएका छन् जो एक अर्कालाई साँचो र इमान्दारीका साथ प्रेम गर्छन् । किन उनीहरू त्यस्तो किताब लेख्छन् होला ? के उनीहरूलाई थाहा छैन कि त्यो सत्य होइन ? के उनीहरूलाई थाहा छैन कि त्यो झूट हो, महाझूट हो? उनीहरूलाई मायामा यतिविध्न पीडा छ भन्ने थाहा हुँदाहुँदै किन त्यस्तो भन्नुपर्यो ? महापाप लागोस् तिनीहरूलाई । मरुन् तिनीहरू ।

म अब शान्त भएर बस्छु । यसमा यस्तो उत्साहित हुनुपर्ने केही कुरा छैन । मानौं कि ऊ मसँग सामान्य चिनजान मात्र भएको कोही व्यक्ति थियो । त्यतिबेला मैले उसलाई एक कल फोन लगाउँथें र सीधै भन्थें, ‘ए, तिमीलाई के भयो हँ ?’ मैले फटाफट त्यही गर्थें र त्यसबारे कहिले केही सोच्दैनथें । म किन उसँग अरुसँग जस्तो सामान्य हुन सक्दिन ? यत्ति कारणले गर्दा कि म उसलाई प्रेम गर्छु ? अब भने म सामान्य बन्छु । साँच्चै म सामान्य बन्न सक्छु । अब म उसलाई फोन गर्छु र निकै सहजताका साथ सरल र रमाइलो व्यवहार गर्छु । तिमी हेर्दौ जाऊ, म कसरी त्यसो गर्छु, भगवान । ओहो, म यो के गर्न लाग्दैछु ? विन्ती छ परमेश्वर, मलाई उसलाई फोन गर्ने नबनाऊ । कुनै पनि हालतमा मलाई फोन गर्न नलगाऊ ।

हे परमेश्वर, तिमी वास्तवमै उसलाई मलाई फोन गर्न लगाउँदैनौ ? के तिमी यसमा दृढ छौ, भगवान ? के तिमी एकपल्टलाई आफ्नो निर्यणबाट पछाडि हट्न सक्दैनौ ? सक्दै सक्दैनौ ? बरु म तिमीलाई अहिल्यै उसलाई फोन गर्न लगाऊ पनि भन्दिनँ । हे परमेश्वर, एकछिनपछि फोन गर्न लगाए नि हुन्छ । म ५ पल्ट ५ समयसम्मको गिन्ती गर्छु । म एकदमै विस्तारै र झेली नगरिकन गिन्ती गर्छु । यदि त्यतिबेलासम्म पनि उसले मलाई फोन गरेन भने म आफैं उसलाई फोन गर्छु । म आफैं गर्छु । हे परमेश्वर, हे संसारका मालिक, हे प्रिय दयालु भगवान, हे मेरा स्वर्गका परमपिता, त्योभन्दा अगाडि उसलाईनै फोन गर्ने सद्बुद्धि देऊ । विन्ती गर्छु परमेश्वर, विन्ती गर्छु !

५, १०, १५, २०, २५, ३०, ३५…..

०००

०००

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्