Logo

रहरको टिभी



कविता श्रेष्ठ

तिजको रमझमले मलाई मेरो घरमा आएको पहिलो टिभीको याद दिलाउँछ । कुरा हो- आज भन्दा करिब दश, बाह्र वर्ष अगाडिको । टेलिभिजनको चहलपहल त्यो बेला थोरै घरहरूमा मात्र हुन्थ्यो । त्यो पनि ब्ल्याक एन्ड ह्वाइट । त्यो समयमा मुस्किलले घरघरमा बिजुली पुगेको थियो । आफ्नै घरमा हामीले मिटर राखिसकेका थिएनौ । अरूकै घरबाट बिजुलीको लाइन तानेर ल्याउनुपथ्यो । गाउँघरको प्राय घरहरूमा जस्तो हाम्रोमा पनि टिभी थिएन । तर टिभी हेर्ने सोख औधी थियो । आफ्नो घरमा नभए पनि अलि पर छिमेकीको घरमा गएर भए पनि त्यो बेलाको नयाँ नेपाली फिल्महरू हेर्न छुटाएनौं ।

स्कुलबाट आएपछि प्रायः काम जङ्गलमा बाख्रा चराउने हुन्थ्यो । दिनभरि जङ्गलमा बाख्रासँग कुद्दाकुद्दै लागेको थकान बेलुका छिमेकीको घरमा फिल्म हेरेर मेटाउने गरिन्थ्यो । त्यो पल्लो घरको दाइ काठमाडौंमा बस्नुहुन्थ्यो । त्यो बेला कस्तो न हुन्छ होला काठमाडौं जस्तो लाग्थ्यो । ठुलै मान्छे हो कि जस्तो लाग्थ्यो । काठ्माण्डैबाट ठुलठुला फिल्मका पोस्टरहरू ल्याएर घरको भित्तामा टाँस्नुहुन्थ्यो । साँझ परिसके पछि त्यो घर सानोतिनो फिल्म हल जस्तै लाग्थ्यो । कहिलेकाहीँ त फिल्म सक्किदा रातको नौ दश नै बजिसक्थ्यो । थुप्रै समय भैसकेको थियो त्यसरी नै टिभी हेर्ने गरेका थियौ । अरू सब त ठिकै थियो तर समस्या कहाँ थियो भने त्यो अर्काको घर थियो । टिभी अर्कोको थियो । उनीहरू खाटमा बसेर हेर्थे, हामी भुईंमा बस्नु पथ्र्याे । बालक मन, उनीहरूले जस्तै हामीलाई पनि ओछ्यानमा पल्टिएर टिभी हेर्नु थियो । एक्लै बसेर हेर्नु थियो । आफ्नो मनपर्ने फिल्म मात्र हेर्नु थियो ।

समय एकनास रहँदैन थियो । कहिलेकाहीँ ठुलो मान्छेहरूमा झगडा पर्दा हामी सानाहरूको टिभी हेर्ने दिनचर्या बिग्रने गर्थ्यो । आफ्नै घरमा टिभी भएको भए कति राम्रो हुन्थ्यो होला सोच्नु सिवाय केही थिएन हाम्रो हातमा । त्यो बेला साँच्चै बालापन थियो हाम्रो । म लगायत मेरो भाइहरू र साथीहरू । त्यसपछि गाउँमा केवललाईन जडान भयो । टिभीलाई नयाँ अवतार मिले जस्तो भयो ।

अब टिभीमा चक्काको फिल्म मात्र होइन अनेकै च्यालनहरु बज्न थाल्यो । अब त गीतहरू पनि नयाँ नयाँ गुञ्जिन थाल्यो । गीत सुन्नेको लागि मात्र पनि चक्का लगाउनु पर्ने अवस्था आएन । अब त समाचार हेर्नको लागि घरको छानामा गएर एन्टेना समाएर बस्नु नपर्ने भयो । निर्धक्क हेर्न पाइने भयो । मेरो बाबा पनि विदेशमा हुनुहुन्थयो । टिभी किन्नै नसक्ने त हैसियत थिएन तर किन किनेको थिएन टिभी आज सम्म थाहा भएन । सायद हाम्रो पढाई बिग्रिन्छ भनेर होला । घरमै टिभी भएपछि केटाकेटीले कामै गर्न मान्दैनन् भनेर नि होला । के के थियो कारण ठुला मान्छेले नै सोचे होलान् ।

नयाँ वर्ष सक्किए पछि असारको चलखेल सुरु भयो । मानो रोपेर मुरी फलाउने चाड । त्यस पछि साउने झरी साथमा तिजको सुरुवात । केवललाईनले गाउँ कब्जा गरे देखि जे पनि समय भन्दा पहिले नै पाइन्थ्यो र तिज पनि एक महिना अघिदेखि नै आउँथ्यो । साउनमा हरियो चुरा, मेहन्दी तिजको सुरुवात हो । घरआँगनीमा तिजले निम्तो दिन आँटेको थियो । फ्याट्टफुट्ट तिज गीतहरू धन्किन थालेको थियो । मनै लोभ्याउने गरी । तिज गीत अरू गीतहरू भन्दा फरकै लाग्थ्यो । किन कि त्यसको लय भाका सङ्गीतमा चेलीहरूको वेदना हुन्थ्यो । र त्यो केवल वर्षको एक पटक आउँथ्यो । सायद त्यही भएर खास थियो । अरू समयमा तिज गीत सुन्यो भने त जिस्काइन्छ । त्यही भएर त होला सबैको दिन आउँछ भनेको ।

टिभी कै निहुँमा एक दिन त टिभी धनीको छोरासँग झगडा नै प¥यो मेरो । उनीहरू टिभी हेर्न दिन्छु भन्दै घरको सानोतिनो कामहरू लगाउँथे बच्चाहरूलाई, जुन मेरो समझको बाहिर थियो । अति थियो त्यो सब । जाबो टिभी हेर्न पनि कसैको काम गर्दिनु पर्ने । हामीले हेरेर टिभी घट्ने त थिएन । न उसको टिभी चलाई दिन्थ्यौ । केही समस्या हुन्थ्यो होला तर राम्रो सँग म्यानेज गर्नु पर्छ नि । त्यस पछि चाहिँ एकदमै रहर लाग्यो आफ्नै घरमा टिभी ल्याउने । अनि त्यही तिजको मौका छोपेर दिदीभाई मिलेर ममीलाई फकाउन थाल्यौँ ।

‘ममी ! तिजको गीत बजाउनु पर्छ ठुल्लो आवाजमा टिभी किनौंन’ भनेर । सायद तिजको गीत हेर्न भनेर होला या ममीलाई पनि अरूको घर धाउनु परेकोले होला ममीले हाम्रो कुरा मान्नु भयो । त्यसपछि के चाहिन्थ्यो र ? हामीले चौध इन्चको कलर टिभी ल्यायौ । त्यो टोलमै कलर टिभी पहिलो हाम्रो भयो । गाउँमा हिँड्ने सानै छुट्टै भयो । केटाकेटी न परियो संसार जिते जस्तो लाग्यो । पहिले उता जम्मा हुने टोली अब हाम्रो घरमा हुन थाल्यो । कलर टिभी पो हो त । सब थोक रङ्गिन हाम्रो सपना जस्तै । त्यस लगतै केबुलको तार पनि जोड्यौ । तिजको अघिल्लो दिनबाटै हाम्रो घरमा पनि टिभी आयो । अनि तिजका गीतहरू बजाएर मज्जाले नाच्यौ । तिजको रहर आयो बरी लै ….भन्दा पनि टिभीको रहर पुरा भएकोमा हामी खुसी थियौ । त्यो सब रहरहरू पुरा गर्यौं, जुन अरूको घरमा टिभी हेर्दा सोच्ने गर्थिम् ।

त्यस पछि उनीहरूको त्यो हल बिस्तारै सुक्न थाल्यो । हुँदाहुँदै केही वर्ष पछि बाबा पनि विदेशबाट आउनु भयो । बाबाले झन् ठुलो टिभी ल्याउनु भएको थियो । साथमा डिभिडी पनि तर त्यो बेला सम्म प्रायको घरमा टिभी भित्री सकेको थियो । साथमा डिस होम पनि । केवलमै सीमित कोही बस्न सकेनन् । सबैलाई नयाँ चाहिएको थियो र धेरै चाहिएको थियो । त्यो पुरानो टिभी कसैलाई दियौ सायद । घरमा अहिले पनि त्यही नयाँ टिभी छ । र त्यही डिसहोम । अब त पुरानो भयो । बदलिएको छ त केवल रिमोट चलाउने हातहरू । पहिला त्यो कोठा सानो हुन्थियो । मान्छे नअटेर तर आज त्यही कोठा पुरै खाली छ । टिभी हेर्न मान्छे नभएर । हामीहरू ठुला भयौ । चाहेर पनि घरको चार कोठामा अटाउन सकेनौ र बसेर पनि के गथ्यौ र ? पखेटा अलि दह्रो भए पछि उड्नै पर्यो । सानै देखी त्यही सिकियो । ठुलो हुनुकै प्रतीक्षा हुन्थ्यो ।

हिजोलाई फर्किएर हेर्दा लाग्दैन धेरै दिन बित्यो तर हामी हिजो भन्दा धेरै अगाडि आइसकेछौ । हिजो एउटा टिभीले जुन खुसी दिन्थ्यो आज दिँदैन । आज सबको हातमा स्मार्ट फोन छ र मान्छे त्यो भन्दा नि स्मार्ट । आज सामाजिक सञ्जालमा मान्छेहरू यसरी जेल्लीएका छन् कि छिमेकीको बाख्रा हराएको कुरा पनि फेसबुकबाट थाहा पाउँछन् । जन्म मृत्यु विवाह सबै फेसबुकमै मनाउँछन् । अबको बच्चालाई त्यो पहिलो टिभी किन्दाको खुसी कहाँ छ र ? उनीहरू त स्मार्टफोन कै साथमा जन्मिन्छन् ।

त्यही भएर तिज आउँदा त्यो दिनको पनि याद आउँछ । हाम्रो पहिलो रहरको टिभी । तिजका गीतहरू बज्दा, स्पेशल तिजकै गीत हेर्न ल्याएको त्यो टिभी मेरो मानसपटलमा घुमिरहन्छन् ।

०००

०००

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्