Logo

संयोग गुरागाई सँग रङ्गमञ्चका कुरा



इलामका संयोग गुरागाई बुवा झलेन्द्र प्रसाद गुरागाई र आमा सरस्वती गुरागाईका जेठो सन्तान हुन् । हाल उनी काठमाडौँमा बसेर नाट्य क्षेत्रमा व्यस्त छन् । साथसाथै उनी विभिन्न वेब सिरिजहरूमा समेत अभिनय गर्दै आइरहेका छन् । उनको पहिलो वेब सिरिज ‘हाम्रो हाइ स्कुल’ थियो । त्यसपछि उनले ‘ट्वान्टी फर्स्ट लभ’ नामक सिरिजबाट निकै चर्चा कमाए । भर्खरै उनको ‘ट्वान्टी फर्स्ट लभ’ को दोस्रो पार्टको ट्रेलर युट्युबमा सार्वजनिक भएको छ ।

उनले मितज्यू, माथा पन्चर, बैतर्नी क्याफे, सरजमिन, मेटासिड, आन्दोलन, जिरो जिरो जेड, एन्ना इन द ट्रोपिक्स, जस्ता विभिन्न नाटकहरूमा अभिनय गरेका छन् । भर्खरै उनले निर्देशन गरेको नाटक ‘मैनदानी’ मण्डला नाटकघरमा चलेको थियो । उनै संयोग गुरागाइ सँग सल्लेरी खबरको साप्ताहिक विशेषांक सल्लेरी कोलाजको लागि अन्शु खनालले गरेको कुराकानीः

अहिलेसम्म कतिवटा नाटकमा काम गर्नुभयो ? नाटक गर्दागर्दै एक्कासि निर्देशनको चाहना कसरी ?

अहिलेसम्म करिब १७-१८ वटा नाटकमा काम गरें । खासमा यो नाटक मेरो दोस्रो निर्देशन हो, मैले धेरै पहिले कलेज थिएटर फेस्टिभलमा एउटा नाटक आफै लेखेर निर्देशन पनि गरेको थिए । काम गर्दै जाँदा साथी सर्कल पनि बढ्दै गयो । हामी सधैँ व्याकअपमा बसेर आनन्दले काम गरिरहेका थियौँ । कहिले नयाँ स्क्रिप्ट, कहिले फिल्म यस्तै कुराहरूमाथि छलफल गर्दा गर्दै, एक दिन सबैले हामी पनि अब एउटा नाटक गरौँ भन्ने भयो, स्क्रिप्ट खोजौँ भन्ने कुरा सुरु भयो ।

खासमा म थिएटरलाई एक्सपेरिमेन्ट मान्छु ।

हरेक नाटक मेरो लागि एक्सपेरिमेन्ट नै हो, सिकाइ नै हो ।

मसँग करिब पाँच वटा नाटक थिए । तर फ्रेम तयार भएको ‘मैनदानी’ थियो । मैले साथीहरूलाई स्क्रिप्ट देखाए, स्क्रिप्टमाथि कुरा हुँदै जाँदा निर्देशन कसले गर्ने भन्ने कुरा आयो । सबै साथीहरूले स्क्रिप्ट मैले लेखेको कारणले निर्देशन पनि मलाई नै गर्न भने । मलाई पनि कोसिस गरौँ जस्तो लाग्यो । खासमा म थिएटरलाई एक्सपेरिमेन्ट मान्छु ।हरेक नाटक मेरो लागि एक्सपेरिमेन्ट नै हो, सिकाइ नै हो । सफल हुने नहुने आफ्नो ठाउँमा थियो तैपनि म निर्देशन गर्न तयार भएँ ।

अनि अर्को पाटोबाट हेर्दा मलाई लाग्यो हामी अब आत्मनिर्भर पनि हुनुपर्छ । हरेक पटक गुरुहरूले बोलाउनु हुन्छ, अनि हामी जान्छौँ । अब हामी आफू पनि केही गरौँ भन्ने लाग्यो । सबै कुरामा पोख्त नभए पनि हाम्रो कमी-कमजोरी चिन्नलाई पनि एक्सपेरिमेन्ट त गर्नै पर्‍यो नि !

तपाईहरुले सोचेजस्तै ‘मैनदानी’ले दर्शकको मन जित्यो त ? दर्शकको प्रतिक्रिया कस्तो आयो ?

हरेक नाटक गर्नुको एउटा उद्देश्य हुन्छ । नाटक राम्रो होस्, नराम्रो होस्, गाली नै खाए पनि केही भएन । मान्छेले वाह भनोस्, त्यो हाम्रो उद्देश्य होइन । तर नाटक हेरिसकेपछि सय जना दर्शकमध्ये दुई या तिन जनाले मात्रै भए पनि नाटक बुझे भने हाम्रो उद्देश्य पुरा हुन्थ्यो भन्ने हो । नाटक गर्दै गर्दा दर्शकहरूबाट सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आयो । नकारात्मक प्रतिक्रियाले हामीलाई हाम्रो कमी कमजोरी थाहा भयो । सकारात्मक प्रतिक्रिया पनि हामीले आशा गरेको र उहाँहरुले भन्नुभएको एउटै थियो ।

थिएटर सँगै वेब सिरिज पनि गरिरहनु भएको छ, कुन सहज ?

वास्तवमा सजिलो त कुनै पनि छैन । के काम गर्दा आफूलाई जाँगर आउँछ, के गर्दा जोस आउँछ, के गर्दा अलि धेरै भिज्न पाइन्छ त्यो कुरामा त्यही सहज हुने हो । सिरिज नाटक भन्दा अलि धेरै टेक्निकल कुरा हो ।

थिएटर गर्दा दर्शकहरू ऐना हुन्छन् ।

वेब सिरिजमा चाहिँ तत्कालै आफूलाई देख्न पाइन्छ ।

हुन त जति मेहनत हामी नाटकमा गर्छौ, त्यति सिरिजमा गर्दैनौँ । मेहनत, आउटपुटको हिसाबले चाहिँ थिएटरमा नै रमाइलो हुन्छ। वेब सिरिजमा काम गर्दा चाहिँ आफूले आफूलाई देख्न पाइन्छ । थिएटर गर्दा दर्शकहरू ऐना हुन्छन् । वेब सिरिजमा चाहिँ तत्कालै आफूलाई देख्न पाइन्छ।

एक्टिङको चाहना कहिलेदेखि आयो ?

म आफैलाई कहिलेकाहीँ कहाँबाट यहाँ आइपुगे जस्तो लाग्छ ।

स्कुल पढ्दा डान्स क्लास जोइन गरेको थिए । एक दिन गुरुले एक दिन सडक नाटक गर्छौ भनेर सोध्नु भो । मैले सिकेको थिइनँ । गुरुलाई हजुरले सिकाउनु हुन्छ भने गर्छु भनें । गुरुले साधारण कुराहरू सिकाइ दिनुभयो । सडक नाटक गर्दै गर्दा डान्स र नाटक दुवैको विकास हुँदै गयो । मैले स्कुल पढ्दा देखि, चार पाँच वर्षको समयमा करिब तिन सय भन्दा बढी सडक र स्टेज नाटक गरेछु । त्यसपछि म काठमाडौँ फेसन डिजाइनिङ पढ्न आएको थिए । जुन दिनदेखि म काठमाडौँ बस्न थालें, त्यही दिन मलाई एक जना दाइले नाटक हेर्न लिएर जानु’भो । त्यसकै भोलिपल्ट देखि मैले मण्डलामा नाटकको क्लास जोइन गरें । अनि मेरो रङ्गमञ्चको यात्रा सुरु भयो ।

फेसन डिजाइन पढ्छु भनेर सोचिसकेको मान्छेलाई डिजाइन गर्न, चित्र बनाउन पनि आउँथ्यो ?

मलाई चित्र बनाउन मन लाग्थ्यो । अझै पनि म कहिलेकाहीँ फुर्सद भयो भने केही डिजाइनहरू बनाएर, यसलाई के गर्न सकिन्छ भनेर हेरिरहन्छु । आजकल आफ्नो लागि मात्रै बनाउँछु । अब डिजाइन गर्न सिक्छु, फेरि पढ्छु भन्ने चाहिँ छैन तर पनि कहिलेकाहीँ कोर्दा आनन्द आउँछ ।

नेपालमा हिन्दी, अङ्ग्रेजी वेब सिरिजको तुलनामा नेपाली वेब सिरिज कम हेरिन्छ, गुणस्तरीय मानिँदैन । किन होला ?

म आफै वेब सिरिज गरिरहेछु । म आफैले एक्टिङ गरेको वेब सिरिजमा पनि खोट लगाउँछु । कि सिरिजमा हुनुपर्ने मापदण्डमा सिरिज छैन । वेब सिरिजमा त काम नै भएको छैन जस्तो लाग्छ । नेपालमा सिरिजको मापदण्ड यो भन्ने नै छैन । मैले काम गरेको सिरिजको मेकरहरु भन्नुहुन्छ कि- नेपालमा वेब सिरिज हामीले सुरु गरेको हो ।

मलाई चाहिँ यसमा एउटा कुरा सधैँ नमिठो लाग्छ । त्यो के भने सिरिज लेख्दा लेखकले मापदण्डमा बसेर लेख्नुपर्छ । जस्तो फिल्मको एउटा मापदण्ड हुन्छ, नाटकको अर्को हुन्छ । अनि सिरिजको पनि मापदण्ड त अवश्य हुन्छ । जुन चिज मापदण्ड अनुसार लेखिएको छैन, त्यो चिज सिरिज हो भन्ने पक्का छँदै छैन । यसरी हामीले यो सिरिज हो भनेर दर्शकलाई देखाइरहँदा सिरिजको अर्थ चाहिँ गलत जान्छ । यही कारणले पनि वेब सिरिज चाहिँ गुणस्तरीय नभएको हो ।

थिएटर र फिल्म दुबैमा काम गर्ने मान्छे मिलेर काम गर्दा कस्तो हुन्छ ?

फिल्म होस् या थिएटर दुबैमा गर्ने एक्टिङ नै हो । फिल्म र नाटकमा काम गर्नेहरू मिलेर काम गर्दा काम गर्ने तरिका फरक हुन्छ । फिल्म जति नाटक टेक्निकल हुँदैन तर पनि दुवै क्षेत्रमा काम गर्नेहरू मिलेर काम गर्दा दुवै क्षेत्रको विकास हुन्छ जस्तो लाग्छ ।

अहिले पछिल्लोसमय एकै स्वादका कथाहरूमा नाटकहरू बढी चलिरहँदा अरू नाटकलाई कस्तो असर परिरहेको छ ?

नाटकका प्राय: दर्शक एउटै हुन्छन् । प्राय नियमित दर्शकहरूलाई नाटक हेर्नु मात्रै सरोकार हुन्छ । अर्को एउटा दर्शक हुन्छ, जस्तो मैले ‘मैनदानी’ गरिरहँदा मलाई वेब सिरिजबाट चिनेर एकदमै नयाँ अनुहार नाटक हेर्न आए । तर त्यसमध्ये केहीको उद्देश्य नाटक हेर्नुभन्दा नि मलाई भेटेर फोटो खिच्नु थियो ।

थिएटरमा हाम्रो चाहना नयाँ दर्शक ल्याउने हुन्छ । तर एउटाको नाटकले गर्दा अर्कोको नाटकमा दर्शक कम हुने, एउटा नाटक आउँदा अर्कोको नहेर्दिने । त्यस्तो चाहिँ हुँदैन होला, त्यस्तो भयो भने थिएटर बायस्ड हुन्छ । हरेक थिएटरसँग एउटा टेस्टको दर्शक हुन्छ । हरेक फरक फरक नाटकमा फरक फरक टेस्ट आउनै पर्छ । त्यो टेस्ट फिल गर्न दर्शकले नाटक हेर्ने पर्छ ।

तपाईंको मन पर्ने एक्टर ?
म शाहरुख खानको एकदमै ठुलो फ्यान हुँ । शाहिद कपुर पनि निक्कै मन पर्छ मलाई ।

अब अन्तिममा तपाइको आउँदै गरेको वेब सिरिज ‘ट्वान्टी फर्स्ट लभ’को दोस्रो भागको बारेमा केही भन्न चाहनु हुन्छ ?

सिरिज आउँदै छ, स्टोरी फरक छ । पुराना कथालाई हामीले चलाएको छैनौँ । कथा, कन्सेप्ट अनि एक्टरहरु पनि नयाँ छन् । हेर्नुहोला, प्रतिक्रिया दिनुहोला ।

०००

०००

कविता, कथा तथा सृजनात्मक लेखनमा सक्रिय गोर्खाकी अन्शु खनाल मनोविज्ञानकी विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्