Logo

पाइलैपिच्छे छुवाछूत, दुख सहेर बस्न विवश



Spread the love

२५ साउन, काठमाडाैँ 

एक

सिरहा नगरपालिका १९ सन्हैठा गाउँका ५० वर्षीय रामनाथ मल्लिक (डोम) बिहीबार बिहान नजिकैको चोकमा चिया खान गए । उनले चिया मागे । पसलेले उनलाई अरू सेवाग्राहीसँगै बेन्चमा बस्न दिएनन् । चिया प्लास्टिक कपमा दिए । रामनाथ भुइँमै बसेर चिया खाएर घर फर्के । त्यही पसलमा अन्य दलित समुदायलाई सिसा ग्लासमा चिया दिइन्छ । बेन्चमै बस्न दिइन्छ । तर, डोमले बस्न र प्लास्टिक ग्लासमा पाउँदैनन् ।

दुई

अर्नामा गाउँपालिका–५ कृष्णपुरका सुनिता र उदगार मल्लिकका छोराछोरी कृष्ण, अर्जनु र रिमा घरनजिकैको श्री आधारभूत विद्यालयमा पढ्छन् । विद्यालयमा खाजा अरुसँगै खुवाइँदैन । प्लटे बेग्लै छ । उनीहरु सधैं एउटै प्लटेमा खान्छन् । त्यहाँ डोमबाहेक दलित र गैरदलितका छोराछोरी खाजा सँगै खान्छन् । एकअर्कोले खाएको प्लेटमा अर्को दिन खाजा खान्छन् । अचेल सुनिता र उदगार बेग्लै खाजा खुवाए पढ्नै नजाने भन्न थालेका छन् ।

तीन

लहान नगरपालिका–१० की मीना मल्लिकलाई साउन १ गते छिमेकीले कुटपिट गरे । निहुँ थियो सुँगुरले भाँडो छोएको । पाँच दिन अस्पतालमा बसेपछि उनी निवेदन लिएर प्रहरी चौकी पुगिन् । चौकीले मिलापत्र गर्न भन्यो । उनी निराश भएर घर फर्किन् । उनलाई उपचार खर्चबापत २५ सय रुपैयाँ दिएर घटना सामसुम पारियो ।

डोम समुदायमा दिनहुँ यस्ता घटना भइरहेका छन् । उनीहरू घरबाहिर पाइला टेक्नेबित्तिकै भेदभाव र छुवाछुत भोग्न बाध्य छन् । देशमा कानुन, व्यवस्था र सत्ता बदलिए पनि उनीहरूको पीडा बदलिएको छैन ।

विद्यालय, होटल, मठमन्दिर, गाउँघरमा उनीहरू दुःख सहेर बस्न विवश छन् ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु यादवले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्