Logo

यदि तपाईको सोच ठुलो छ भने ढुक्क हुनुस् उमेरले कुनै असर गर्दैन



Spread the love

सलमान खान हिन्दी चलचित्र हेर्नेहरूको लागि विश्वभर चर्चित नाम हो । अझ भनौँ हाम्रो देश नेपालमा धेरै दर्शकमाझ उनी निकै लोकप्रिय छन् । उनका चलचित्रहरू सबैभन्दा पहिले हाउस फुल हुन्छन् । राम्रै बजार पिट्छन्- उनका फिल्मले । एक थरी उनलाई लिएर भगवानै मान्ने पनि छन् । जो उनलाई लिएर बहस गर्न या नराम्रो भनेमा झगडै गर्न पनि पछि हट्दैनन् । अर्को थरीले भने उनका प्राय फिल्मलाई त्यति गतिला मान्दैनन् । तर जे होस, धरैले उनलाई एकदम राम्रो अभिनय गर्ने कलाकार नमाने पनि उनको स्टारडमलाई भने नकार्न सक्दैनन् । करिब २५ वर्ष भन्दा बढी बलिउडमा आफ्नो दबदबा जमाइरहेका उनी अहिले उमेरले ५३ वर्ष पुगिसकेका छन् । हुनसक्छ, यो समय उनी करियरको उच्च अवस्थाबाट गुज्रिरहेका छन् ।

आफ्नो लामो करियरको दौरान उनले ‘तेरे नाम’ जस्तो प्रेम कथा पनि खेले र ‘दबंग’, ‘टाइगर जिन्दा है’ जस्ता एक्सन फिल्म पनि । ‘बजरंगी भाइजान’ मा बजरंगी जस्तो कोमल, दयालु मन भएको चरित्र पनि निभाए र सँगै ‘क्यु कि’ फिल्ममा एक पागलको अभिनय पनि । ‘अन्दाज अपना अपना’ जस्तो कमेडी फिल्म देखि ‘बाघवन’ जस्तो सिरियस फिल्ममा उनलाई हेर्न पाइयो । उनको फिल्मोग्राफी हेर्दा करिब ९० को हाराहारीमा फिल्म सङ्ख्या पुगिसकेका छन् । ती मध्यका उनका धेरै फिल्मी दृश्यहरू आईकोनिक रहिसकेका छन् । डाईहार्ड हुन् या नहुन्, फ्यानहरू माझ उनले बोल्ने डायलग, डान्सका सिम्पल स्टेपहरु पनि निकै चर्चित छन् । समग्रमा भन्नु पर्दा उनी चलचित्रमा कपडा लगाए पनि हिट छन्, नलगाए पनि हिट छन् ।

धेरै लामो फिल्मी करियरमा उनले धेरै अप्स-डाउन सबै देखे, भोगे । ती अनुभवहरूले नै उनलाई अहिलेको सलमान खान बनाएको हो । तीनै सलमान खानसँग फिल्मफेयरका लागि अश्विनी देशमुखले उनको अनुभव, बदल्दो समय, बदल्दो ट्रेन्ड र आगामी योजना सम्बन्धी लामै अन्तर्वार्ता लिएकी थिइन् । सल्लेरी कोलाजका लागि भावानुदित उक्त वार्तालापको सम्पादित अंश:

कुनै दिन स्टारडम उस्तै रहने छैन भन्ने कुराको डर मान्नुहुन्छ ?

बिस्तारै स्टारडम हराउँदै जाने वाला छ । यसलाई लामो समयसम्म बचाई राख्नु एकदमै गाह्रो कार्य हो । मलाई लाग्छ, शाहरुख (खान), आमिर (खान), अक्की (अक्षय कुमार), अजय (देवगण)… हामी मात्र छौँ, जसले यति लामो समयसम्म यो कायम गरिरहेका छौँ । यसलाई अरू केही वर्ष बचाई राख्न हामी हाम्रो बेस्ट दिने प्रयास गर्ने छौँ । र त्यसपछि अरू सुपरस्टार झैँ कुनै दिन हाम्रो बक्स अफिस ८ देखि १० % मा झर्नेछ । तर अहिले नै भने हैन है ।

के त्यसको लागि तपाईँ तयार हुनुहुन्छ ?

एकदम । तर अझ धेरै समय नै छ (मन्द मुस्कान सहित) ।

एक पटक भन्नु भएको थियो कि आफूलाई २७ को महसुस गर्नुपर्छ, चाहे जतिसुकै तपाईँको उमेर होस् !

तपाईँले जे गर्नुहुन्छ त्यसमा ऊर्जा र इच्छाशक्ति दुवै देखाउनु पर्छ । नत्र भने गर्दै नगर्नुहोस् । जति बेला तपाईँले काममा जाँगर मान्न छोड्नुहुन्छ, त्यति बेला बुढ्यौली पन तपाईँको शरीर भित्र पस्छ । र, सबै शरीरलाई गाँज्छ । त्यसैले त्यो बुढ्यौलीपन छिर्ने कुनै पनि ढोका खुला राख्नुहुँदैन ।

के तपाईँलाई बढ्दो उमेर देखि डर लागेको हो ?

बढ्दो उमेर देखि सबैलाई डर लाग्छ । तपाईँले त्यसको लागि एकदम मेहनत गर्नुपर्छ । आफ्नो उत्कृष्ट दिन सक्नुपर्छ । पहिले भन्दा झन् नियमित रहनुपर्छ । हरेक दिन झ्याउ लाग्दो नियमिततालाई ध्यान दिनुपर्छ । अनिल कपुर या अमिताभ बच्चनलाई हेर्नुहोस्, उमेर अनुसार त्यति बुढो देख्दिन म । सन्जु (सञ्जय दत्त) लाई हेर्नुहोस् त, उनले भर्खरै तौल घटाए र सुगठित देखिन्छन् । तर पनि हामी सबैले केही न केही शारीरिक समस्या भोगिरहेका छौँ । कसैको घुँडामा समस्या छ, कसैको काँधमा, कसैको घाँटीमा । बिहान उठ्दा सबै शरीरमा केही न केही किस्तामा लिएर उठ्छन् । तर हामी सचेत भने छौँ ।

एक्सन दृश्य सुट गर्दा कत्तिको दुख पाउनु भएको छ ?

एक्सन दृश्य गरिरहेकोले मेरो शरीर पनि बानी परिसकेको छ । तर यो एकदमै गाह्रो भने हुने गर्छ । किनभने हरेक दृश्य सुट गर्दा पाँच छ पटक रिहर्सल गर्नुपर्दछ । जसमा कति धेरै लडिन्छ उठिन्छ । ‘भारत’ फिल्म सकिए लगतै ‘दबंग ३’ आयो जो ‘एक्सन-थ्रिलर’ जनरा हो । जसमा हरेक दृश्यहरूमा यति धेरै ऊर्जा चाहिन्छ कि गर्दा गर्दै पनि मान्छे थाकेर गलिहाल्छ । त्यसले तपाईँलाई तन्दुरुस्त भने राख्छ तर चोटपटक चाहिँ लाग्न भएन ।

के यो उमेरमा पनि पहिले जस्तै ऊर्जाशील रहन सजिलो छ ?

छैन । यो सजिलो छैन । मेरा आफ्नै समस्या छन् । म त्यति धेरै सुत्दिन । यदि राति मैले पेन्टिङ गरिन या लेखिन भने, यदि चाँडै सुते भने, धेरै नै राम्रो हुन्थ्यो । सधैँ बिहान कफी पछि, एक एक भाग गरेर पुरै शरीर चलाउनै पर्छ । ऊर्जाशील रहन कहिले कार्डियो गर्छु, कहिले साइक्लिङ त कहिले अन्य व्यायाम पनि गर्छु ।

के अझै पनि कुनै चलचित्र रिलिजको बेला चिन्तित हुनहुन्छ ?

हुन्छु, यदि पहिलेका २-३ वटा चलचित्रले राम्रो गरेका छैनन् भने । तर अहिले ठिकै छ । तपाईँ भन्नुहोला, रेस ३ ले राम्रो व्यापार गरेन । तर यसले पनि बक्स अफिसमा औसत रूपमा १७० करोड प्लसको व्यापार गरेको थियो ।

तपाईँको बारेमा धेरैलाई थाहा नभएका कुरा ?

म त्यति धेरै सुत्दिन । हरेक रात करिब साढे दुई देखि तिन घण्टा मात्र सुत्छु । म पेन्टिङ गर्छु । लेख्छु । टेलिभिजन हेर्छु । विज्ञापन मात्र आइरहेको छ भने पनि म च्यानल चेन्ज गर्दिन । र कोही आएर चेन्ज गरेको पनि राम्रो लाग्दैन । लामो समयदेखि क्रिकेट चलिरहेको बेला छ भने हेर्दा हेर्दै बन्द गर्दिन्छु, म त्यति धेरै बुझ्दिन । बेला बेला दक्षिण भारतको च्यानल चलिरहेकै हुन्छ, चलिरहन्छ बन्द गरिहाल्दिन । आजकल वेब सेरिजहरु पनि राम्रो लाग्छन् ।

हालसालै तपाईँले हेर्नुभएको सो ?

‘गेम अफ थ्रोन्स’को चौथो सिजन हेरे । कामको कारण त्यहीँ रोकिएको छ । तर अब पुरै हेर्नेछु । मैले ‘भाइकिंग्स’ पुरै हेरेको छु । जुन एकदमै राम्रो लाग्यो । ‘ट्याबु’, ‘ऐरो’, ‘पीकी ब्लैंडर्स’… सबै हेरिसकेको छु । अब चाहिँ ‘मनी हिस्ट’ हेर्न मन छ ।

तपाईँले वेब सो निर्माण गर्ने कुरा पनि सुनिन्छ त ?

सायद, गर्न सक्छु । यो बारे हामी सोच्दै छौँ । केही साथीहरू हुनुहुन्छ जोसँग फिल्ममा काम गर्न सकिरहेका छैनौँ । उहाँहरूसँग हामी यस्तो सोमा काम गर्न सक्छौँ । मैले टेलिभिजन पनि सुरु गरेको छु , पैसा कमाउनको लागि भने हैन । टेलिभिजनमा अन्य धेरै भन्दा धेरै निर्माता र निर्देशक र कलाकारसँग काम गर्न पाइन्छ । हामी निर्माता मात्र भएकोले च्यानलले सबै कुराको जिम्मा लिन्छ । त्यस अनुसार नै हामी पनि चल्नु पर्ने हुन्छ ( मन्द मुस्कान ) ।

अभिनेताको रूपमा के तपाईँले ओटिटि पल्याटफर्ममा अभिनय बारे सोच्नु भएको छ ?

मलाई त्यस्तो प्रस्ताव आइरहेका हुन्छन् । तर त्यति सोचेको भने छैन । चलचित्र, टेलिभिजन र वेब तिन वटै सँगै धान्न निकै गाह्रो हुन्छ ? वर्षमा कम्तीमा दुईवटा फिल्म गर्न चाहन्छु । र त्यसको लागि कम्तीमा दिनमा दुईवटा सिफ्ट गर्नुपर्छ । तर कहिले पनि तपाईँले केही कुरा लाई त्यति धेरै सिरियस्ली सोच्नु हुँदैन । मेरो कामलाई पनि त्यसरी नसोच्नु होला । वास्तवमा म केही कुरा पनि त्यति धेरै सोचेर चिन्तित हुँदिन ।

एक पटक कट्रिनाले भन्नु भएको थियो कि उहाँले तपाईँको निडरपनको प्रशंसा गर्नुहुन्छ ।

ममा डर नै नभएको होइन । केही चिजहरू छन् जसलाई ध्यान दिन्छु । तर केहिँबारे त्यति सोच्दिन । त्यसको मतलब डर नै नभएको भने होइन ।

अझै केही सपना बाँकी छन् पुरा हुन ?

म सपना देख्ने त्यति समय पाउँदिन् । किनभने म धेरै सुत्दिनँ । (मन्द हाँसो )

प्रस्तुतीः लोकेन्द्र बुढा उर्फ मोहनबाबु

०००

०००

प्रतिक्रिया दिनुहोस्