Logo

भोजराजको ‘अन्तिम प्रश्न’ सार्वजनिक



Spread the love

काठमाडौँ : साहित्यकार भोजराज घिमिरेको कथासंग्रह ‘अन्तिम प्रश्न’ शनिबार काठमाडौँमा सार्वजनिक गरिएको छ ।

१६ वटा कथाहरु संगृहीत उक्त कृतिमाथि समालोचकद्वय उपप्राध्यापक डा. विन्दु शर्मा र उपप्राध्यापक महेश पौड्यालले टिप्पणी गरेका थिए । पुस्तकमाथि समीक्षा गर्दै समालोचक पौड्यालले घिमिरेका कथामा जीवनबोधी चेतना रहेको उल्लेख गरे । उनले अन्तिम प्रश्नभित्रका कथाले नेपाली समाज, जनजीवन र नेपाली मनोविज्ञान उद्घाटन गरेको बताए । पूर्वमुख्यसचिवसमेत रहेका घिमिरेका कथामा कथाकारका जागिरे जीवनका अनुभूति सूक्ष्म रुपमा आएका उल्लेख गरे । पौड्यालले विषय विविधता घिमिरेका कथाहरुमा रहेको भन्दै सरल र सहज अनि मर्यादित भाषाशैलीको प्रयोग भएको पनि बताए ।

यसरी नै अर्का समालोचक डा. विन्दु शर्माले अन्तिम प्रश्न कथाकृतिभित्रका कथाले समग्र नेपाली सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण गरेको बताइन् । डा. शर्माले पात्र चयनमा र परिवेश चित्रणमा कथाकार सफल भएका उल्लेख गरिन् । सन्दर्भ र परिवेशअनुसारका पात्रको चयन, उनीहरुको समाज र परिवेशअनुसारकै संवाद, कथाभित्रको द्वन्द्व, पात्रहरुबीचका परिघटनाहरु निकै परिपक्व रहेको धारणा राखिन् । सलल बगेका कथाले घिमिरेको कथालेखनको सरलता र सौम्यता पुष्टि गर्ने उनको भनाइ थियो ।

युवासमीक्षक घनेन्द्र ओझाले कवि, गीतकार, गजलकार हुँदै आख्यान लेखनमा प्रवेश गरेका घिमिरेका कथामा खास नेपाली माटोको, नेपाली संस्कृति र सभ्यताको अनि नेपाली भाषा र पनको स्वाद पाइने बताए । शिष्ट भाषा, सभ्य शैली र सरल प्रस्तुति कथाकार घिमिरेका कथामा पाइने ओझाको भनाइ थियो ।

पूर्वमुख्यसचिव कवि तथा गीतकार डा. विमल कोइरालाले सिर्जना कर्म अत्यन्त गाह्रो काम हुने धारणा राखे । जीवनको उत्तराद्र्धमा आएर विधाभञ्जन गर्नु चानचुने कुरा नभएको कोइरालाको भनाइ थियो । घिमिरेको पछिल्लो समयमा देखिएको लेखनप्रतिको ऊर्जा देख्दा आफूलाई खुसी र अचम्म दुवै लागेको कोइरालाले बताए ।

कथाकार घिमिरेले आफू लामो समयसम्म सेतो घोडाको नियति बाँचेको र कार्यव्यसनमा आफैँ पनि फसेको बताउँदै धेरैजसो कथा आफ्नै देखाइ, भोगाइ र अनुभूति भएको उल्लेख गरे । अब उपन्यास लेखनमा रुचि बढेको घिमिरेको भनाइ थियो ।

प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले घिमिरेको जागिरे जीवन, घिमिरेले भोगेको परिवेश र अनुभूत गरेका परिस्थिति नै घिमिरेका कथामा आएको उल्लेख गरे । कुलपति उप्रेतीले पूर्वप्रशासकका व्यक्तिगत अनुभव र अनुभूति कथाका रुपमा आएका हुनसक्ने भन्दै उक्त कथाहरु पढ्दा पाठक भावुक र रोमाञ्चित दुवै बन्नसक्ने धारणा राखे ।

प्रकाशक शिखा बुक्सका पुष्पराज पौडेलले घिमिरेका कथामा रहेको नेपालीपन, आमनेपालीका विषय र आमनेपालीका दुःखको अभिव्यक्तिले पाठकको मन र मस्तिष्कमा गहिरो छाप पार्नसक्ने बताए ।

पुस्तकको मूल्य ३५० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्