Logo

नेपाल जित्नै पर्ने दबाबका साथ माल्दिभ्सविरुद्ध उत्रँदै



Spread the love

४ भदौ काठमाडौं । नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन पुरुष भलिबलमा आज नेपाल जित्नै पर्ने दबाबका साथ माल्दिभ्सविरुद्ध उत्रँदै छ ।

ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने समूह चरणको अन्तिम खेलमा नेपालले साँझ ५ बजे माल्दिभ्सको सामना गर्दैछ । नेपाललाई अघिल्लो चरण प्रवेशका लागि पनि माल्दिभ्सविरुद्वको खेल जित्नै पर्ने दबाब छ ।

यही खेलले समूह ‘ए’ बाट अघिल्लो चरण पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । त्यसैले घरेलु मैदानमा हजारौँ समर्थकको साथ पाउने नेपालले माल्दिभ्सलाई पराजित गर्ने उद्देश्यका साथ मैदान उत्रनेछ । समूह ए मा रहेको कीर्गिस्तान भने समूहको विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।

जारी प्रतियोगितामा दुवै टोली प्रतियोगितामा जितविहीन छन् । दुवै टोली कीर्गिस्तानसँग पराजित भएका हुन् । यसअघि भदौ २ गते भएको उद्घाटन खेलमा नेपाल कीर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो भने हिजो मङ्गलबार भएको खेलमा कीर्गिस्तानले माल्दिभ्सलाई पनि समान ३–० कै सोझो सेटमा पराजित गरेको थियो ।

यस समूहमा तीन टोली मात्रै रहेकाले नेपाल र माल्दिभ्स दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना जीवितै रहेको छ । त्यस्तै आज नै हुने अर्को खेलमा समूह बी बाट उज्वेकिस्तान र अफगानिस्तान भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । उज्वेकिस्तानले यसअघि तुर्कमेनिस्तान र बङ्गलादेशलाई पराजित गरेको थियो । अघिल्लो चरण प्रवेशका लागि अफगानिस्तानलाई समेत बलियो प्रतिद्वन्दीविरुद्व जित निकाल्न आवश्यक छ ।

त्यसैगरी आजै हुने तेस्रोे तथा अन्तिम खेल साँझ ७ बजे समूह बी मै रहेको तुर्कमेनिस्तान र बङ्गलादेश बीच हुनेछ ।  रासस

प्रतिक्रिया दिनुहोस्