Logo

अझै सम्पन्न भएन सेवा मार्ग



Spread the love

११ भाद्र, काठमाडाैँ – निर्माण सम्पन्न भएको एकवर्ष पुग्दासमेत कोटेश्वर–कलङ्की सडकमा मुख्य सडकमा प्रवेश गर्ने सेवा मार्ग (सर्भिस ट्र्याक) निर्माण सम्पन्न हुन सकेको छैन । चीन सरकारले मुख्य र सहायक मार्ग निर्माण गर्दा नेपाल सरकारले सहायता मार्ग निर्माण गर्ने सम्झौता भएको थियो ।

सरकारले दुई वर्ष पहिले काम शुरु गरेपनि अझैसम्म सम्पन्न नभएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । अहिलेसम्म छ किलोमिटर सडक सम्पन्न भए पनि दुई किलोमिटर निर्माण हुन बाँकी रहेको छ । पहिले सडक छेउमा रहेको संरचना हट्न नसक्दा ढिलाइ भएको योजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।

अहिले संरचना हटाएर काम गर्ने ‘साइट’ खाली भएको उनले बताए । उनले भने,“पहिले ग्वार्खाे, सातदोबाटो, खसीबजारलगायतका क्षेत्रमा काम हुनसकेको थिएन ।”

सडक विभागले वर्षेनी सो मार्ग निर्माणका लागि निश्चित रकम छुट्टाउने हुँदा काम सम्पन्न भइनसकेको विभागले जनाएको छ । एकवर्ष छुट्टाएको रकमले त्यो वर्ष तोकिएको क्षेत्रमा मात्रै काम हुने इञ्जिनीयर शर्माले बताए । मुख्य सडकको दुवैतर्फ छ÷छ मिटरको मार्ग रहेको छ । ती मार्ग हुँदै सवारीसाधन सहायक मार्ग र मुख्य मार्गमा प्रवेश गर्ने उनले बताए ।

पाँच वर्ष पहिले शुरु भएको सडकको निर्माण सम्पन्न गरेर चीन सरकारले गत पुसमा मात्रै नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । सडक हस्तान्तरणसँगै सरकारले छ स्थानमा आकाशे पुल र सेवा मार्गको निर्माण गरिरहेको छ । सडकमा चार लेन मुख्य लेन त्यसको दुवैतर्फ दुई दुई लेन सेवा लेन र त्योभन्दा पनि बाहिर एकएक लेन सेवा मार्ग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्