Logo

दोलखा ६७ औँ खुला दिसामुक्त जिल्ला



Spread the love

१२ भाद्र, दोलखा – आवश्यक पर्ने सूचक पूरा गर्दै दोलखालाई आज खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । खानेपानीमन्त्री बीना मगरले नेपालको ६७ औँ जिल्लाका रुपमा दोलखालाई खुला दिसामुक्त भएको प्रमाणपत्र जिल्लास्तरीय खानेपानी सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष डवल पाण्डेलाई हस्तान्तरण गर्दै सो घोषणा गरेकी हुन् ।

घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले नेपालका ७७ वटै जिल्ला असोज महीनाभित्र खुला दिसामुक्त जिल्ला घोषणा गरी सक्ने गरी काम भइरहेको र दक्षिण एशियामा नै पहिलो राष्ट्रका रुपमा खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने तयारीमा रहेको बताए । स्वच्छ खानेपानी सबै नागरिकको मैलिक हक भएको र त्यसको व्यवस्थापनका लागि आफूले आवश्यक अध्ययन गरी काम शुरु गरेको उनको भनाइ थियो ।

भूकम्पले क्षति पुगेको दोलखाका विभिन्न ठाउँको खानेपानी योजनाको पुनःनिर्माण र सहज तरिकाले खानेपानीको व्यवस्था मिलाउन आफू प्रतिबद्ध रहेको उनले बताए । ‘खुला दिसामुक्त दोलखा जिल्लावासीको सान, दोलखा जिल्लालाई पूर्ण सरसफाइयुक्त बनाउने हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा जिल्लास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका प्रमुख पाण्डेले जिल्लाका सबै गाउँपालिका खुला दिसामुक्त घोषणा भइसकेको बताए ।

सांसद पार्वत गुरुङले खुला दिसामुक्त जिल्ला घोषणा भएकामा खुशी व्यक्त गर्नुहुँदै चेतनास्तर वृद्धि भई जिल्ला समृद्धिका यात्रामा लागेको बताए । पूर्वपर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेल, पूर्वराज्यमन्त्री देवी खड्का, प्रदेश सदस्यद्वय पशुपति चौलागाईं र विशाल खड्कालगायतले सभालाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्