Logo

भ्रमण वर्ष प्रवर्द्धनका लागि शारीरिक सुगठन



Spread the love

१३ भाद्र, काठमाडाैँ – भ्रमण वर्षको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित खुल्ला शारीरिक सुगठन प्रतियोगितामा १० खेलाडी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन् ।

हेल्पिङ क्याप नामक सामाजिक संस्था (क्लब)द्वारा आज यहाँ आयोजित प्रतिस्पर्धामा ललित धिमाल, सञ्जय डङ्गोल, विनोद सुनार, कृष्ण महर्जन, विवेक विष्ट, मरिचमान लामा, रामबहादुर दाहाल, रजोत बानियाँ, विष्णुराम केसी र समीर श्रेष्ठ अन्तिमचरणका लागि उत्कृष्ट भएका हुन् । शनिबार अन्तिम चरणको प्रतिस्पर्धा हुने उक्त कार्यक्रममा देशका विभिन्न जिल्लाबाट १३ खेलाडी सहभागी थिए ।

सन्तुलित भोजनको उपयोग गरी खेलाडीले भारयुक्त ब्यायाम गरेर आर्जन गरेको मोहक शरीरलाई कलात्मक ढङ्गबाट प्रदर्शन गरिएको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु पाँच लाख, दुई लाख ५० हजार र दुई लाख नगदसहित ताम्रपत्रले सम्मान गरिने छ ।

निजी क्षेत्रको क्लबले आयोजना गरेको सो प्रतियोगिता अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कारको राशि भएको संयोजक राजेन्द्र महर्जनले जानकारी दिए । उनका अनुसार सरकारले लिएको भ्रमण वर्षको योजनालाई सफल बनाउन खेलकूदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रचार गरी पर्यटन क्षेत्रको विकास र अभिवृद्धि गरिने छ ।

शारीरिक सुगठनका अन्तर्राष्ट्रिय प्रशिक्षक शिवलाल श्रेष्ठले विसं २०३० देखि नेपालमा यो खेलको व्यावसायिकरूपमा विकास भएको जानकारी दिँदै शारीरिक सुगठनले मानव स्वास्थ्य, व्यक्तित्व विकास तथा शरीरलाई आकर्षक बनाउने हुँदा यस खेलमा खेलाडीको आकर्षण बढ्दै गएको बताए । उनको नेतृत्वमा १० सदस्यीय निर्णायक समितिले खेलाडीको शरीरको संरचना, सौन्दर्य, हिँड्डुलका चाललगायतका आधारमा उत्कृष्ट खेलाडी छनोट गरिने छ । उत्कृष्ट हुने खेलाडीले अन्तर्राष्ट्रिय तहका प्रतियोगितामा भ्रमण वर्षका बारे जानकारी गराउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्