Logo

चेनको घडी



चेनको घडी

कार्यकारी अधिकृतको जिम्मा सुब्बा होमनाथ भण्डारीलाई दिएर म केही दिनको बिदामा बसेको छु। ऊ कलिलो उमेरको भए पनि व्यवहारमा पाको छ। मलाई कार्यालयको बारे कुनै चिन्ता छैन। ढुक्क छु।

आज मौसम रुन्चे बालकजस्तो छ। सिरसिर हावा चलिरहेको छ। सिमसिम पानी परिरहेको छ। कस्तो गज्जब ! उमेरले चार दशक नाघेको मेरो मन रोमान्टिक बनेर कतै उडिरहेको छ। म यस्तै बेला लेख्न रुचाउँछु। मैले यसभन्दा अघिको चार उपन्यास प्राय यस्तै मौसममा लेखेको हुँ। म भर्खरै मात्र पाँचौँ उपन्यासको ड्राफ्ट सकाएर बसेको छु। अगाडि मिल्क कफी टक्र्याएर उसकी आमा माथि छतमा गएकी छे। त्यहाँ उसले सागपात गेडागुडी लगाएकी छे। पहाडको घर छोडेदेखि छतमै केही उत्पादन गर्छे ऊ। कस्तो जमाना हो यो ? अचम्म मानिरहेको छु।

छोरा डेबिड इन्जिनियरिङ लास्ट सेमेस्टर पढ्दै छ। ऊ काठमाडौँ बस्छ। घर खासै आउँदैन। छोरी नुर स्टाफ नर्स पढ्दै छे। केहि दिन अघि मात्रै आफ्नो फर्स्ट सेमेस्टरको एक्जाम सकेर घर आएकी छे। ऊ आफ्नै रुममा व्यस्त छे।

आज हामी छोरा बाहेक सबै छौँ- घरमा। हामी सबै उसलाई मिस गरिरहेछौँ।

ड्याडी, हजुरले नि कसैलाई मनैदेखि प्रेम गर्नुभएको थियो ? हुन्छ नि, ट्र्यु लभ ।- नुर एकाएक प्रश्न गर्छे।

कस्तो अप्ठ्यारो प्रश्नको सामना गर्नुपरेको ? त्यसो त उसको यो प्रश्नको तीरबाट म धेरै पटक घाइते भइसकेको छु। तर आज उसको आँखाको भाव पढ्दा लाग्छ, मैले जवाफ पेस गर्नै पर्ने छ। तर जवाफ ? मसँग छैन।

‘नुर, किन यस्तो प्रश्न गर्दै छ्यौ तिमी ?’ म सामान्य बन्न खोज्छु।

‘भन्नुस् न ड्याडी। हजुरले आमालाई बाहेक कसैलाई प्रेम गर्नुभएको थियो ?’

‘ह्वाट ह्याप्पेन्ड नुर ? के भयो आज तिमीलाई ?’

‘भन्नुस् न। ड्याडी, कोही प्रेममा यति धेरै सिरियस्ली किन बन्छन् होला है ?’

‘सिरियस्ली मतलब ?’

‘लाइक हुन्छ नि ड्याडी, जीवनभर अनम्यारिड बस्ने। उसैको सम्झनामा लाइफ बिताइदिने टाइपको।’

‘हँ, कसको कुरा गरेकी ?’ – म झस्किन्छु।

‘सरी ड्याडी। धेरैको प्रेम देखिराछु नि, सो।’ – ऊ अलि भावुक बन्छे। म मनभरिका चीत्कारहरूलाई दबाएर मौन बस्न खोज्छु।

ट्याबमा भिडियो कल गर्छ- कृष्णले। भन्छ – उसको अर्को निबन्ध सङ्ग्रह मदन पुरस्कारको सर्वश्रेष्ठ पुस्तकको सुचीमा परेको छ। मलाई विश्वास छ, यो पटकको निबन्ध सङ्ग्रहमा उसले आफ्नै जिन्दगी लेखेको छ। भोगाई लेखेको छ।

सुरुवाती दिनहरूमा मलाई लेख्न सिकाउने/प्रोत्साहन गर्ने मध्यको एक हो ऊ। अहिले हाम्रो सम्बन्ध तँ तँ र म म मा आइपुगेको छ। गज्जबको सम्बन्ध छ हाम्रो। हामी दुवैको उमेरले दुई बीस काटिसक्यो र पनि हामी भेट्दा/गफ गर्दा बिस एक्काइसको बन्छौँ। हरेक कुरामा खुलेर कुरा गर्छौँ। म उसलाई ‘बधाई’ भन्छु।

छोरी अन्तै कतै गइसकेकी हुन्छे। उसकी आमा किचनमा छे। म आफ्नै रुममा छु।

प्रेमको कुनै नियम हुँदैन। प्रेम गर्ने कुनै फर्मुला हुँदैन। प्रेम गर्न सिकाउने विद्यालय कतै छैन। प्रेमले जात, भाषा, धर्म, उमेर, शारीरिक अवस्था, मन मर्यादा, प्रतिष्ठा केही भन्दैन। प्रेम गर्ने कुनै समय तोकिएको हुँदैन। बस्, प्रेम हुन्छ। यतिकै प्रेम गरिदिन्छन् प्रेमीहरू।


००००

प्रेमको कुनै नियम हुँदैन। प्रेम गर्ने कुनै फर्मुला हुँदैन। प्रेम गर्न सिकाउने विद्यालय कतै छैन। प्रेमले जात, भाषा, धर्म, उमेर, शारीरिक अवस्था, मन मर्यादा, प्रतिष्ठा केही भन्दैन। प्रेम गर्ने कुनै समय तोकिएको हुँदैन। बस्, प्रेम हुन्छ। यतिकै प्रेम गरिदिन्छन् प्रेमीहरू।

एक बेला,

पहिलो पटक म कसैसँग प्रेममा परेँ। हुन त म विवाहित पुरुष थिएँ। मैले आफ्नो परम्पराअनुसार कसैलाई ढोकामा कुखुराको भाले काटेर त्यही रगतमा पाइला टेकाएर घरमा भित्र्याएको थिएँ। जिन्दगीमा भित्र्याएको थिएँ। हामी दुईबाट तीन भएका थियौँ। हाम्रो सन्तान जन्मिएको थियो। म कसैको पतिबाट पदोन्नति भएर पिता बनेको थिएँ।

फेरि किन, कहाँ, कसरी प्रेममा परेँ – यस्तो अङ्ग्रेजी व्याकरणको डब्लु एच प्रश्नको उत्तर कहिल्यै सोधिनँ खोजिनँ। बुझ्न चाहिनँ पनि। बस्, म प्रेममा परेँ। म उसलाई प्रेम गर्थेँ। धेरै। सायद नुरले खोजेको जस्तो साँचो प्रेम।

कसैले ठिकै भनेका रहेछन् – प्रेम हुँदैमा विवाह हुनै पर्छ भन्ने छैन र विवाह हुँदैमा प्रेम हुन्छ भन्ने छैन।

फेरि यत्ति भनेर म कहिल्यै आफ्नो जिम्मेवारीबाट भाग्न चाहिनँ। म आफ्नो परिवारलाई उत्तिकै प्रेम गर्थेँ जति उसलाई प्रेम गर्थेँ अथवा म उसलाई उत्तिकै प्रेम गर्थेँ जत्ति प्रेम मेरो परिवारलाई गर्थेँ।

भेटिनलाई कुनै कारण चाहिँदैन। हामी यत्तिकै भेटिएका थियौँ। ऊ यस्तै विद्यार्थी सङ्गठनमा आवद्ध थिई। मान्छे सानी भए पनि विचारले अग्ली। शरीरको चौडाइ कम भए पनि साहसी। आत्मविश्वासले फराकिली। चञ्चल थिई। रूपले सुन्दरी थिई। सशक्त अभिव्यक्ति दिन्थी। ऊ मेरो भावनाको कदर गर्थी।

म पनि उसको विचारमा सहमत हुँदै गएँ। मलाई ऊप्रति सम्मान बढ्दै जान थाल्यो। बिस्तारै म उसलाई प्रेम गर्न थालेँ। ऊ मेरो प्रेमको बदलामा प्रेम नै दिन थाली। हामी यसरी प्रेम गर्न पुग्यौँ।

‘ ए हजुर! खाना खानुभयो ?’ ऊ सोधिरहन्थी।।
‘नाई! खाको छैन त।’
‘अझै नखानु भएको ?’
‘नाइँ ।’
‘खुरुक्क खानुस् त।’
‘खान्न।’
‘भनेको मान्नुस् खुरुक्क। नत्र म कुट्छु नि।’
‘हुन्छ! आउनुस् न कुट्नुस्।’
‘उम ! अझ। खाना खानुस् खुरुक्क। नत्र म बोल्दिनँ।’
‘होइन होइन! म खान्छु नि तर बोल्न नछोड्नुस्।’

सुरुसुरुमा हामी यसरी नै बोल्थ्यौँ। घुर्क्याउने, रिसाउने, फकाउने बाहेक अर्थोक हुँदैनथ्यो- प्रेमको नाममा ? फेरि अर्को रूपमा भन्नुपर्दा प्रेमको रूप यिनै यिनै त थिए नि। म कति पटक उसको खुसीको लागि झुट बोल्थेँ त कति पटक आफ्नै लागि।

हाम्रा कति भावनाहरू मिल्थे। सोँचहरू एउटै हुन्थे। हाम्रा विचारहरू दौँतरी बाँधेर हिँड्थे। हाम्रो हर्षको रङ एउटै हुन्थ्यो। हाम्रो आँसुको संवाद एउटै हुन्थ्यो। हामी कति जीत बाँडेर लिन्थ्यौँ। कति हार मिलेर पन्छाउँथ्यौँ। जे होस्, हाम्रो एउटा प्रेमको अर्को संसार थियो। हामी त्यही संसारमा हराउँथ्यौँ। रमाउँथ्यौँ।

ऊ जागिर भन्दा समाजसेवा गर्न चाहन्थी। उसको भविष्यको लक्ष्य समाजसेवा गर्ने थियो। फेरि देशको राजनैतिक अवस्थादेखि ऊ डराउँथी। देशको हरेक क्षेत्रमा राजनीति हाबी थियो। कतै आफ्नो लक्ष्य पूरा नहुने हो कि ? ऊ विचलित भइरहन्थी। म उसलाई ढाडस दिन्थेँ। आखिर उसको लक्ष्य पनि त मेरो लक्ष्य थियो।

ऊ मलाई प्रेम गर्न सिकाउँथी। जिन्दगी बाँच्न सिकाउँथी। उसले कहिल्यै प्रेमलाई प्राप्ति ठानिनन्। ऊ केवल प्रेम गर्न चाहन्थी। ऊ मलाई भन्दा मेरो परिवारलाई प्रेम गर्थी। उसकै कारण म बिस्तारै आफ्नो परिवारलाई झन् प्रेम गर्ने भएको थिएँ। मैले मेरो परिवारको प्रेम बुझ्ने भएको थिएँ।

खासमा कसैको प्रेम बुझ्नलाई पनि त कसैलाई प्रेम गर्नुपर्ने रहेछ।

म बिस्तारै ऊमाथि हाबी हुँदै गएको थिएँ। मलाई ऊ आफ्नो मात्रै हो भन्ने भान हुन्थ्यो। म ऊमाथि एकाधिकार जमाउन खोज्थेँ। मेरो अनुसार ऊ मसँग मात्रै बोल्नुपर्थ्यो। हाँस्नुपर्थ्यो। म कराउँथेँ। रिसाउँथेँ। झर्किन्थेँ। तर ऊ सहन्थी। मेरै लागि बिरामी हुँदासमेत अन आउँथी। रातभर बोलिदिन्थी। म नाना थरी भनिरहेको हुन्थेँ। ऊ केवल सुन्थी। मन त उसको पनि त दुख्दो हो, तर उसले मेरो खुसीको लागि आफ्नो खुसी समर्पित गर्थी। म त्यसो बुझ्दिनथें।

‘कति सताएको यो छोराको बाउले।’ ऊ बेलाबेला यस्तै भन्थी।
‘त्यसो भए एउटी छोरी जन्माइदिनुस् न त हजुर। छोरीको बाउ भएर सताउँछु।’ म झनै सताउँथेँ।
‘उहाँलाई भन्नुस् न। उहाँले जन्माइदिनुहुन्छ नि।’
‘हजुरले पो जन्माउनुपर्ने। उसले छोरा जन्माइसकी नि।’
‘मैले पनि त जन्माउँछु नि, कुनै दिन कसैको लागि।’ ऊ यस्तै बोल्थी।

मलाई लज्जा बोध हुन्थ्यो-आफ्नो प्रश्नमा। ग्लानि हुन्थ्यो- अनावश्यक प्रश्न गरिराखेकोमा। आखिर प्रेम गर्नुको अर्थ यो होइन कि उसको भावनामा चोट पुग्ने शब्द बोल्न पाइन्छ। प्रेममा त एकाअर्काको भावना पो बुझ्नुपर्छ। तर म विपरीत थिएँ।

सरी – म भन्थेँ। मैले त जिस्काएको पो त।
ए हजुर ! हजुरको रिसमा पनि त म प्रेम भेटाउँछु। खुसी भेटाउँछु। – ऊ भन्थी। म खुसी हुन्थेँ र फेरि सताइहाल्थेँ।

००००

म उसलाई छिटोभन्दा छिटो भेट्न चाहन्थेँ। आफूले आजसम्म भन्न नसकेका धेरै कुराहरू भेटेरै भन्न चाहन्थेँ। आफूले आजसम्म गरेको गल्तीको लागि माफी माग्न चाहन्थेँ। उसलाई भेटेर अँगालोमा हराउन चाहन्थेँ। केही पलको लागि भए पनि संसार बिर्सन चाहन्थेँ। सिर्फ एक पटक म उसको काखमा पल्टेर रुन चाहन्थेँ। जे होस्, म पहिलो पटक आफ्नो आँखालाई उसको दर्शन गराउन चाहन्थेँ। मैले उनी सामु अनुरोध पेस गरेँ। उसले भेट्ने स्वीकृत जनाइन्। हामी भेट्ने भयौँ।

बिहानै कलिलो घाममा बुटवलबाट नारायणघाट हिँडे। मनमा अनौठो तरङ्ग उत्पन्न भइरहेको थियो किनकि म पहिलो पटक कसैलाई भेट्न जाँदै थिएँ। बाटो भरी उसैको मुहार कल्पिदैं गएँ। बिस्तारै घाम वयस्क हुँदै गयो, ऊ सामु पुग्ने बाटो छोटिदै गयो। म नारायणघाट पुगेँ।


पहिलो पटक भेट्ने दिनको अघिल्लो रात पटक्कै निद्रा लागेन। मेरो लागि जिन्दगीकै सबैभन्दा लामो रात थियो त्यो। ऊ कस्ती होलिन् ? उसको बोली कस्तो होला ? के ऊ मेरो लागि भेट्न आउलिन् ? आइन् भने कस्ती भएर आउलिन् ? के ऊसँग पनि मसँग जस्तै भन्नुपर्ने कुराहरूको अग्लो चाङ होला ? मनभरी कुरा खेलिरहेको थियो। निद्रा पर पर भागेको थियो। त्यो रात म निदाइनँ। आँखा झिमिक्कै नगरीकन उज्यालो भयो।

बिहानै कलिलो घाममा बुटवलबाट नारायणघाट हिँडे। मनमा अनौठो तरङ्ग उत्पन्न भइरहेको थियो किनकि म पहिलो पटक कसैलाई भेट्न जाँदै थिएँ। बाटो भरी उसैको मुहार कल्पिदैं गएँ। बिस्तारै घाम वयस्क हुँदै गयो, ऊ सामु पुग्ने बाटो छोटिदै गयो। म नारायणघाट पुगेँ।

नारायणी धमिलो हुँदै बग्दै थियो। माथि पुलमा म उसलाई पर्खिरहेँ। आज पहिलो पटक समय मेरो खिलाफ थियो। समय बित्नै नमान्ने। तर पनि त्यो पर्खाई खुब मीठो थियो। म पर्खिरहेँ।

ऊ आइपुगी। सेतो हाफ भेस्ट र गुलाबी ट्रयाकमा आएकी ऊ हेर्न लायक देखिएकी थिई। मैले सोचेको भन्दा बिलकुल फरक थिई ऊ। तस्बिरमा देखिएकी भन्दा बढी राम्री देखिएकी थिई। उसको मृगनयनीमा आँखामा कति धेरै सपना फुलेको थियो, म प्रष्टै बुझ्थेँ।

हामी नारायणीको किनारै किनार हुँदै गयौँ। गर्मी खुब बढेको थियो। म उसलाई छाता ओढाएर हिँडिरहेको थिएँ। कास जिन्दगीको किनारै किनारै त्यसरी हिँड्न पाएको भए यात्रा कति सार्थक हुन्थ्यो होला ? म मनमनै सोच्थेँ।

हामी जोर कुसुम पार्क गयौँ। त्यस दिन अरू जोडीहरू पनि धेरै भेटिन्थ्यो। जोडी नै जोडीहरूको भीडमा हामी एक जोडी थियौँ। हामी त्यतै कतै बस्यौँ।

‘वर्षा !’
‘हजुर।’
‘कोही कसैले कसैलाई किन यत्ति धेरै प्रेम गर्छन् होला है।’
‘मतलब ?’
‘मैले हजुरलाई जस्तो।’
‘हा हा हा ! अब हजुरले मलाई भन्दा बढी हजुरको परिवारलाई प्रेम गर्नुपर्छ।’
‘किन ? मैले हजुरलाई प्रेम गर्न पाउँदिन ?’ म आत्तिन्छु।
‘त्यस्तो भन्न खोजेको होइन। तर उहाँ नै हजुरको बाँकी जिन्दगी हुनुहुन्छ नि त।’
‘जिन्दगी त मेरो हजुर पनि हो नि।’
‘तर ।’
‘हुन त म हजुरको टाढाको मान्छे।’ म घुर्की लाउन खोज्छु।
‘त्यस्तो भन्न खोजेको होइन।’
‘नत्र के भन्न खोज्नुभएको त ?’
‘अब सधैँ भरी यस्तै पाराले जिन्दगी पनि त चल्दैन नि। हजुरको परिवार छ। मेरो पनि परिवार होला।’ ऊ मलिन बन्छे।
‘एउटा कुरा भनुँं वर्षा ?’
‘हजुर भन्नुस् न।’
‘खासमा हजुर मेरो हो तर म हजुरको होइन। तर मलाई हजुर पाउनै पर्छ भन्ने पनि लाग्दैन। बस् यसरी नै सधैँ भरी प्रेम गर्न सकूँ।’ म सकसले बोलेँ।
‘……….।’

ऊ नारायणी किनारतिर टोलाइरही। मैले उसैको नजरतिर आफ्नो नजर मिलाउन थालेँ। किनारमा कोही बल्छीवाला बल्छीमा माछा कति बेला अड्किएला भनेर पर्खाइमा बसेको थियो। यता म उसको मुखबाट ‘हजुर पनि त मेरो आफ्नो हो।’ भन्ने सुन्नलाई पर्खाइमा थिएँ। तर उसले भनिनन्। मैले सुनिनँ।

हामी पार्कबाट निस्कियौँ। मैले छिटो अफिस फर्किनुपर्ने थियो। त्यत्ति बेला म अर्घाखाँचीमा वन प्राविधिक भएर काम गर्थेँ। मनले बस्न खोजे पनि मैले छिटो निस्किनु थियो।

अन्तिम पटक,
‘हजुर साँच्चीकै मेरो भाग्यमा हुनुभएको भए कस्तो हुन्थ्यो होला है।’ मैले भनेँ।
‘होइन हजुर ! म हजुरको भाग्यमा थिएँ तर भागमा थिइनँ। नत्र भाग्यमा नभएको भए त आज यसरी भेट नहुन पनि सक्थ्यो नि।’ ऊ भावुक बनी। म भावुक बनेँ। हामी छुट्टियौँ।

त्यो भेटपछि मलाई अझै ऊप्रति प्रेम बढेर आयो। मलाई अझै उसैलाई भेट्ने रहरले सताउँथ्यो। म झन् उसको प्रेममा डुबेको थिएँ। म पागल बन्दै गएको थिएँ। तर ऊ मदेखि टाढा हुन चाहन्थी। सायद ऊ मलाई सक्दो घृणा गर्थी। हुन पनि ऊ मेरो जिन्दगीमा आएकी थिइनन्, म नै उसको जिन्दगीमा गएको थिएँ।

बिस्तारै हाम्रो कुराकानी कम हुँदै गयो। ऊ मसँग बोल्न चाहन्नथी। म कति बोलाउँथेँ। ऊ सुन्दिनथी। सायद नसुनेजस्तो गर्थी। तर पनि म उसलाई नबोलाई बस्न सक्दिनथेँ। केही नलेखी बस्न सक्दिनथेँ। ऊ रिप्लाई कम फर्काउँथी।

बिस्तारै ऊ सामाजिक सञ्जालबाट टाढिन थाली। म ऊ बिना छट्पट्न्थें। कति पटक मलाई मर्छु भन्ने सोच नआएको होइन तर कहिल्यै आफूलाई अन्त्य गर्न सकिनँ। म प्रत्येक पलपल रोइरहेको हुन्थेँ। अनलाइनमा उसको प्रतीक्षा दिनै भरी गरिरहन्थेँ। तर ऊ आउन छाडेकी थिई। बिस्तारै ऊ हराउँदै जान थाली। मैले आफूलाई सम्हाल्दै लान थालेँ। उसलाई खोज्न थालेँ। यसरी हामी एक अर्काबाट बिस्तारै छुट्टियौँ।

मैले कहिल्यै सोचेको थिइनँ, कुनै कुनै पहिलो भेट नै अन्तिम भेट बन्ने रहेछ भनेर। त्यो पहिलो भेट नै हाम्रो अन्तिम भेट बन्यो।
तर म भित्रभित्रै जलिरहेको हुन्थेँ। अझै पनि उसैलाई खोजिरहन्थेँ। म कति तड्पिन्थेँ। तर उनी कहिल्यै आइनन्।

बिस्तारै म सामान्य अवस्थामा फर्किने कोसिस गर्न थालेँ। मैले उसलाई कहिल्यै भुल्न सकिनँ। म परिवारलाई बढी ध्यान दिन थालेँ। केहि वर्षपछि हाम्रो सन्तान जन्मियो। मैले छोरीको नाम उसैलाई मन पर्ने नाम ‘नुर’ राखिदिएँ। मैले छोरीमा उसैलाई भेट्न थालेँ।

बिस्तारै म सामान्य अवस्थामा फर्किने कोसिस गर्न थालेँ। मैले उसलाई कहिल्यै भुल्न सकिनँ। म परिवारलाई बढी ध्यान दिन थालेँ। केहि वर्षपछि हाम्रो सन्तान जन्मियो। मैले छोरीको नाम उसैलाई मन पर्ने नाम ‘नुर’ राखिदिएँ। मैले छोरीमा उसैलाई भेट्न थालेँ।


००००

‘ड्याडी। म बाहिर जान लाको। आज कार्यक्रम छ।’ नुर आफ्नो कोठाबाट निस्किन्छे। साइडमा सानो झोला बोकेकी छे।
‘कहाँ जाने नुर ?’ म उसलाई रोक्न खोज्छु।
‘क्लबको कार्यक्रम छ आज। अनाथाश्राममा खाजा खुवाउने कार्यक्रम ।’
‘छिट्टो जानू र छिट्टै आउनु।’
‘डन्ट वरी ड्याडी। म छिट्टै आउँछु।’ नुर निस्किन्छे।

जति नै वृद्धवृद्धा भए पनि आफ्नो सन्तान बालखै जस्तो लाग्ने रहेछ। डेविड ठुलो भइसक्यो। नुर ठुली भइसकी। अझै पनि कतै जाँदा म ती उनीहरूलाई रोक्नु खोज्छु। भरसक आफ्नो नजरबाट टाढा नभइदियोस् जस्तो लाग्छ। सन्तान मोह न हो यो सब।

‘ड्याडी! ड्याडी।’ तलबाट नुर कराउँछे। म बाहिर निस्किन्छु र उसलाई हेर्छु।
‘मेरो रुमको र्‍याकमा एउटा पुरानो घडी छ। ल्याइदिनुस् त।’
म उसको रुममा जान्छु। र्‍याकमा हेर्छु। र्‍याकमा एउटा पुरानो घडी छ। चेनको घडी। केही चेनहरू छुट्टिएका छन्। घडी चलेको छैन। चेन भरी खिया लागेको छ। कतै कतै देखिएको छ, घडीको चेनको रङ सुनौलो हो भन्ने म बुझ्छु। म घडी हातमा लिन्छु र निस्किन्छु।

‘कसको हो नुर, यत्ति पुरानो घडी ?’ म डर मिश्रित आवाजले सोध्छु।
‘वर्षा आन्टीको।’
‘वर्षा आन्टी ?’ म झस्किन्छु।
उम्। उहाँलाई कोही म्यारिड प्रेमीले दिएको पहिलो भेटको गिफ्ट हो रे। – नुर बोल्दै जान्छे। – उहाँ आफ्नो प्रेमीलाई धेरै माया गर्नुहुन्थ्यो रे। त्यसैको कारण उहाँ लाइफ टाइम अनम्यारिड बस्नुभयो। उहाँले बाँकी जिन्दगी अनाथ बालबालिकाहरूको शिक्षादीक्षा, स्याहारसुसार गर्दै बिताउँदै हुनुहुन्छ। उहाँ अनम्यारिड भएर पनि कति धेरै जनाको आमा बन्नुभएकी छ। कस्तो ट्र्यु लभ है ड्याडी। म यही घडीको बारेमा कथा लेख्दै छु, त्यै भएर बोकेकी।

म झस्किन्छु। तर हत्तपत्त आफूलाई सम्हाल्न खोज्छु।
‘नुर, लेख्यौ त कथा ?’ म नजर भुईँतिर झुकाएर सोध्छु।
‘सकियो ड्याडी। भोलिको अनलाइन न्युजमा पब्लिस हुन्छ।’ ऊ मेरो हातमा रहेको घडी थुत्छे। स्कुटी स्टार्ट गरेर लाग्छे।

म नमिठोसँग पोलिन्छु। मेरो आँखाबाट केहि थोपा आँसु खस्छ। म हाम्रो पहिलो भेटतिर पुग्छु।
‘वर्षा, मैले हाम्रो बारे कथा लेखेँ भने हजुरलाई फरक त पर्दैन नि ?’ म सुनौलो रङको चेनको घडी उसको हातमा थमाउँदै भनिरहेको हुन्छु।
‘लेख्नुस् तर फरक नपर्ने गरी।’ ऊ हल्का हाँस्छे। र मबाट छुट्टिन्छे।

आज धेरैपछि मैले उसको बारे केही लेखेको छु। मनै देखी भन्न मन छ – ‘वर्षा, हजुरलाई केही फरक त परेन नि ?’
००००

प्रतिक्रिया दिनुहोस्