Logo

नग्नता



नग्नता

नाङ्गीनुलाई अङ्ग प्रदर्शन शिवाय केही नदेख्नेलाई मेरो सलाम । नाङ्गीनुलाई जिन्दगी देख्नेहरूसँग भने मेरो केही सवाल जरुर छ ।

मध्यरातमा जब समागम पछि दिन मस्त चिर निन्द्रामा होमिन्छ, तब मलाई आकाशको नग्नता हेर्न बहुतै रहर लाग्छ । कति रहस्य आफू भित्रभरि लुकाएर जून र ताराको सहारामा क्या झुटो हाँसो हाँस्छ, हगी आकाश । त्यसैले आकाश मलाई बहुतै झुटो लाग्छ । तैपनि असाध्यै प्रिय लाग्छ । केही कुरा झुटा भएको आभास हुँदाहुँदै पनि कति प्रिय लाग्दा रहेछन् है ?

मैले आजै भनिदिए- नाङ्गो आकाशलाई ढाक्न आउने रात्रि बादल मलाई पटक्कै मन पर्दैन । नाङ्गो र जीवन्त शिशिरलाई ढाक्न आइपुग्ने वसन्त पनि मलाई फिटिक्कै मन पर्दैन ।

मलाई ढाक्ने कुरा कहिल्यै केही मन परेन । मलाई आवरण र वस्त्र पनि मन परेन । त्यसैले होला, कहिलेकाहीँ नग्न आफूलाई घण्टौँ ऐनामा नियालेपछि म सुस्तरी आफैँलाई भन्छु- “हो, वास्तविक म यहीँ हो ।” अनि बिस्तारै..बिस्तारै पुलकित भएर सुसेल्छु ।

मलाई ढाक्ने कुरा कहिल्यै केही मन परेन । मलाई आवरण र वस्त्र पनि मन परेन । त्यसैले होला, कहिलेकाहीँ नग्न आफूलाई घण्टौँ ऐनामा नियालेपछि म सुस्तरी आफैँलाई भन्छु- “हो, वास्तविक म यहीँ हो ।” अनि बिस्तारै..बिस्तारै पुलकित भएर सुसेल्छु ।


मलाई बरु बच्चाहरू बहुतै मन पर्छन् । उनीहरू भावना लुकाउँदैनन् । उनीहरू प्रेम, घृणा, मोह, चाहाना केही लुकाउँदैनन् । उनीहरू रिस छताछुल्ल पोख्छन् । प्रेम मनभरी गर्छन् । मनपरी गर्छन् । सायद नाङ्गा भएरै होला मलाई बच्चाहरू खुब मन पर्छन् । तर जब कोही बढ्दै जान्छ उसले आफूलाई ढाक्न खोज्छ । मनभरी भावना भएर पनि ऊ चुपचाप बसिदिन्छ । घृणै घृणा भए पनि ऊ झुटो हाँसोको स्वागत पस्कन्छ । बाहिर आफूलाई पुरै ढाकेर ऊ आफूलाई बचाउँछ । सायद यहीँ भएर होला ‘ऊ आफू जस्तो आफू’ कहिल्यै बन्दैन ।

समझदार मान्छे सदा आफूलाई राम्रो देखाउन तत्पर रहन्छ । त्यसैले मलाई समझदार मान्छे फिटिक्कै मन पर्दैन । हाम्रो समाजले नाङ्गो मान्छेलाई पागल/बौलाहाको संज्ञा दिन्छ । जो मान्छे नाङ्गो हुन्छ वा जो पूर्णतया आफू बनेर स्वाभाविक हाँसो हाँस्छ, त्यो हाँसोलाई यो समाजले बहिष्कार गर्छ । कृतिमताको लतमा फसिसकेको यो समाजले स्वभाविकता पचाउन सक्दैन । त्यसैले यो समाज मलाई मन पर्दैन ।

म काठमाडौँलाई प्रेमिल घृणा गर्छु । मलाई ढाकिएको काठमाडौँ मन पर्दैन । जब काठमाडौँ मज्जालै खुल्छ । माथिबाट गहिरिएर हेर्दा यस्तो लाग्छ कि त्रिभुवन विमानस्थल आँखै खानेगरि टल्किएको छ । स्वयम्भू र बौद्ध मलाई प्रेमको आलिङ्गनको लागी निमन्त्रणा गरिरहेछन् । पशुपति मलाई समाधी, दर्शन र जीवन चिन्तनका लागी निमन्त्रणा गरिरहेछ । ठमेल आफ्नो कामुकता प्रदर्शन गर्दै सम्भोगका लागी मलाई बोलाइरहेछ । यस्तै यस्तै…. मलाई नाङ्गो काठमाडौँ खुब मन पर्छ ।

म फेरी एकान्तमा बसेर गुपचुप रहेर केहीबेर सोच्नेगर्छु । हामी किन नाङ्गो जन्मन्छौँ ? प्रकृति/सृष्टिले हामीलाई किन नाङ्गो जन्मायो ? हामी नाङ्गो जन्मनुसँग प्रकृतिको के सन्देश हुनसक्छ ? जन्माउँदा हामीमा प्रकृतिले किन कुनै आवरण बेरेन ? मलाई लाग्छ- प्रकृतिले हामीलाई ‘नाङ्गीएर खुबसँग बाँच है !’ भनी भन्छ । तर हामी …! जन्मपश्चात् नै हामी आफूलाई नामले ढाकिदिन्छौ । बाँचुन्जेल हामी आफैँलाई यति ढाक्छौँ कि मर्दा हामी आफू आफैँलाई पराई भइसकेका हुन्छौँ । हामी भित्रको ‘म’ को त उहिल्यै बाँच्न सिक्नु अगाडी नै हामीले दागबत्ती दिइसकेका हुन्छौँ ।

हामी किन नाङ्गो जन्मन्छौँ ? प्रकृति/सृष्टिले हामीलाई किन नाङ्गो जन्मायो ? हामी नाङ्गो जन्मनुसँग प्रकृतिको के सन्देश हुनसक्छ ? जन्माउँदा हामीमा प्रकृतिले किन कुनै आवरण बेरेन ? मलाई लाग्छ- प्रकृतिले हामीलाई ‘नाङ्गीएर खुबसँग बाँच है !’ भनी भन्छ ।


मान्छेले आफूलाई ढाकेर आफ्नो मूल्य कौडीको तय गर्‍यो । जसका लागी, “म मान्छे हुँ है !” भनी आफूले आफैँलाई मान्छे कहलाएका सम्पूर्ण मनुवाहरूलाई बधाई ।

कहिलेकाहीँ आफैँ बारे सोच्दा लाग्छ, मलाई किन नग्नताले बहुत छुन्छ । नाङ्गा गल्ली, नाङ्गा सडक, नाङ्गा भौतिकता, नाङ्गा मस्तिष्क र नाङ्गा सृष्टिहरूले मलाई किन मोहनी लगाए ? मलाई किन नाङ्गो हावाले बारबार मेरो नाङ्गो आङ छोइदिएर बहिदिहोस् जस्तो लाग्छ ? उसो त कहिलेकाहीँ मनको आवाज ध्यान दिएर सुन्दा मन फलाकिरहेको सुन्छु- ‘दर्शन बुझ्न पहिले नाङ्गीन सिक्।’

मसँग केही लिएर अथवा केही दिएर मरु भन्ने भोक छैन । मेरो जीवनसँग त्यति बिघ्न आशा पनि छैन । म मर्दा यति चाहन्छु कि जीवनको अन्तिम सास लिँदा जब जीवन मलाई छाडेर जान लाग्छ र मृत्यु मलाई लिन आइपुग्छ । हो , त्यसबखत जब जीवन र मृत्युको जम्काभेट हुन्छ नि । हो, त्यसैबखत जीवनले एउटा र मृत्युले अर्को कानमा मेरो अन्तिम साससँगै बिस्तारै साउती गरुन् र एकैसाथ भनुन् “यार क्या जिन्दगी बाँचिस् तैँले।”  यति भनेर उनीहरू एक अर्कासँग बिदा लिएर छुट्टिउन् । म बस्, यत्ति चाहन्छु ।

तर दोबाटोमा अल्झेर/रुझेर म फेरी भिडसँगै दौडन थाल्छु । सायद बाँच्न नजानेरै पो होला, मन नपराई/नपराई, मनबाटै टाढै राखेर पनि मैले अचेल समाजबाट झूट्टो हाँसो हाँस्न सिकेको छु । कृतिमतामै रम्न सिकेको छु । आफूबाट आफूलाई मारेर म समाजको प्रिय हुन खोजिरहेको छु । त्यसैले मलाई ‘म’ मनपर्दैन ।

सृष्टिसँग मेरो एउटै प्रश्न छ- के म मेरो मृत्यु पश्चात् तिम्रो आँखामा आँखा मिलाएर हेर्न सकुँला ?

प्रतिक्रिया दिनुहोस्