Logo

आदिनाथ मूर्तिमा प्राणप्रतिष्ठा



Spread the love

२५ असोज, काठमाडाैँ – काठमाडौँको दक्षिण भेगमा पर्ने आदिनाथ मन्दिरमा मूर्ति प्रतिस्थापन गरी आज प्राण प्रतिष्ठा गरिएको छ । मन्दिर जीर्ण भएपछि त्यसको मर्मतका क्रममा मूर्तिलाई मन्दिरबाट बाहिर सुरक्षित स्थानमा राखिएकामा आज विधि विधानअनुसार पूजा गरी मूर्तिमा प्राण हालिएको हो ।

विसं २०७२ को भूकम्पका कारण मन्दिरमा क्षति भई जोखिम बढेपछि पूरातत्व विभागले करीब रु दुई करोडको लागतमा हालै मन्दिर जीर्णोद्धार सकेको छ । एक्काईस वर्ग फिटमा फैलिएको मन्दिरमा गजुरसहित साततल्ले छानो प्यागोडा शैलीमा निर्माण गरिएको छ ।

कीर्तिपुर नगरपालिकाको प्राचीन सम्पदाका रुपमा स्थापित मन्दिरमा हिन्दू तथा बौद्ध धर्मावलम्बीले आस्था प्रकट गर्छन् । मन्दिरमा अवस्थित आदिनाथलाई हिन्दूले शिवशक्तिका रुपमा तथा बौद्धले लोकेश्वरका रुपमा पूजा गर्ने परम्परा छ ।

परापूर्वकालमा नख्खु दोभानमा फेला पारिएको उक्त मूर्तिमा शिव तथा पार्वतीको आकृति प्रतिविम्बन भएकाले आदिनाथ भनिएको पुजारी सरोज शाक्यले जानकारी दिए । आदिनाथको मूर्तिलाई मन्दिरमा प्रतिस्थापन गर्दा तान्त्रिक विधिबाट क्षमा पूजा पनि गरिएको थियो । लिच्छवीकालमा निर्मित उक्त मन्दिरमा असोज शुक्ल पूर्णिमाका दिनदेखि कात्तिक शुक्ल पूर्णिमासम्म मेला लाग्ने गर्दछ ।

यस अवधिमा मन्दिरमा दर्शन गरेमा पारिवारिक सुख शान्ति कायम भई ठूलाठूला रोगव्याधिबाट मुक्त भइने विश्वास छ । त्यसैगरी मन्दिरमा चैत शुक्ल अष्टमीका दिन विशेष जात्रा लाग्छ । जात्रा भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजन सहभागी हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्