Logo

तिहारका फूलहरु



Spread the love

-सरद बिष्ट

रोएका छन्

शरद यामका फूलहरू पनि

बोटमा चोट छ

फूलमा घाउ छ

मखमलीको रोदन छ

सयपत्रीको गुनासो छ ।

सधैँ फुलेर उमङ्ग

बनाउने

शरद यामका फूलहरूले

दसैँ तिहार रङ्गाएर जान्थे प्रकृतिलाई शृङ्गारेर जान्थे,

सुगन्धमय बनाएर, फेरि आउने वाचासहित ।

तर,

तिहारका फूलहरू

निराश छन् किन आज ?

कसले बिघ्न–वाधा पुराएछ बिचरा !

सबै घायल छन् ।

नयाँ याम, नयाँ पालुवा सँगै फुलेका सबै फूलहरू

बगैँचामा रोएका छन्

एक–एक जम्मा भएर

आपसमा आपत्ति जनाउँदै

अब नयाँ संसारको बसाइँमा छन् ।

किनभने,

हुरी, बतास अनि मेघ गर्जन सहितको असिना बर्सातले

बोटमा चोट छ, पुलमा घाउ छ

अनि,

सबै तिहारका फुलहरू स्तब्ध छन् ।

रोएका छन् तिहारको मुखैमा

दिदी भाइको तिहारमा

त्यसैले,

प्रश्नहरू आफैसित गरे,

प्रश्नहरू हुरी बताससँग गरे,

र असिना वर्षात सँग गरे ,

तर– तर

उत्तर पाइनँ कसैबाट पनि ।

आज यस्तो कुठाराघात किन ?

अरूको जीवन

तहस नहस र बाधा पुराउने किन ?

शरद याममा असिना वर्षात किन ?

सोधे प्रश्न इन्द्र देवसँग

मान्छे प्रकृति बिगार्दै छ त्यसैले, प्रकृतिको नियम भन्दै

इन्द्र देव! मुसुमुसु हाँसिरहे !!

उता फेरि,

तिहार यामका फुलहरू शोकाकुल थिए

केही बोलेनन् ।

कहिले खडेरीको घाउ,

कहिले फेरि रिमझिमे वर्षातको

मलम भनेजस्तो र सोचेजस्तो पक्कै छैन,

फुलको जीवन असहज परिस्थितिमा

जस्तो जे भए पनि

आफ्नो काम र कर्तव्य पूरा गर्दै

प्रकृतिलाई रङ्गिन र सुगन्धमय बनाएर

तिहारका फुलहरू पनि हराउँदै थिए !!!

कवि परिचय
नामः सरद बिष्ट
ठेगानाः स्वर्गद्धारी न.पा. –३, प्यूठान
शैक्षिक योग्यता : बि.ए., बि.एड.(अंग्रेजी)
पेशा : शिक्षण र साहित्यक रचना प्रकाशन

प्रतिक्रिया दिनुहोस्