Logo

उपनिर्वाचनमार्फत सरकारलाई सच्याउनुपर्छ ः सभापति देउवा



Spread the love

७ मंसिर, काठमाडाैँ – नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसले आशन्न उपनिर्वाचनमार्फत वर्तमान सरकारलाई सच्याउनुपर्ने बताएका छन् ।

कास्की क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–१६ मा आयोजित चुनावी सभामा सभापति देउवाले काँग्रेसले उपनिर्वाचन जितेर सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने बताए । वर्तमान सरकारले एकपछि अर्को गर्दै जनताका हकअधिकार कुण्ठित गर्दै गएको उल्लेख गर्दै उनले न्यायालय, स्वतन्त्र प्रेसका साथै संवैधानिक अङ्गमा हस्तक्षेप गरिहेको आरोप लगाए । “जनताले थेग्नै नसक्ने गरी कर वृद्धि गर्ने सरकारको कदमलाई सच्याउनका लागि यस निर्वाचनमा काँग्रेसले जित्नुको विकल्प छैन”, सभापति देउवाले भने ।

सभापति देउवाले त्यागी र सादगी नेता खेमराज पौडेललाई कास्की क्षेत्र नं २ मा उम्मेदवारका रुपमा अघि सारेर पार्टीले उहाँप्रति न्याय गरेको बताउनुभयो । “पौडेललाई न्याय दिने जिम्मेवारी कास्कीका जनताको काँधमा आएको छ”, उनले भने ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई धोका दिने धोकेवाज कम्युनिष्ट कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने आरोप लगाए । “अनेक पुलिन्दा र भ्रम छरेर अघिल्लो चुनाव जिते पनि अब कम्युनिष्टलाई जनताले राम्रोसँग बुझिसकेका छन्”, उनले भने । काँग्रेस उम्मेदवार पौडेललाई अत्यधिक मत दिएर जिताउन उनले आग्रह गरे । काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले कम्युनिष्ट सरकार मुलुकलाई भेनेजुयला र रुवाण्डा बनाउन लागि परेको आरोप लगाए । सरकार मुलुक र जनताको हितका साथै लोकतन्त्र, संविधान, सङ्घीयता, गणतन्त्र, समावेशिता कुनैको हितमा नरहेको उल्लेख गर्दै उनले यसलाई सच्याउनका लागि पनि यो चुनाव काँग्रेसले जित्नुपर्ने बताए ।

केन्द्रीय सदस्य डा रामशरण महतले काँग्रेसले दुःख गरेर बनाएको राज्यकोषमा वर्तमान सरकार ब्रम्हलुट मच्चाउन उद्धत रहेको आरोप लगाए । युवा नेता गगनकुमार थापाले स्व रवीन्द्र अधिकारीको सपना पूरा गर्नका लागि नेकपालाई भोट दिने हो भने त्यो उनि प्रतिको अपमान हुने बताए । नेपाली राजनीतिमा इमान्दार र निष्ठावान नेताको खाँचो रहेको अवस्थामा पौडेललाई जिताएर त्यसको सन्देश देशभरी दिनुपर्ने नेता थापाले उल्लेख गरे ।

उम्मेदवार पौडेलले आफू सधैँ कस्केली जनताको साथमै रहेकाले मत दिएर जिताउन आग्रह गरे । जितेर गएपछि पनि सधैँ जनताकै साथमा हातेमालो गर्दै अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेशसभा सदस्यद्वय विन्दुकुमार थापा र कुमार खड्का, कास्की काँग्रेसका कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले सरकारलाई सही बाटोमा हिँडाउनु काँग्रेसको दायित्व भएको बताइन् । सो अवसरमा विगतमा कम्युनिष्ट आन्दोलनमा सक्रिय वामपन्थी नेता माधवप्रसाद पराजुली, ईन्द्रमान सिलवाल, सरु थापा, निर्मला थापालगायत काँग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्