Logo

संविधान संशोधनको मिशन पूरा गर्न सरकारमा आएको हुँ : मन्त्री यादव



Spread the love

१३ मंसिर, काठमाडाैँ – उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्ने मिशन पूरा गर्न आफ्नो पार्टी सरकारमा सहभागी भएको बताए । संवैधानिक तथा न्यायिक पत्रकार मञ्च र संसदीय पत्रकार समाजसँग आज भएको संयुक्त पत्रकार भेटमा उपप्रधानमन्त्री यादवले सरकारमा जानुपूर्व भएको संविधान संशोधनको सहमति भएको हुँदा सो कार्यान्वयन गर्ने बेला आएको बताए ।

उनले भने, “संविधान संशोधन मुलुकको आवश्यकता हो, प्रदेशलाई कमजोर बनाएर सङ्घीयता बलियो हुँदैन, पार्टीको मुख्य मिशन नै संविधान संशोधन हो ।” उपप्रधानमन्त्री यादवले वार्ताबाटै समाधान खोज्ने पक्षमा आफूहरु रहेको बताए ।

कानून मन्त्रालयको जिम्मेवारी सम्हालेपछि संविधान अनुकूलका कानूनहरु कार्यान्वयन भए÷नभएको अध्ययन गर्ने र बाँकी रहेका कानूनहरु सम्बन्धित मन्त्रालयसँग सहकार्य गरेर बनाउने उनको भनाइ थियो । उपप्रधानमन्त्री यादवले सङ्क्रमणकालीन न्यायलाई पनि आफूले प्राथमिकतामा रहेको उल्लेख गर्दै ऐन संशोधन गर्ने विषयमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

उपप्रधानमन्त्री यादवले यही मङ्सिर ९ गते कानून मन्त्रालयको जिम्मेवारी ग्रहण गरे । समाजवादी पार्टीका अध्यक्ष यादवलाई प्रधानमन्त्री ओलीले यही मङ्सिर ४ गते मन्त्रिपरिषद् पुनःगठन गर्दा उनलाई स्वास्थ्य तथा जनसङ्ख्याबाट कानून मन्त्रालयको जिम्मेवारी दिए  ।

प्रतिक्रिया दिनुहोस्