Logo

पशुचौपाया काटिएपछि स्थानीयवासी आतङ्कित



Spread the love

१३ मंसिर, भोजपुर – भोजपुरको पूर्वी क्षेत्रमा पर्ने अरुण गाउँपालिका–६ मा अज्ञात समूहले स्थानीयवासीका बाख्रा काट्दै गाईगोठमा आगजनी गरेपछि स्थानीयवासी आतङ्कित बनेका छन् । केही समयअगाडि स्थानीयवासीको गोठमा बाँधिएका सातवटा बाख्रा काटिएसँगै गाईवस्तु बाँधिएको गोठमा समेत रहस्यमय ढङ्गले आगलागी भएपछि स्थानीयवासीमा त्रास बढेको हो ।

अरुण गाउँपालिका–६ सिमटारका स्थानीयवासी धनकृष्ण राईको गोठमा मध्यरातमा आगो लगाएको स्थानीयवासीको भनाइ छ । स्थानीयवासीले जानजान आगो लगाएको तथा त्यही समूहले बाख्रा काटेको भन्दै छानबिनको माग गरेका छन् । स्थानीय अम्बर विश्वकर्माले भने, “घटनाक्रम हेर्दा नियोजित रुपमा यो घटना घटाइएको छ, यसलाई प्रशासनले गम्भीर रुपमा छानबिन गर्नुपर्यो ।”

गाउँका स्थानीयवासीमा त्रास बढेसँगै केही दिनअघि सङ्घीय सांसद सुदन किराँती, प्रदेशसभा सांसद राजेन्द्र राई, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय भोजपुरले सो स्थानको अनुगमन गरेका छन् । मध्यरातमा भएको आगलागीबाट दुईवटा गोरु मरेका थिए भने अन्य दुई गोरु डढेर घाइते भएका छन् । आगलागीबाट रु पाँच लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

प्रहरीले बाख्रा काटेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ भने आगलागीको विषयमा भने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । स्थलगत अनुगमनका लागि पुग्नुभएका प्रजिअ नूरहरि खतिवडाले दुई घटनाको विषयमा अनुसन्धान भइरहेको बताउँदै स्थानीयवासीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरे । प्रजिअ खतिवडाले भने, “यो घटनाको विषयमा हामी गम्भीर छौ, यो घटना नियोजित होस् या भवितव्य त्यसको हामी अनुसन्धान गर्छौं, जसका लागि तपाईंहरुले पनि सहयोग गर्नुपर्यो ।”

अनुगमनका लागि घटनास्थल पुगेका सङ्घीय सांसद सुदन किराँतीले अमानवीय कार्य भएको प्रतिक्रिया दिए । साथै उनले घटनाको विषयमा सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए । सांसद किराँतीले भने, “यो घटना अत्यन्तै अमानवीय छ, यसले स्थानीयवासीमा त्रास बढेको छ, स्थानीयवासीको कुरा सुन्दा र घटनाक्रमलाई हेर्दा घटना नियोजित जस्तो देखिएको छ, छानबिनका लागि मैलै निर्देशन दिएको छु ।”

गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले घटनाका पीडितलाई गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार सहयोग गर्ने बताए । साथै उनले छानबिन गर्न आग्रहसमेत गरे । अध्यक्ष कार्कीले भने, “हामीले पीडितलाई सहयोग गर्न भनेका छाैँ, उहाँहरुको निवेदन आएपछि हाम्रो नीति तथा कार्यक्रमअनुसार सहयोग गर्छौं ।”

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरबहादुर सलामी मगरले दुवै घटनाको गहिरो अनुसन्धान भइरहेको बताउँदै सो क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी बनाएको जानकारी दिए । आवश्यक प्रमाण जुटाउन घटनाको विषयमा गोप्यरुपमा जानकारी दिन स्थानीयवासीलाई आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्