Logo

साग पुरुष क्रिकेटः नेपाल पहिलो खेलमा श्रीलङ्कासँग पराजित



Spread the love

१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलंका यू२३ सँग ६ विकेटले पराजित भएको छ । यो हारसँगै नेपालको फाइनल यात्रा अव अन्य टोलीको नतिजा र रन रेट भर गर्नु पर्ने भएको हो ।

१ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९.१ ओभरमा ४ विकेटको नोक्सानीमा पुरा गर्यो । श्रीलंकाकोे जितम शाम्मु आशान ४४ बलमा ४ चौका र ५ छक्का सहित ७२ रनमा अविजित रहँदै जित पक्का गरे । ओपनर निशान मदुशकाले ४२ बलमा ५ चौका र १ छक्का सहित ४६ रनको योगदान दिए । पवन सरार्फले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सुसन भारी र सोमपाल कामीको नाममा १-१ विकेट रह्यो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १७२ रन लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालले खराब सुरुवात गर्यो । पारस खड्का व्यक्तिगत एक रनमा आउट भए भने आरिफ शेख १९ र कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भएका थिए । उपकप्तान दीपेन्द्र सिंह ऐरीले विनोद भण्डारीसँग मिलेर नेपालको पारी उकास्ने क्रममा दुवैले ५६ रनको साझेदारी गरे । भण्डारी २१ रनमा आउट भए ।

त्यसपश्चात ऐरीले पवन शर्राफसँग ६२ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । पवन १३ बलको सामना गर्दै २२ रन बनाएर आउट भए । दीपेन्द्र ७२ रनमा अविजित रहे । श्रीलंकाका लागि कमिण्डु मेण्डिसले सर्वाधिक २ विकेट लिए । नेपालले दोस्रो खेलमा विहीवार भुटानसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्