Logo

पीपीएल: बाबर हायतको उत्कृष्ट अर्ध शतकीय पारीमा चितवनको विजयी सुरुवात



Spread the love

१ पुस, काठमाडौं । पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । चितवनले मंगलबार साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १४.५ ओभरमा ४ विकेटको नोक्सानीमा पुरा गर्यो ।

चितवनलाई जित दिलाउने क्रममा बाबर हायतले ४२ बलको सामना गर्दै ६ चौका र ४ छक्का सहित ६६ रनमा अविजित रहे । बाबरले ३४ बलमा अर्ध शतक पुरा गरेका थिए । त्यस्तै सन्नी पटेल २२ रनमा अविजित रहे । चितवनका ओपनरद्वय रोहन मुस्ताफा ११ रन तथा अनिल कुमार शाह शून्यमा पभेलियन फर्केका थिए भने कप्तान पारस खड्का ४ रन बनाएर आउट भए। आरिफ शेख १ रनमा पभेलियन फर्केका थिए । पोखराका लागि राशिद खान र सर्वजीत लड्डाले २-२ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको पोखरा २० ओभरमा अल आउट हुँदै १ सय ७ रनमा समेटियो ।पोखराका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४५ रन बनाए। उनले ३९ बलमा ३ चौका र ३ छक्काको मद्धतले ४५ रन जोडेका हुन्। उनी बाहेक कुशल मल्लले १३ रन बनाउँदा आशिफ शेख, राशिद खान र रभिइन्दर सिहंले समान १०/१० रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

सन्नी पटेलले ४ ओभरमा १ मेडन सहित १५ रन खर्चेर २ विकेट लिए । रोहन मुस्तफाले २ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । भुवन कार्कीले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । पारस खड्का, करण केसी र बिक्रम शोबले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्