Logo

आप्रवासी कामदारको सुरक्षालाई ध्यान दिन सुझाव



Spread the love

२ पुस, काठमाडौं । नेपालमा बसाइँसराइको प्रवृत्ति, ढाँचा, असर र शासकीय संरचनाको विश्लेषण गरिएको ‘बसाइँसराइ अभिलेख’ सार्वजनिक गरिएको छ ।

नेपाल सरकारको समन्वयमा अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) द्वारा तयार पारिएको सो अभिलेखलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभयो ।

सान्दर्भिक तथ्याङ्क प्रस्तुत गरी प्रभावकारी नीति निर्माणमा सहयोग पु¥याउन र बसाइँसराइलाई विकास योजनामा मूलप्रवाहीकरण गर्ने ध्येयले अभिलेख तयार गरिएको आइओएमले जनाएको छ । अभिलेखमा बसाइँसराइका प्रकार, विशेषतासम्बन्धी तथ्याङ्कीय स्रोतको पहिचान गरी तथ्य प्रमाणसहित प्रस्तुत गरिएको छ ।

चार भागमा विभाजित अभिलेखको पहिलो भागमा बसाइँसराइको प्रवृत्तिको तथ्याङ्क र विश्लेषण, दोस्रो भागमा बसाइँसराइले आर्थिक–सामाजिक तथा विकासका मुख्य सूचकमा परेको असर, तेस्रो भागमा बसाइँसराइलाई व्यवस्थित गर्ने शासकीय संरचना र चौथो भागमा नीतिनिर्माताका लागि सुझाव दिइएको छ ।

सो अवसरमा मन्त्री यादवले श्रम आप्रवासनलाई सुरक्षित बनाउन सरकारले सीपयुक्त जनशक्तिलाई मात्र वैदेशिक रोजागरीमा पठाउने नीति लिएको र विप्रेषणलाई उत्पादशनील क्षेत्रमा लगाउने जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीका क्षेत्रमा भइरहेको विकृति विसङ्गति हटाउँदै म्यानपावर कम्पनीलाई नियमन गरिने उहाँले बताउनुभयो । मन्त्री रायले भन्नुभयो “सरकारले आफ्ना संयन्त्रमार्फत विगतदेखि नै आप्रवासी कामदारका लागि विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । ”
नीति अनुसन्धान केन्द्रका अध्यक्ष गणेश गुरुङले सही तथ्याङ्क नहुँदा नीति निर्माण गर्न समस्या भइरहेको उल्लेख गर्दै बसाइँसराइ अभिलेखमा समोवश तथ्याङ्कका आधारमा नीति निर्माण तहमा पैरवी गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “यही तथ्यमा आधरित अभिलेखलाई प्रयोग गरेर बसाइँसराइसँग नीति निर्माण गर्न तथा कानून सुधार गर्न आइओएमको भूमिका हुनुपर्छ”, उहाँले भन्नुभयो ।

यहाँस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक भ्यालरी जुलियन्टले बसाइँसराइ अभिलेखले नेपाल तथा विदेशमा रहेका आप्रवासी कामदारलाई हक अधिकार स्थापना गर्न सहयाग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

करिव पाँच लाख युवाले बैदेशिक रोजगारीका लागि मुलुक छाड्ने गरेको तथ्याङ्क रहेको छ । गरिबी, बेरोजगारीलगायत कारणले नेपाली युवा विदेश जानुपर्ने बाध्यता छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा झण्डै रु नौ खर्ब विप्रेषण भित्रिएको थियो ।

आइओएमका नेपाल प्रमुख लरिना ल्याण्डोले आप्रवासी रणनीतिलाई नयाँ ढङ्गबाट लैजान बसाइँसराइ अभिलेख तयार गरिएको हो भन्नुभयो । आप्रवासनले ‘स्रोत तथा गन्तव्य मुलुकलाई भलाइ गरोस्’ भन्ने नै आइओइमको चाहना रहेको उहाँले उल्लेख गर्नुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्