Logo

मनमोहन स्मृति एकदिवसीय क्रिकेट लिग हुने



Spread the love

३ पुस,सुनसरी – सुनसरीको इनरुवामा मनमोहन स्मृति एकदिवसीय क्रिकेट लिग हुने भएको छ । मनमोहन स्मृति क्रिकेट सेन्टर तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा यही पुस १५ देखि आगामी माघ ४ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो ।

नेपाल खेलकूद पत्रकार मञ्चको त्रिपुरेश्वरस्थित कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले क्रिकेट सेन्टरले विगतमा यू–१६ क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएकामा यसपटक ५० ओभरको खेल सञ्चालन गर्न लागेकामा खुशी व्यक्त गरे । “पछिल्लो समय २० ओभरको क्रिकेट प्रतियोगिता मात्र सञ्चालन भइरहेको छ”, उनले भने, “अब ५० ओभरको खेलमा बढी जोड दिनुपर्छ ।” उनले ओझेलमा परेको इनरुवा पछिल्लो समय क्रिकेटको नामले चिनिन थालेको बताए । इनरुवाले यसअघि रात्रिकालीन फुटबल र क्रिकेट प्रतियोगितासमेत सञ्चालन गरिसकेको छ ।

मनमोहन स्मृति क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले यसअघि प्रतियोगिताको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको भन्दै दोस्रो संस्करण अझ भव्यरूपमा आयोजना गरिने बताए । उनले चाँडै नै सेन्टरले महिला क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिए । “गत वर्ष भारतीय क्रिकेट टोलीले प्रतियोगितामा भाग लिएको थियो, यसपटक मलेशियाली क्रिकेट टोली खेल्न आउने भएको छ”, अध्यक्ष गैरेले बताए । इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताले खेलकूद क्षेत्रको विकासका लागि नगरपालिकाले सबैसित सहकार्य गर्दै आएको बताए । “ओझेलमा परेको इनरुवालाई खेलकूदका माध्यमबाट चिनाउन चाहन्छु”, उनले भने ।

मनमोहन मेमोरियल राष्ट्रिय क्रिकेट प्रतियोगिताका निर्देशक विप्लव घोषका अनुसार प्रतियोगितामा सात प्रदेश, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ तथा मलेशियाको क्रिकेट टोलीको सहभागिता रहेनेछ । प्रतियोगिताको विजेताले रु चार लाख पाँच हजार, उपविजेताले रु दुई लाख पाँच हजार, सेमिफाइनलमा पुग्ने टोलीलाई रु ३० हजार, खेलको म्यान अफ दी सिरिजलाई रु ५५ हजार तथा खेलको म्यान अफ दी म्याचलाई रु तीन हजार ५०० पुरस्कार प्रदान गरिनेछ । खेल सुनसरीको इनरुवा रङ्गशालाको मैदानमा खेलाइनेछ । बाह्र टोलीलाई चार समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्