Logo

पीपीएल: काठमाडौंको दोस्रो जित, प्लेअफको सम्भावना कायमै



Spread the love

५ पुस, पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत काठमाडौं गोल्डेन वारियर्सले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा विराटनगर टाइटान्सलाई ३६ रनले पराजित गर्दै प्रतियोगिताको प्लेअफको सम्भावनालाई कायमै राखेको हो ।

पोखरा रंगशालमा काठमाडौंले दिएको १६० रनको लक्ष्य पछा्एको विराटनगरले १९ ओभर ४ बलमा अल आउट हुँदै १२३ रन बनायो । विराटनगरले सुरुवात भने निकै खराब गरेको थियो । मात्र ४१ रन जोड्दा ६ विकेट गुमाइसकेका थियो । तर पुनित मेहरा र नोमन खानले सातौं विकेटका लागि ७७ रनको महत्वपूर्ण साझेदारी गरे ।

३१ बलको सामना गरेका मेहराले तीन चौका र तीन छक्काको मदतमा ५३ रन बनाए । खानले २५ रन बनाए । कप्तान प्रदीप ऐरीले २९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक नै जोड्न सकेनन् । काठमाडौंका सुवोध भाटीले ३ विकेट लिए भने अमर रौतेला र बसन्त रेग्मीको नाममा २-२ विकेट रहृयो ।

यसअघि टस जितेर ब्याटिङ सुरु गरेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ५९ रन बनायो । ओपनर जयकिशन कोल्सावालाले ५५ रनको अर्ध शतक बनाएका थिए । पुनित मेहराको १५ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने क्रममा उनी साहव आलमबाट क्याच आउट हुनु पुगेका थिए । जयकिशनले ४३ बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गरे । जयकिशन र कप्तान ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

ओपनर गौरव तोमरलाई शून्य आउट भए । छैटौं ओभरको अन्तिम बलमा नोमन खानले अमित श्रेष्ठलाई १७ रनमा बोल्ड आउट गरे । अन्तिम ओभरको पहिलो बलमा सुवोध भाटीलाई जितेन्द्र मुखियाले नोमनबाट १४ रनमा क्याच आउट गराए । आदिल खान १३ र पवन सरार्फ ५ रनमा अविजित रहे ।

विराटनगरका लागि किशोर महतोले ३ ओभरमा १ मेडन सहित ३३ रन खर्चेर १ विकेट लिए । भारतीय स्पिनर पुनित मेहराले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । नोमन खान र जितेन्द्र मुखियाले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्