Logo

पीपीएल: फराकिलो हारसँगै साबिक विजेता पोखरा लिग चरणबाटै बाहिरियो



Spread the love

७ पुस, पोखरा । साबिकको विजेता पोखरा पल्टन दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) टी-ट्वान्टीको लिग चरणबाटै बाहिरिएको छ । सोमबार लिग चरणको अन्तिम खेलमा धनगढीसँग फराकिलो अन्तरले पराजित हुँदै बाहिरिएको हो ।

पोखरा रंगशालमा पोखराले दिएको ८० रनको सामान्य लक्ष्य पछाएको धनगढीले ९ ओभर १ बलमा ५ विकेटको नोक्सानीमा ८५ रन बनायो । धनगढीका लागि दीपक पुनियाले सर्वाधिक २५ रन जोडे । त्यस्तै रोड्रिगो थोमसले १५ रन बनाउँदा कप्तान दीपेन्द्र ऐरीले १३ रनको योगदान गरे भने शुभेन्दु पाण्डेले ११ रन बनाए । बलिङतर्फ पोखराका लागि प्रथामेस डाके र सर्वजित लड्डाले समान २ विकेट लिए । त्यस्तै ललित राजवंशीले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ थालेको पोखराले सुरुवात देखिने नै सम्हालिएर ब्याटिङ गर्न सकेन। १६.३ ओभर ब्याटिङ गरेको पोखराले मात्र ७९ रन बनाउँदा अल आउट भएको हो । जुन प्रतियोगिताकै सबैभन्दा कम योगफल हो।

पोखराका लागि ओपनिङमा ब्याटिङ गर्न आएका कुशल भुर्तेलले ७ बलको सामना गर्दै मात्र ६ रन बनाए भने अर्का ओपनर आसिफ शेखले २९ बलमा ३२ रन जोडेका थिए । कप्तान शरद भेषावकर ४ रन, रवि इन्दर सिंह शून्यमै आउट भए भने बिनोद भण्डारी १२ रन बनाएर आउट भए। त्यस्तै, कुशल मल्ल २ रन, रोहित कुमार पौडेल शुन्यमा आउट भए भने प्रथमेस डाके ५ बलमा २ रन बनाएर बोल्डआउट भए।

धनगढीका अनिल खरेलले तीन, दीपक पुनिया, कमल सिंह ऐरी र सागर ढकालले दुई–दुई विकेट लिए।

प्रतिक्रिया दिनुहोस्