Logo

काठमाडौं गोल्डेन्सलाई पराजित गर्दै चितवन पीपीएलको फाइनलमा पुग्न सफल



Spread the love

८ पुस, पोखरा । पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज अपराजित रहँदै दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा पुग्न सफल भएको छ । मंगलबार भएको खेलमा काठमाडौं गोल्डेन्स वारियर्सलाई ६० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

१ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ७ रन बनायो । ओपनर जयकिशन कोल्सावालालाई शून्यमा आउट भए भने अर्का ओपनर अमित श्रेष्ठ पनि शून्यमा पेभिलिएन फर्किए ।

अर्का भारतीय ब्याट्सम्यान गौरव तोमर पनि ६ रनमै आउट हुन पुगे । त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल र पवन सरार्फले ४४ रनको साझेदारी गरेका थिए । पवनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे भने ज्ञानेन्द्रले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । पृथु बास्कोटा १८ रनमा क्याच आउट हुँदा अमृत भट्टाई ६ रनमा अविजित रहे ।

चितवनका लागि करण केसीले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । रोहन मुस्तफाले ४ ओभरमा १ मेडन सहित १२ रन खर्चिदै २ विकेट लिए । सन्नी पटेलले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट हात पारे । राम नरेश गिरी, भुवन कार्की र पारस खड्काको नाममा १-१ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्