Logo

सहिद स्मारक ए डिभिजन लिग: जितसँगै मनाङ शीर्षस्थानमा उक्लियो



Spread the love

१० पुस, काठमाडौं । मनाङ मस्र्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो जित निकालेको छ । ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई बिहीबार १–० ले पराजित गर्दै साविक विजेता समेत रहेको मनाङले ३ खेलमा शतप्रतिशत नतिजा निकाल्दै शीर्षस्थान उक्लिएको हो ।

बुधबार मछिन्द्र क्लबले गोलअन्तरमा पछि पारेपछि मनाङ दोस्रो स्थानमा झरेको थियो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जगजित श्रेष्ठले पहिलो हाफमा गरेको गोल नै मनाङको जितका लागि पर्याप्त बन्यो ।

७३ औं मिनेटमा एकराज बुढाथोकी सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि मनाङ १० खेलाडीमा समेटियो । विजय गुरुङलाई गम्भीर ट्याकल गरेपछि रेफ्री कविन व्यन्जनकारले एकराजलाई सिधै रातो कार्ड देखाएका थिए ।

अघिल्लो वर्ष लिग जित्दाका अधिकांश खेलाडीले क्लब छाडेपनि मनाङले आफ्नो पुरानो छविलाई निरन्तरता दिदै लगातार तेस्रो जित निकाल्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्