Logo

पासा ग्वाहाली पुचः को नाफा रु सात लाख ३३ हजार



Spread the love

१३ पुस, काठमाडाैँ – साविकको गोकर्णेश्वर गाविसकै पहिलो सहकारी पासा ग्वाहाली पुचः वचत तथा ऋण सहकारीले आर्थिक वर्ष २०७५/२०७६ मा रु सात लाख ३३ हजार ५८ मुनाफा हासिल गरेको छ । सहकारीको १३औँ वार्षिक साधारणसभाका अवसरमा पेस गरिएको वार्षिक प्रतिवेदनमा रु एक करोड १३ लाख २५ हजार १०६ आम्दानी भएको उल्लेख छ । यसैगरी रु एक करोड पाँच लाख ९२ हजार ४७ खर्च भएको विवरण साधारणसभामा प्रस्तुत गरियो । सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले पेश गरेको प्रतिवेदनमा शेयर पूँजी रु एक करोड ४३ लाख ४३ हजार २०० रहेको उल्लेख छ ।

सहकारीको निक्षेप बचत रु पाँच करोड ४९ लाख ६३ हजार १५ छ । सहकारीले रु पाँच करोड ७५ लाख ३९ हजार ८२८ कर्जा लगानी गरेको अध्यक्ष श्रेष्ठले बताए । साधारणसभाको उद्घाटन कार्यक्रममा काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्ण राईले सरकारको तीनखम्बे अर्थनीतिअनुसार सहकारी अपरिहार्य अङ्ग भएको बताए ।

देशभर छरिएका ३४ हजार ५०० सहकारीकै कारण आर्थिक रूपान्तरणका साथै स्वरोजगार सम्भव भएको उनको भनाइ थियो । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले गाउँ गाउँमा फैलिएका सहकारीले निम्न आय भएका जनताको आय आर्जनमा सहयोग गरेको बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार विजय चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ, नेफ्स्कुनका सञ्चालक न्हुच्छेनारायण श्रेष्ठ, सहकारीका उपाध्यक्ष प्रेमलाल श्रेष्ठ, लेखा समिति संयोजक कृष्णभक्त श्रेष्ठलगायतले निम्न आय भएका मानिसका लागि स्वरोजगारी गर्न सहकारी वरदान सावित भएकामा जोड दिएका थिए ।

सो अवसरमा नेफ्स्कुनका नवनिर्वाचित सञ्चालक सदस्य न्हुच्छेनारायण श्रेष्ठ, सहकारीका उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट शेयरधनी, उत्कृष्ट कर्मचारीलगायतलाई सो अवसरमा सम्मानसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्