Logo

सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक महोत्सव बुधबारदेखि



Spread the love

१५ पुस, काठमाडाैँ – विश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिक, मौलिक, धार्मिक सहिष्णुता र स्थानीय जातीय विविधताको प्रचारप्रसार गर्न बुधबारदेखि सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक महोत्सव हुने भएको छ । कामपाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवले पर्यटन प्रवद्र्धनका अतिरिक्त समाजमा शान्ति सुरक्षा, घरेलु हिंसा, यौन हिंसाजस्ता सामाजिक अपराधका क्षेत्रमा सचेतना फैलाउन सहयोग गर्ने बताइएको छ । वडा नं १५ का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले महोत्सवका रुपमा सञ्चालन हुने कर्यक्रमले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रवक्ताका अनुसार कार्यक्रममा स्थानीय सङ्घसंस्था तथा परम्परागत समूहको साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सांस्कृतिक प्रस्तुति हुनेछ । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले यस प्रकारका कार्यक्रमबाट समुदायसँगको सम्बन्ध अझ नजिक हुने र जनतासँग नजिक बसेर काम गर्न सकिने आशा व्यक्त गरे ।

सप्ताहव्यापी कार्यक्रममा घरेलु तथा हस्तकलाका सामग्री र खानेकुराका स्टल रहने छन् । यस कार्यक्रमबाट नेपाल पर्यटन वर्षका कार्यक्रममा टेवा पुग्ने तथा काठमाडौँलाई सांस्कृतिक शहरका रुपमा परिचित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । ‘स्वयम्भू जाउँ, नेपाल पर्यटन वर्ष मनाऔँ’ नारासहित आयोजना हुने कार्यक्रम वडा नं १५ र महानगरीय प्रहरी वृत्तको संयुक्त आयोजनामा हुनेभएको हो । कार्यक्रममा नेपाल प्रहरीसहित ट्राफिक प्रहरी, पर्यटक प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय सामुदायिक सङ्घ संस्था, होटल व्यवसायी र सरोकारवालाको सहभागिता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्