Logo

नाटककार सोफोक्लिज र उनको इडिपस नाटक



ग्रीस मानवीय सभ्यताको विकास भएको देश । जुन देशमा अनेकन दार्शनिक, वैज्ञानिक तथा साहित्यकारहरुको जन्म भएको थियो । सोही देशमा एक यस्ता नाटककार जन्मिए । जसको चर्चा जति गर्यो उति नै कम हुन आउँछ । उनको नाम हो सोफोक्लिज । ४९६ इशापूर्वमा एथेन्सको एक अति सम्पन्न परिवारमा उनी जन्मिएका थिए । उनलाई कुनै कुराको दुःख थिएन । सानैबाट परम्परागत शिक्षा पाएका सोफोक्लिज नाटकमा मात्र नभई संगीत, काव्य, खेलकुद सबैमा सक्षम थिए ।
नाटकको क्षेत्रमा सोफोक्लिजको नाम बडो गर्वले लिने गरिन्छ । पछिल्लो समयका नाटककारहरु पनि उनीबाट निकै प्रभावित भएको पाइन्छ ।
सोफोक्लिज महान नाटककार हुन् । नाटकको क्षेत्रमा उनी ५० वर्षसम्म खुबै छाए । उनले जीवनकालमा १२० भन्दा बढि नाटकहरु लेखे । तर ती नाटकहरुमध्ये जम्मा सातवटा मात्र जीवित रहेका छन् । उनले भाग लिएको ३० नाटक प्रतियोगितामा २४ पल्ट प्रथम भएका थिए । अनि बाँकीका ६ प्रतियोगितामा उनी दोस्रो । त्यतिबेलाका महान नाटककार इस्काइलस उनका गुरु थिए । उनले एकपल्ट आफ्नै गुरुलाई पनि नाटक प्रतियोगितामा हराएका थिए । उनी ग्रीसका महान नाटककार इस्काइलस र यूरिपीडसको लहरमा गौरवका साथ उभिन्छन् ।
उनका नाटकहरुमा सबैभन्दा बढि प्रख्यात इडिपस र एन्टिगोन छन् । उनका नाटकमा विशेषगरी भगवानहरुले मानिसहरुलाई कसरी पुतलीसरह खेलाउँछन् भन्ने कुरालाई बढि जोड दिएका छन् । उनका नाटकहरुमा ग्रीसेली मिथकहरुको राम्रो प्रभाव परेको छ ।
उनले लेखेकामध्ये ग्रिक ट्रेजेडीमा राजा इडिपस सर्वश्रेष्ठ मानिन्छ । जसको कथा सारांशमा यस्तो रहेको छः

थिब्सका राजा रानी लेओस् र जोकास्टालाई आकाशवाणी हुन्छ ।
उनीहरुको भर्खर जन्मेको छोराले भविष्यमा बाबुलाई मार्नेछ र आमालाई बिहे गर्नेछ । यो आकाशवाणी सुनेर उनीहरु डराउंँछन् र छोरालाई हटाउने उपाय रच्छन् । उपाय अनुसार राजाले छोराको खुट्टा तातो फलामले रोपिदिन्छ ताकि हिड्न नसकोस् अनि गोठालालाई आदेश दिएर भन्छ । त्यस बच्चालाई कुनै पर्वतमा लगेर छाड्नु जहाँ चिसो लागेर मरोस् । एउटा अबोध बालकलाई पर्वतमा लगेर छाड्न गोठालाको हृदयले मान्दैन अनि बच्चा कोरिन्थको एकजना गोठालो साथीलाई भेटेर त्यो बालक दिन्छ । संयोगले त्यो गोठालो कोरिन्थका राजाको नोकर हुन्छ अनि त्यो बच्चा लगेर राजा रानीलाई लगेर दिन्छ ।

कोरिन्थका राजा रानी पोलिबस र रानी मेरोपका सन्ताप हुँदैनन् । बच्चा देखेर राजा रानी आफ्नो सन्तानको पूर्ति भएको ठान्छन् र राजकुमार बनाएर हुर्काउँछन् । खुट्टा सुन्निएकोले बालकको नाम इडिपस राखिदिन्छन् ।
इडिपस कोरिन्थमा हुर्कदै जान्छ । युवक भएपछि उसले कताकता सुन्छ कि पोलिबस उसको बाबु होइन । यस कुराले इडिपस चिन्तामा डुब्छ र डेल्फीमा गएर देववाणी सुन्न चाहन्छ । तर देववाणीमै पुरानो कुरा दोहोरिन्छ । पोलिबस र मेरोप नै उसका आफ्ना आमाबुवा हुन् भनेर उ कोरिन्थ छाडेर हिँड्छ र कोरिन्थमा फर्केर नआउने प्रतिज्ञा गर्छ ।

अनेक ठाउँमा घुम्दा घुम्दै उ थिब्सतिर जान्छ । बाटोमा उसले लेओस् र उसका नोकर चाकरहरुसित भेट्छ । केही कुरामा झगडा पर्दा इडिपसले एकजना नोकर बाहेक सबैलाई मार्छ । सोही झगडामा लेओस् पनि मर्छ । त्यो बेला थिब्समा एउटा दैत्यले आतंक मच्चाइरहेको हुन्छ । इडिपसले सो दैत्यको पहेलीलाई समाप्त गरेपछि दैत्य आफै भस्म हुन्छ । थिब्सवासीहरुले इडिपसलाई महान् वीर सम्झेर उसैलाई राजा बनाउँछन् । इडिपसले जोकास्टालाई बिहे गर्छ र उसबाट चार जना छोराछोरी हुन्छन् ।
इडिपसले केही वर्ष खुबै कार्यकुशलताले बागडोर सम्हाल्छ । तर एक्कासि शहरमा संकट आउँछ । एउटा भयानक महामारी चल्न थाल्छ मानिसहरु भयग्रस्त हुन्छन् ।

पछि सबै रहस्यको उद्घाटन हुन्छ । इडिपस जोकास्टाकै छोरा हुन्छ यो भयानक रहस्यको पर्दा अगाडि आएपछि जोकास्टाले सहन सक्दैने र रुँदै चिच्याउँदै दरबारतिर जान्छिन् । इडिपस पनि आफ्नो कुकृत्य देखेर चित्कार गर्न थाल्छ ।

“जम्मै भविष्यवाणीहरु
अब ए प्रकाश अन्तिम समयका निम्ति म हेर्न सकुँ तिमीलाई
म इडिपस
इडिपस जन्मैदेखि श्रापित विवाहमा श्रापित
आफ्नै हातले बहाएको रगतमा समेत श्रापित ।”

त्यतिबेला एउटा नोकर आएर राजदरबारमा घटेको विभत्स घटना सुनाउँछ । उ भन्छ जोकास्टा आलापविलाप गर्दै कराउन थालिन् र कोठाभित्र पसेर ढोका बन्द गरिन् । केही बेरमा इडिपसले हातमा तरबार लिइ ढोकातिर गयो र ढोका भत्काएर हेर्दा जोकास्टा झुण्डिएको देख्छ । उसले जोकास्टाको शरीर भुइँमा झार्यो र उसको ब्रुचपिन तानेर त्यसैले आफ्नो दुबै आँखा फोर्छ । अनुहारमा रगतधारा बगाउँदै आफ्नो जघन्य अपराध नहेर्ने प्रण लिन्छ ।
आफ्नो पापकर्ममा उ चिच्याउन थाल्छ ।

“ भगवानका लागि लुकाउ मलाइ
थिब्सदेखि टाढा कुनै ठाउँमा अथवा मार
अथवा फ्याँकिदेउ समुद्रमा
सदैवका निम्ति मानिसहरुका दृष्टिदेखि टाढा ।”

“ ए थिब्सका मानिसहरु हो इडिपसलाई हेर
यिनै ती राजा हुन् जसले समाधान गरे
त्यो प्रख्यात पहेलिका अनि
शक्तिशाली भएर उठे मानिसहरुबीच
सबैले ईष्यालु नजरले हेरे यिनलाई
तैपनि अन्तमा आफ्नै घमन्डले समाप्त गरिदियो यिनलाई ।”

उनले नाटकको क्षेत्रमा धेरै सुधार ल्याए, पात्रहरुको संख्या बढाए । नाटकको क्षेत्रमा निकै चर्चा पाएका साफोक्लिजको मृत्यु ९१ वर्षमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्