Logo

फल इन लभ



–कविता श्रेष्ठ

माया, प्रेम, प्यार, मोहब्बत अनि लभ । यी शब्द सुन्नमा जति सुन्दर लाग्छ, वास्तबमा त्यस्को मतलब बुझ्न त्यति नै जटिल हुन्छ । कति पागलप्रेमीहरुले मायालाई केही शब्दको दायरामा कैद गर्न भरपुर कोशिस गरेका छन् । तर सधैँ नै असफल भएका छन् । किन कि माया कुनै शब्दको बन्धन होईन् । कहिले काँही, कोही केही पलको भेटलाई माया सम्झिन्छन् भने कोही दुई शब्द हाँसेर बोलेको पललाई माया सम्झिन्छ । कहिले काँही त यस्तो पनि हुन्छ कि आफ्नो पागलपनलाई नै मायाको जुनुन मानिन्छ ।

आफूलाई लाग्छ कि म उसलाई कत्ति धेरै माया गर्छु, आफुलाई भन्दा पनि बढी सायद । अनि सम्बन्धको यस दलदलमा धंसिदै जान्छौँ । न त निस्किन सक्छौ न त त्यहीं रहेर खुशी रहन । सम्बन्ध चङ्गाको धागो जस्तै हुन्छ । जति बलियो गरेर समाउन सकियो मायाको चङ्गा त्यति नै माथि उड्छ तर कमजोर डोरीले केवल उल्झनलाई निम्तो दिन्छ । दिलको मामिलामा हामी मानव जाति निक्कै नि मासुम हुन्छौँ । कुन बेला कस्लाई मन अनि समय अनि दिन्छाैँ आफैलाई थाहा हुँदैन । तर जब सम्बन्धको जिम्मेवारीमा फस्छौँ अनि महशुस हुन थाल्छ, गल्तीको आभास हुन्छ । सोचबिचारै नगरी चालिएको कदमको ।

माया के हो ? कसैलाई देख्यो ? एउटा अदृश्य शक्तिले ऊप्रति अरु व्यक्तिभन्दा फरक आभास दिलाउँछ । हामी सोच्छाैँ त्यो माया हो । त्यो अदृश्य शक्ति हामी भित्रको मन हो । यहीं मनले चाहेको हो उसलाई । सायद यहीं माया हो कि ? बिस्तारै ऊ राम्रो मात्र होईन प्यारो पनि लाग्न थाल्छ । ऊसँग कुरा गर्दा, ऊसँग समय बिताउँदा मन आनन्दित हुन्छ । बिस्तारै हामी उसलाई छुन चाहन्छौँ ।

माया के हो ? कसैलाई देख्यो ? एउटा अदृश्य शक्तिले ऊप्रति अरु व्यक्तिभन्दा फरक आभास दिलाउँछ । हामी सोच्छाैँ त्यो माया हो । त्यो अदृश्य शक्ति हामी भित्रको मन हो । यहीं मनले चाहेको हो उसलाई । सायद यहीं माया हो कि ? बिस्तारै ऊ राम्रो मात्र होईन प्यारो पनि लाग्न थाल्छ । ऊसँग कुरा गर्दा, ऊसँग समय बिताउँदा मन आनन्दित हुन्छ । बिस्तारै हामी उसलाई छुन चाहन्छौँ । अझ बढी अनुभव गर्न चाहन्छौँ । सानैदेखि सँगै सुत्ने उठ्ने साथी बिर्सिएर कुराहरुमा गोप्यता आउन थाल्दछ । रहस्यहरु बन्न थाल्दछन् । जब हामी मायामा सबथोक प्राप्त गर्छौँ अनि सम्बन्धलाई हल्का रुपमा लिन्छौँ । अनि जुन चङ्गाको डोरी कसिलो समातेका हुन्छाैँ, त्यसले हात काटेको अनुभव गर्छौँ । बिस्तारै हल्का हल्का गर्दै हातबाट डोरी छुट्दै जानथाल्छ । जब त्यो चंगा अरु कसैको हातमा पर्छ अनि थाहा हुन्छ गुमाउनुको पीडा ।

मानिस नाटक देखाउन सिपालु छ । अझ मायाको नाममा चलाएको नाटक त मन नै पगालिदिन्छ । वन साईड लभ….। लव सक्सेस भयो । अतिरिक्त चाहना ….त्यसमा पनि बेला बेलामा अनेकन नाटक । कहिले घन्टाैँ फोनमा कुरा ….आकाशका तारा सम्म झार्ने कुरा । सानो सानो कुरालाई ठुलो बनाएर झगडा अनि पीडा, आँसु वेदना, कसैको त बिछोड । अनि कसैको, पुन मिलन । यहीं चक्र हो । वास्तवमा हामी जति पनि सोच्छौँ मायाको बारेमा त्यति नै पाउदैनाैँ । सांसारिक मोहमा डुबी सकेको हाम्रो आँखाले राम्रो देखिने चिजमात्र राम्रो हो भन्छाैँ ।

सानै थिएँ म । आफ्नो सानो दिमागमा परीको नगरी बनाएर राखेको थिएँ । सानै देखि सोच्थेँ । सान्टाक्लजले पक्कै पनि उपहारहरु देलान । क्रिसमस डे आउथ्यो र जान्थ्यो पनि । हामी हिन्दु धर्म मान्ने क्रिसमस डे हाम्रो परिवारको लागि कुनै पर्व थिएन । मेरो भने त्यस दिन आकाशमा हेर्दे बित्थ्यो । कुन क्षितिजबाट सान्टाक्लज आउला ? मनको कुरा मुखमा भन्दा बढी पानामा पोखिदिन्थे । साथीहरु भन्दा बढी एकान्तमा रमाउथेँ । कोलाहलभन्दा वन जंगलमा एक्लै उफ्रिन मज्जा आउथ्यो । तर जीवनले बाल्यकाल गुमाईसक्दा पनि मेरो सान्टाक्लज मेरो सामु कहिल्यै आएन । त्यहीं पनि मनै न हो एकचोटि सोचें पछि त्यो हरपल पुरा हुने आशा राखिन्छ ।

जवानीमा पाईला टेकेँ । अहिले पनि सान्टाक्लजलाई हेर्ने गर्छु । तपाई सोच्दै हुनुहुन्छ होला सान्टाक्लज हुँदैनन् ।  तेरो उपहार कहिल्यै आउँदैन । हामी सबैले सुनेका छाैँ कि भगवानले सबैलाई एकै चोटि ख्याल राख्न नसकेर आमा बनाएका हुन् रे । अनि म चार फुटको सेतो कपाल सेतो दाह्रीमा नै सान्टाक्लज आउँछ भनेर साेच्ने कुरा पनि भएन । सान्टाक्लजको काम अरुले पनि गर्नसक्छ । हो क्रिसमसडेकै दिन एउटा साथी भेटियो । त्यो हाम्रो पहिलो भेट थियो । कुनै योजना थिएन । उसले मेरो लागि उपहारहरु ल्याएको थियो । अनेक थरी ठुल्ठुला चक्लेट पनि । सामान्य दिन जस्तै थियाे मेराे लागि । तपाई अनुभव गर्न सक्नुहुन्छ । त्यो बेला म कत्ति धेरै खुशी थिएँ । गिफ्ट त सानै थियो तर त्यो दिन ठुलो थियो मेरो लागि । पुरा भएको थियो एउटा कल्पना । मलाइ उपहार दिने साथी सान्टाक्लजकाे रूपमा थियाे ।

समय बित्दै गयो । खुशी खुशी जीवन चलिरहेको थियो । हाम्रो मित्रताले नाम खोज्न थालेको थियो । सायद यहीं माया होला । यस्तै त हुन्छ नि हरेक केटा र केटीबीचको गहिरो मित्रतामा … । (गहिरो गहिरो सागर जस्तै, अटल पहाडजस्तै हाम्रो यस्तै हुन्छ रे ? हुन्छ नि ।) माफ गर्नुहोला । टपिक भन्दा बाहिर गएँ । उसलाई मात्र होईन मन त मलाई पनि ऊ मन पर्दै थियो । ऊसँग बोलिरहुँ जस्तो । उसलाई हेरिरहुँ जस्तो । हामी बीच भएका म्यासेजहरु, च्याटिङ्गहरु घर गए पछि पनि दोहोर्याएर पढिरहुँ जस्तो । अनेक भयो । आधा रातसम्म फोनमा बात मारिन्थ्यो न त निन्द्राको पिर न त घरको डर । एकअर्कोको तारिफ, वर्णन, कहिले फोनमा नै दोहोरी खेलिन्थ्यो । घर परिवार अनि साथीहरुसँग लुकेर दुई जना फिलिम हेर्न टाढाको हलसम्म पुग्थ्यौँ । सँगै बदमासी गरेका छौँ । संसार बिर्सिएका छौँ । अनि जब थोरै केही समस्या आउँथ्यो माया झन गाढा भएर आएको अनुभव हुन्थ्यो । यस्तो लाग्थ्यो कि मुटुमा ठुलो ढुङ्गा छ । उक्त ढुङ्गा बोकेर हिँडेजस्तो हुन्थ्यो ।

ऊ सधैँ भन्ने गथ्यो ,“म तिमीलाई संसारको सारा खुशी दिनेछु । कहिल्यै एक्लै छाड्ने छैन ।” हाम्रो माया एउटा सानो कोपिला थियो फूल बन्यो । मासुम मुस्कान थियो हाँसो बन्यो । केही पलपलको भेटघाट हाम्रो प्रेम बन्यो । अनि उसको हरपलको साथ त बहार बन्यो । माया नै मायाले ओतपोत भएका हामी दुईको संसार थियो तर….. ! अरु मानिसको जीवनमा तरले कति हस्तक्षेप गरेको छ त्यो त थाहा छैन तर मेरो जीवनको हरेक मोडमा तरले बारम्बार अल्झाइरह्यो । हाम्रो सम्बन्धको बारेमा परिवारमा थाहा भयो । बादलमा उडिरहेको हाम्रो पहिलो मायाको महशुसमा एक्कासि कालो बादल मडारियाे । म प्रति ऊ कति पागल थियो त्यो उसको हरेक शब्द–शब्दले थाहा पाउन सकिन्थ्यो । अनेकाैँ मोडहरु पार गर्दै हामीले लाखौँ सपनाहरु बुन्न भ्याई सकेका थियौँ । हरेक प्रेमजोडीले जस्तै प्रेमका गीत गाउँन थालेका थियौँ । हाम्रो प्रेमको बीचमा आएको तगारोलाई पन्छाउन सहज थिएन । त्यहीं पनि सुरुवातको अन्त्य त हुन्छ नै ।

अन्त्यमा घरपरिवारको दवाबमा मायाका घात गर्न नै सहज लाग्यो मलाई । मैले नचाहेरै घातको पहल मबाट भयो । मैले कमजोर डोरीको माध्यमबाट कति पो आफ्नो प्रेमलाई म बचाउन सक्थेँ र ? उसको छट्पटाहटले मेरो प्रेमिल आत्मालाई गतिलो प्रहार गर्थ्याे । मुठी बाँधेर त्यो सब सहन बाध्य थिएँ म । समय एकनास मेरो लागि पनि रहेन …। आखिर समय कसको लागि पो रोकिन्छ र ? अरुसँगै विवाह भयो मेरो । एक मनले सोचेँ , सक्यो जीवन तर विवाह प्रेमको अन्त्य होइन मैले बुझेकी थिएँ । मलाई मेरो प्रेमले दिनरात सताइरह्यो, मैले पनि त्यहीं प्रेम चाहेँ । केवल उसैलाई चाहेँ । ऊ अझै पनि मलाई अपनाउन तयार थियो । अझै पनि हाम्रो संसार बुन्दै थियो ऊ । मेरो प्रतिक्षामा थियो ऊ तर म अरु नै सम्बन्धको बन्धनमा कैद भैसकेकी थिएँ हराइसक्यो मेरो जीवनमा मायाको अस्तित्व । मेटिसक्यो अतितका पलहरु । यसबीच पनि धेरै राम्रा नराम्रा समयहरु गुर्जिए । मेरो कारणले उसले अनेकौँ कष्ट भोग्नुपर्याे यो बिना प्राप्तिको ।

उसले मलाइ भन्थ्यो, “तिमीले मलाई कथाको पात्र मात्र बनायौ । मेरो भावनासँग खेल्यौ । आखिरमा जित कस्को भयो ? म हारेको छैन म उहीं छु । तिमी जितेर पनि खुशी किन छैनौँ ?” म चुपचाप रहेँ । झुटो त थिएन त्यो । केही लामो समय बित्यो । मैले कुनै पल उसलाई बिर्सिन सकिंन । म फेरि उसको जीवनमा जान चाहन्थेँ मित्र बनेर तर उसले मलाई अपनाउन सकेन । मैले सारा पलहरु याद दिलाउन खोजेँ । फेरी बहकियो ऊ पनि तर धेरै छोटो समयको लागि । ऊ आफुलाई बाध्न निक्कै कोशिस गर्दै थियो । मेरो मायाले उसलाई पनि सजिलो बनाएको थिएन । मैले उसलाई सहयोग गर्नु पर्ने थियो तर म उसलाई मबाटै टाढा जानलाई कसरी सहयोग गरौँ ? तर ऊ आफ्नै संसारमा सम्झौता गरिसकेको रहेछ । भनिन्छ नि अपनाउनको लागि हजार खुबी कम पर्छ तर छाड्नको लागि एक कमी नै काफी हुन्छ । अब पहिलेको जस्तो योजना बनाएर भेट्ने अवसर थिएन हाम्रो । भेट गर्न पनि त सक्दैनथ्यौँ नि । म विवाहको बन्धनमा बाँधिसकेकी थिएँ । कामना गर्थेँ संयोग परोस, भेट होस् । ऊसँग फेरि बोल्न पाऊँ ।

म फेरी हाँस्न चाहन्थेँ । उसको मानसिकता मप्रति पुरै परिवर्तन भइसकेका थियो । नहोस् पनि कसरी ? मेरो कारणले अनेकौँ चोटहरु जो सहेको थियो । उसले याद गर्दैन । म भुल्न सक्दिन । ऊ हंसाउन सक्दैन म रुवाउँन सक्दिन । माया कत्ति थियो हामीमा ऊ भन्न सक्दैन म जनाउन सक्दिंन । कति मिठा पलहरु बिताएका थियाैँ साथमा । कति बाधा अड्चनहरुको सामना गरेका थियौँ, रिसाएका थियौँ, बिछोड भएको थियो, मिलन भएको थियो । अनि यहीं तानतुनमा उसको मन कति बेला चुँडिएछ पत्तै भएन । छुटिसकेछ मेरो हातबाट डोरी …. । असफल भएको थिएँ म मायामा । यति प्यारो र यति गहिरो मित्रले घृणा गर्ने बनाई सकेको थिएँ मैले । गल्ती त मेरो नै थियो । अब त न माथि आकाश थियो, न मुनि जमिन । जसको आवश्यकता थियाे, उसैकाे कमी थियो । मेरो जीवनमा खुशी र हाँसो उसको एक मुस्कानले आउँछ । तर ऊ बेखबर बनेर बसेको छ, अपरिचित बनेर बसेको छ जसरी म आफैसँग अपरिचित बनेर बसेकी छु ।

कहिले काहीँ इतिहासका पाना पल्टाएर हेर्ने गर्छु । ती जोडीहरुलाई कोही पनि सँगै जीवन बिताउन पाएनन् । सबै मृत्युपछि नै अमर भए । मायामा बिवाहले छेकेको देखिंन मैले । बाजिराओ र मस्तानीको प्रेम पनि विवाहपछि नै भएको थियो । मस्तानी बाजिराओको दोस्रो श्रीमती थिईन् । साँच्चै हो रहेछ प्रेमलाई कसैले छेक्न सक्दैन । यसलाई शब्दमा कैद गरेर राख्न पनि सकिंदैन । जब प्रेमलाई घृणा बनाएर बाँच्नु पर्ने अवस्था आउँछ तब जीवन जीउन निकै कठिन हुन्छ । त्यो परिस्थितिको अगाडि जीवन पनि तुच्छ लाग्छ । प्रेम बिनाको जीवन । जराबिनाको डाली जस्तौ । अब बुझेँ मैले जिन्दगी बद्लिन कहिल्यै पनि समय लाग्दैन तर कहिले काँही समय बद्लिन पुरै जिन्दगी लाग्छ ।

प्रतिक्रिया दिनुहोस्